Comments Add Comment

आन्दोलन सफलता उन्मुख भएको प्रचण्ड मोर्चाको निश्कर्ष

Prachand Morcha ko meeting

९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलन सफलता उन्मुख रहेको भन्दै आन्दोलनकारी मोर्चा फुटाउन षड्यन्त्र सुरु भएको बताएका छन् ।

शुक्रबार सिंहदबारमा बसेको ३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डले बिहीबार दलहरुबीच भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।

प्रचण्डले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारप्रति संकेत गर्दै मोर्चा फुटाउने अनेक षड्यन्त्र भइरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेका छन् ।

बिहीबार चारदलका नेताहरुबीच भएको छलफलमा गच्छदारले संघीयताबारे ६ देखि ९ प्रदेश हुने गरी एक-डेढ महिनामा टुंगो लगाउने र अन्य विषयलाई मस्यौदा समितिमा पठाउने प्रस्ताव गरेका थिए ।

तर, एमाओवादी नेतृत्वले गच्छदारको प्रस्ताव अस्वीकार गर्दै सहमति भएका र हुन बाँकी विषयलाई समेटेर राजनीतिक प्रतिवद्धता मात्र जनाउने बताएको थियो । यसलाई कांग्रेस र एमालेले अस्वीकार गरेपछि सहमति हुन सकेको थिएन, जसले गर्दा संविधानसभाको अवरोध कायमै रहेको थियो ।

स्रोतका अनुसार प्रचण्डले कांग्रेस र एमालेका नेताहरुले छलफल भएका कुनै पनि विषयलाई बाहिर ल्याएर हंगामा गर्ने गरेको बताए ।

गच्छदारको स्पष्टीकरण

प्रचण्डले आफूतर्फ संकेत गरेपछि गच्छदारले बैठकमा स्पष्टीकरण दिएका छन् । एक नेताका अनुसार आफूले प्रस्तावका रुपमा नभए यसो गर्न सकिन्छ कि भनेको विषयलाई कांग्रेस र एमालेका नेताहरुले बाहिर ल्याएर प्रस्तावका रुपमा प्रचार गरेको बताए ।

आन्दोलनकारी दलहरुको मोर्चा फुटाउन नभई जुटाउन भएको भन्दै उनले आफूलाई आशंका नगर्न प्रचण्डसहितका नेताहरुलाई आग्रह गरेका छन् ।

‘आन्दोलनप्रति प्रचण्ड र बाबुरामहरुको जति विल पावर छ, मेरो कम छैन’ गच्छदारको भनाइ उदृत गर्दै एक नेताले भने-‘फुटको आशंका नगर्नुस् ।’

आन्दोलन सफलतातिर उन्मुख भएको निश्कर्ष

आन्दोलनरत ३० दलीय मोर्चाका नेताहरुले सडक आन्दोलन सफलताउन्मुख भएको निष्कर्ष निकालेका छन् ।

संयोजक प्रचण्डले उत्पीडित जनताले आन्दोलनमा साथ दिएको बैठकमा सुनाए । तर, यत्तिकै आन्दोलनका भरमा कांग्रेस र एमालेले सहमतिमा नआउने उनको निष्कर्ष थियो ।

केपी ओलीले मानेनन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पनि सहमति गर्न नचाहेको र केही विषयमा पनि सहमति हुन सक्दैन भनेर हिँडेको प्रचण्डले बैठकमा सुनाए ।

‘कांग्रेस र एमालेका अन्य नेताहरुलाई सम्झाउँदै थिए तर, ओली मालेनन्’ प्रचण्डले बैठकमा भने ।

दलहरुबीच सहमति नभए शुक्रबारको बैठकमा अवरोध गर्ने ३० दलको निर्णय  छ ।

नेताहरुका अनुसार संविधानसभाको शुक्रबारको बैठक हेरेर थप रणनीति तय गर्न ३० दलीय मोर्चाको बैठक फेरि बस्नेछ ।

कूटनीतिक नियोगसँग छलफल गर्ने

३० दलीय मोर्चाले अन्तराष्ट्रिय समुदायसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।सरकारले बिहीबार नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर आफ्नो धारणा राखेको थियो । त्यस क्रममा सीके राउतलाई भेट गरेकोमा सरकारले आपत्ति जनाएको थियो भने नेपालको अन्तरिक मामिलामा अनावश्यक चासो नदिन भनेको थियो ।

स्रोतका अनुसार ३० दलीय मोर्चाको बैठकमा यसबारे समेत छलफल भएको थियो । सरकारले आन्दोलनकारी दलहरुलाई भेटेकोमा समेत अनुसष्टि जनाएको सूचना आएको भन्दै ३० दलले छिट्टै कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment