११ माघ, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ६–० गोल अन्तरले पराजित गरेको छ । लिओनल मेस्सी र नेयमारले दुई दुई गोल गरे । वर्थ डे ब्वाइ लुइस स्वरेजलाई भने बन्चमा राखिएको थियो ।
अर्को खेलमा रियल मड्रिडले कोर्डोबालाई २–१ ले पराजित गरेको खेलमा क्रिष्टियानो रोनाल्डोले भने रातो कार्ड पाए ।
जितपछि बार्सिलोना२० खेलबाट ४७ अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिडको ४८ अंक छ ।
इल्चेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ औं मिनेटमा जेरार्ड पीकेको गोलबाट अग्रता लिएको थियो ।
बाँकी ५ गोल भने दोस्रो हाफमा भयो । ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गरे । ६९ र ७१ औं मिनेटमा मेस्सीको पासमा नेयमारले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।
अन्तिममा नेयमारको पासमा पेड्रोले गोल गरेपछि बार्सिलोना ६–० ले विजयी भयो ।