Comments Add Comment

नेपालको संसदमा झडप र झापड काण्ड (भिडियोसहित)

मात्रिका पौडेल 

२३ पुस, काठमाडौं । संविधानमा सहमति खोज्न बैठकहरु चलिरहेका बेला शीर्ष नेतृत्व तहबाटै संविधानसभामा मुठभेड र रगतको खोलो बगाउनेसम्मका अभद्र अभिव्यक्ति आउन थालेका छन् । यस्ता अभिव्यक्तिका कारण कतिपय सभासदले आत्मसुरक्षाको तालिम लिनुपर्‍यो भन्दै व्यंग्यसमेत गर्न थालेका छन् ।

surendra-pandy
व्यवस्थापिका संसदमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बोकेको बजेट ब्रिफकेस खोस्दै एमाओवादीका सभासद्

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको बैठकदेखि एमाओवादी संसदीय दलको बैठकसम्म आउँदा अध्यक्ष प्रचण्डले संविधानसभाभित्रै मुठभेड हुन सक्ने भएकाले प्रतिरोधको तयारी गर्न आफ्ना सभासदलाई निर्देशन दिएको चर्चा छ ।

नेपालको संसदीय इतिहास हेर्दा रोष्टम घेराऊ गर्ने, माइक तोडफोड गर्ने र संसदभित्रै कुटाकुट गर्ने र सांसदलाई जुत्ता चप्पल प्रहार गर्ने अलोकतान्त्रिक संस्कार एमालेका सांसदहरुमा देखिन्थ्यो ।

पछिल्लो समयमा एमाले सुध्रिएको छ । तर, एमालेको ठाउँमा एमाओवादी र मधेसवादी दलका नेताहरु फौजदारी शैलीमा उत्रने गरेको संसदीय रेकर्डमा हेर्न पाइन्छ ।

अर्कोतर्फ कांग्रेस एमालेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संविधानसभाभित्र प्रक्रिया सुरु गर्न र त्यसको विरोध भएमा सामना गर्ने तयारीमा रहन सभाध्यक्ष नेम्वाङलाई दबाव दिइरहेका छन् ।

जबर्जस्ती प्रक्रियामा गए आफूहरु रगत बगाउन तयार रहेको एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्तिलाई चुनौती दिँदै एमाले नेता तथा सभासद शेरधन राईले मुठभेड गरेर भने पनि संविधान ल्याउने जवाफ दिएपछि संविधानसभाभित्र भिडन्त हुने हो कि भन्ने आशंकाले बल पाएको छ ।

वि.सं.०४६ सालको परिवर्तनपछि स्थापित व्यवस्थापिका संसदमा झडपका केही घटना भए पनि संविधानसभाभित्र भने अहिलेसम्म पक्ष-विपक्ष भएर ठूलो झडप वा मुठभेड भएको छैन ।

एमाले सांसदहरु विस्तारै संसदीय अभ्यास र आचरणमा आउन थालेपछि उनीहरुको ठाउँ एमाओवादीले लिएको छ

भारतको संविधानसभामा झडप भएको इतिहास पढेकाहरु नेपालमा त्यो अवस्था दोहोरिने चिन्ता गर्न बाध्य भएका छन् । संसदभित्र झडप, कुटाकुट र मुठभेड हुनेमा टर्की, युक्रेन र रसिया विश्वमै बदनाम छन् । नेपालमा दलहरुबीच जति मतभेद भए पनि संसदभित्रै झडप भने कमै भएका छन् ।

एमाले सांसदको आक्रमण रामचन्द्रमाथि

संसद सचिवालयको रेकर्डअनुसार नेपालको संसदमा सबैभन्दा पहिलो अप्रिय घटना ०४९ सालमा भएको थियो । तत्कालीन राष्ट्रिय सभामा एमाले सांसद गोल्चे सार्कीले तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेललाई झापड हानेको घटनाले निकै चर्चा पायो ।

आफूले बोल्दा गिज्याएको र होच्याएको भन्दै सार्कीले कांग्रेस नेता समेत रहेका तत्कालीन मन्त्री पौडेललाई रोष्टमबाट ओर्लिएर सरासर उनको छेउमा गई गालामा झापट हानेको त्योबेलाका प्रत्यक्षदर्शी सचिवालयका कर्मचारी बताउँछन् ।

एमाले सांसदबाटै जुत्ता प्रहार

त्यसबेलाको संसदमा बहस, विवाद, रोष्टम घेराउ लगायतका घटना भए पनि झडपकै घटना भने ०५६ सालमा भएको थियो । स्थानीय स्वायत्त शासन ऐन पारित गर्ने बेला कांग्रेस र एमालेबीच विवाद थियो ।

दोस्रो घटनामा पनि रामचन्द्र पौडेल नै एमालेको निशाना बने । तत्कालीन सभामुख पौडेलले कांग्रेस सरकारको दवावमा रोष्टम घेराउका बीच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदहरु झडपमा उत्रिएका थिए ।

सभामुखलाई आक्रमण गर्न अरिंगालको गोलो जसरी रोष्टमतर्फ लागेका एमाले सांसदलाई कांग्रेस सांसददहरुले रोक्न खोज्दा दुई पक्षबीच हानाहान भयो र केही कांग्रेस सांसद घाइते पनि भए ।

एमालेकी एक महिला सभासदले प्रहार गरेको लेडिज जुत्ता सभामुख रामचन्द्र पौडेलको आसनमा पुगेको थियो । संसदमा भएको त्यो नै ठूलो झडप थियो ।

पूर्णबहादुरमाथि कमलाको चप्पल

kamala-sharmaपहिलो संविधानसभाको पहिलो बैठकमा अप्रिय घटना भयो । सुर्खेत १ बाट निर्वाचित एमाले सभासद कमला शर्माले सुर्खेतकै कांग्रेस नेता तथा सभासद पूर्णवहादुर खड्कालाई चप्पलले गालामा हानिन् ।

उनका पति ऋषिराम शर्माको हत्यामा खड्काको हात रहेको भन्दै उने चप्पले हानेर सुर्खेती जनताको माग पूरा गरेको प्रतिक्रिया दिइन् । श्रीमानको हत्यापछि एमालेले उनलाई उम्मेदवार बनाएर जिताएको थियो ।

एमालेको ठाउँ एमाओवादीले लियो

एमाले सांसदहरु विस्तारै संसदीय अभ्यास र आचरणमा आउन थालेपछि उनीहरुको ठाउँ एमाओवादीले लिएको छ । अघिल्लो संविधानसभा रहेकै बेला व्यवस्थापिका संसदमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि एमाओवादीबाट हातपात भयो ।

माधवकुमार नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न रोष्टमतर्फ जान लाग्दा एमाओवादी सभासदहरुले उनको बजेट वक्तव्यको ब्रिफकेश खोसे हातपात गरेका थिए ।

(हेर्नुहोस् भिडियो)

कुर्सी फोड्ने र लुगा च्यात्ने

अघिल्लो संसदमै फोरम लोकतान्त्रिकका सभासद सञ्जयकुमार साहले अरुलाई हातपात गरेनन् । तर, दुईवटा कुर्सी तोडफोड गरेपछि सभामुख सुवास नेम्वाङले उनलाई निलम्बन गरेको संसद सचिवालयका सहप्रवक्ता शुदर्शन कुइँकेल सम्झन्छन् । साह अहिले जनकपुर बमकाण्डको अभियुक्तका रुपमा पक्राउ परेर निलम्बित छन् ।

अघिल्लो संविधानसभामै दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले आफ्नो शरीरका लुगा च्यातेर भिडन्त गर्न खोजेका थिए । तर, उनले त्यो हर्कत संविधानसभाभित्र नभएर संवैधानिक समितिको बैठक हलमा गरेका थिए ।

एमालेले लामो समय संसद अवरुद्ध गर्ने क्रममा एकजना सांसदले रिसले माइक तानेर चुँडाएको भए पनि उनीमाथि कारवाही नगरिएको पूर्वसभामुख तारानाथ रानाभाटले अनलाइनखबरलाई बताए ।

एमाले नेता सुरेन्द्र पाण्डेको विचारमा त्यसबेला एमालेले गरेका भौतिक आक्रमणका हरकतहरु संसदीय मूल्य र मान्यता विपरीत कार्यहरु हुन् । बहुमतको सरकार बनेको वर्ष दिन नपुग्दै सडकबाटै सरकार ढाल्न एमालेले गरेको गतिविधि संसदीय मूल्य विपरीत रहेको पाण्डेले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment