Comments Add Comment

ओलीको लोकप्रियता देखेर को-को आत्तिए ?  

chiranjivi-poudelचिरञ्जीवी पौडेल

आजकल केपी ओली समाचारमा छैनन्, केपी ओलीमा समाचार छन् । संविधान निर्माणमाथि भइरहेका वादविवाद, आरोप-प्रत्यारोप, गालीगलौज सबैको केन्द्रमा यिनकै वर्चश्व छ । संविधान निर्माण मूलतः संघीयताको मुद्दामा अल्झिएको छ, र संघीयताको मुद्दा मानौं, केपी ओलीको दौराको फेरमा अल्झेको छ ।

स्वास्थ्य र शारीरिक अवस्था प्रतिकूल रहेता पनि मानसिकरुपमा ओली स्पष्ट, दृढ र कठोर देखिनुले विरोधीहरुको मनोबल गिरेको देखिन्छ । उनी अध्यक्ष हुनुअघि एमाले एउटा ढुलमुले पार्टीका रुपमा चिनिन्थ्यो । कहिले कांग्रेससित नजिक देखिन्थ्यो, कहिले माओवादीसित । आलोचकहरुले एमालेलाई तेस्रो लिंगीको उपमा नै दिएका थिए । तर, ओलीको नेतृत्वमा एमालेले केही महिनामै रुप बदलेको छ ।

राजनीतिको केन्द्रमा ओली छन् भने ओलीको पछाडी सिंगो एमाले छ । पार्टीभित्र पहिले देखिने गरेका गुट-उपगुटलाई चमत्कारकै शैलीमा निमिट्यान्न पारेर ओलीले पार्टी कसरी चलाउनुपर्छ भनेर देखाइसकेका छन् ।

कांग्रेसलाई केन्द्रबाट हुत्याएर ओलीले राष्ट्रिय राजनीतिको नेतृत्व लिएका छन् भने एमालेले निर्वाह गरिरहेको पेण्डुलमको भूमिका कांग्रेसको पोल्टामा परेको छ ।

विगतका प्रतिस्पर्धी नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम अहिले ओलीकै दायाँबायाँ देखिन्छन् । सबैजना ओलीकै भाषा बोलिरहेका छन् । पार्टीभित्रको यो पकडले उनलाई पार्टी बाहिर राष्ट्रिय राजनीतिमा कठोर हस्तक्षेप गर्न पक्कै आत्मविश्वास मिलेको छ ।

यसअघि राजनीतिको केन्द्रमा कांग्रेस थियो । उसको टक्कर एमाओवादीसित थियो । एमाले यी दुईबीच पेण्डुलमजस्तो कतै हल्लिरहेको थियो । तर, कांग्रेसलाई केन्द्रबाट हुत्याएर ओलीले राष्ट्रिय राजनीतिको नेतृत्व लिएका छन् भने एमालेले निर्वाह गरिरहेको पेण्डुलमको भूमिका कांग्रेसको पोल्टामा परेको छ ।

कांग्रेस यतिबेला न ओलीलाई खुलेर समर्थन गर्न सक्छ, न खुलेर विरोध । धेरै कांग्रेसजनहरु यही त्रास पालिरहेका छन् कि ओलीको उदयले उनीहरुको पार्टी धुलिसात हुने त होइन ? जुन एजेण्डाहरुका आधारमा कांग्रेसलाई जनताले भोट दिएर ठूलो पार्टी बनाए, ती एजेण्डाहरु खोसेर ओलीले एमालेको स्वामित्वमा लिएपछि कांग्रेसजनमा अस्तित्व रक्षाको छटपटी देखिनु स्वभाविकै हो ।

यता, कांग्रेस सभापति तथा देशका प्रधानमन्त्री सुशील कोइराला ओलीका सहयोगीजस्ता मात्रै देखिन थालेका छन् । ओलीको आक्रामक कार्यशैली कोइरालाको झल्लरी व्यक्तित्वमाथि पूरै हावी भएको छ ।

राष्ट्रिय राजनीतिमा बलशाली हुँदै गएका ओलीमाथि माओवादी र मधेसवादी खेमाबाट लगातार प्रहारहरु भइरहेका छन् । तर, उनीहरुले निकै कनेर गरेको प्रहार ओलीको एउटै बोलीले निस्प्रभावी हुन पुग्छ । त्यसैले हिजोसम्म उनीहरुले तुक्कावाज/फन्टुस नेताका रुपमा अवमूल्यन गर्दै आएका नेताबाट आज उनीहरु नै हदैसम्म आतंकित बनेको देखिन्छ ।

विखण्डनकारी र सम्प्रदायिक सोचका बुद्धिजिवीहरु ओलीको नाम सुन्नासाथ दुई हात माथि उफ्रिनुले ओली सही छन् भन्ने प्रमाणित हुन्छ । त्यही भएर पछिल्ला दिनहरुमा जनताको ठूलो तप्कामा ओलीको लोकप्रियको पारो ह्वात्तै माथि चढेको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्ममा ओलीका समर्थकहरुको बाहुल्यता देखिन्छ ।

ओलीले जनसमर्थन प्राप्त गर्नुको मुख्य कारण हो, संघीयताको सवालमा उनले लिएका राष्ट्रवादी अडानहरु । तराई र पहाडलाई पूर्णरुपमा अलग्याउने मधेसवादी दलहरुको दुराशयपूर्ण योजनामा वाधक बनेका छन् ओली । त्यही भएर मधेसवादी नेताहरुले ओलीलाई भिलेनका रुपमा चित्रित गर्नु स्वभाविक नै हो ।

kp oli

प्रदेश बनाउँदा पहाड र मधेसलाई अलग्याउनु भनेको देश बिखण्डनको तरबारलाई घाँटीमा झुण्ड्याएर हिँड्नु हो

समथल भूभाग सबै मधेसमा राख्नुपर्छ भन्दै कुर्लिने सद्भावना पार्टीका अध्यक्ष नेता राजेन्द्र महतोलाई चार दलको वैठकमा कटु जवाफ दिएपछि ओलीलाई विवादमा मुछ्न खोजियो । मधेसी मोर्चाले अडान राखे, ओलीले माफ नमागुञ्जेल उनीसित बैठकमै बस्दैनौं । उनीहरुको त्यो अडान दुई दिन पनि टिक्न सकेन । मधेसी मोर्चाका नेता विजय गच्छदार भोलिपल्टैको बैठकमा ओलीसित टाँसिएरै बसेका थिए ।

अहिले मधेसी मोर्चा आफैं ओलीसित मिलापत्रका लागि मध्यस्थ गरिदिने पात्र खोज्दै हिँडेको छ । दलहरुको बैठकमा सबैले आ-आफ्नो एजेण्डा र अडानअनुरुप तर्क गर्ने हुन् । आफ्नै शैलीमा बोल्ने हुन् । ओलीले त्यही गरेका थिए । तर्कले जित्न नसकेपछि बैठकै छोडेर भागाभाग गर्नु, अनि हाम्रो अपमान भो भन्दै उफ्रिने प्रवृत्ति हास्यास्पद हो ।

समथल भूभागजति सबै मधेसमा गाभ्ने योजना विखण्डनकारी सोचकै उपज हो भन्ने निस्कर्ष निकाल्न जति सहज छ, त्यति नै सहज छ ओलीले लिएका अडानहरुलाई सही ठहर्‍याउन । प्रदेश बनाउँदा पहाड र मधेसलाई अलग्याउनु भनेको देश बिखण्डनको तरबारलाई घाँटीमा झुण्ड्याएर हिँड्नु हो ।

एकातिर सिके राउतजस्ता पात्रहरु खुल्लमखुल्ला स्वतन्त्र मधेसको माग गर्दै हिँडिरहेका छन् भने अर्कोतिर वैधानिक राजनीति गरिरहेका मधेसी दल र नेताकै राष्ट्रिय चरित्रमा नै राष्ट्रियताको मामलामा भरपर्दा छैनन् ।

मधेसवादी नेताहरुलाई भारतपरस्तको आरोप त्यसै लागेको होइन । तिनै राजेन्द्र महतो हुन् जसले गत संविधानसभा चुनावमा मधेसवादी दलहरुको हारलाई भारतको पराजयको संज्ञा दिएका थिए । यिनै मधेसवादी नेताहरु हुन्, जसले भारतबाट सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदा नेपालभित्र आफूहरु हेपाइमा परेको र भारतले नहेरेको भन्दै गिड्गिडाएका थिए । आफूलाई मधेसी जनताको ठेकेदार ठान्ने उनीहरु मधेसमा भारतबाट हुने गरेका ज्यादतीहरुबारे कहिल्यै झुक्किएर पनि मुख खोल्दैनन् ।

भारतीय पक्षबाट हुने सीमा अतिक्रमणबाट पीडित हुने, एसएसबीको ज्यादतीबाट पीडित हुने, भारतले बनाउने बाँधले उत्पन्न गर्ने डुबानबाट पीडित हुने प्रायः मधेसी जनता नै हुन्छन् । तर, यी सबै मुद्दामा आफूलाई मधेसवादी भन्ने दल र नेताहरुले कहिल्यै एक शब्द बोलेको उदाहरण छैन । अन्ततः उनीहरुले निरन्तररुपमा सग्लो र सिंगो मधेस राज्य माग्नुका पछाडिको नियतमाथि प्रश्नहरु उठ्नु स्वभाविक हुन जान्छ ।

त्यसैले मधेस र पहाडलाई अलग्याउनु हुँदैन भन्ने ओलीको अडान उचित र स्वभाविक छ । उनले भनेजस्तै ‘गिभ एन्ड टेक’का नाममा संघीयताजस्तो संवेदनशील विषयमाथी कांग्रेस-एमालेले एक इन्च पनि सम्झौता गर्नु हुँदैन । सुन्दा जायज लागे पनि प्रधानमन्त्री सुशील कोइरालाले भन्ने गरेको ‘विन-विन वा गिभ एन्ड टेक’को कुरा सिद्धान्तहीन बकवास हो । जसलाई ओलीले साहसिकरुपमा खण्डन गरेका छन् । त्यसमाथि चुनावमा जनताले तिरस्किृत गरेका शक्तिहरुसित आफ्नो मागलाई लिएर बार्गेनिङ गर्ने कुनै नैतिक हक छैन ।

जनताले कांग्रेस-एमालेलाई जिताउनुको अर्थ उनीहरुको एजेण्डालाई समर्थन गरेको हो । एमाओवादी-मधेसवादीलाई हराउनुको अर्थ उनीहरुको एजेण्डालाई अस्वीकृत गरेको हो । यति सामान्य कुरा नबुझ्ने वा नबुझेको अभिनय गर्नेहरुलाई ओलीले दिएको जवाफ तीतो लाग्न सक्छ, तर ओखती आखिर तीतो नै हुन्छ ।

(पत्रकार पौडेलको यो व्यक्तिगत विचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment