Comments Add Comment

छुटमा मोबाइल किन्ने हो ? भृकुटीमण्डप जानुहोस्

Caan Info Tech (3)

१८ माघ, काठमाडौं । यदि तपाई मोबाइल खरिद गर्दै हुनुहुन्छ भने भृकुटीमण्डप जानुहोस् । बुधबारदेखि भइरहेको क्यान इन्फोटेकमा आफुले रोजेको मोबाइल उपहारसहित विशेष छुटमा खरिद गर्न पाउनुहुने छ ।

मेलामा कम्पनीहरुले ग्राहक आकषिर्त गर्न मोबाइल सेटमा आकर्षक उपहार र विशेष छुट दिइरहेका छन् । कतिपय कम्पनीले नयाँ मोबाइल सार्वजनिक गरि विशेष मूल्यमा बिक्री गरिरहेका छन् ।

मोबाइल कम्पनीले दिएको छुट र उपहारले ग्राहकको ध्यान राम्रैसँग तान्न सफल भएको देखिन्छ । मेला अवलोकनका लागि पुग्ने अधिकांश मोबाइल स्टलमा झुम्मिने गरेका छन् ।

शुक्रबार र शनिबार विदाको दिन भएको हुँदा मोबाइलका स्टलहरुमा खुट्टो राख्ने ठाउँसमेत थिएन । आइतबार बिहान मेलास्थल पुग्दा अन्य स्टलहरुमा सुनसान देखिएपनि मोबाइलका स्टलहरुमा ग्राहकहरु देखिन्थे ।

पछिल्लो समय नेपालमा मोबाइलका पारखीहरु हृवात्तै बढेका छन् । सवा लाख रुपैयाँसम्मका मोबाइल खरिद गरेर चलाउने ग्राहकहरु यहाँ भेटिन्छन् । मोबाइल कम्पनीहरुले पनि ग्राहकको चाहाना बमोजिम अत्याधुनिक सुविधासहितका स्मार्टफोनहरु भित्राउने होडबाजीमा छन् ।

मेलामा सामसुङ, किभी, भिडियोकोन, कार्बन, कलर्स, पानासोनिक, हुवावे लगायतका ब्रान्डहरु प्रर्दशनी तथा बिक्रीमा राखिएको छ । जसमध्ये कलर्स र हुवावेले नयाँ स्मार्टफोन मेलामा सार्वजनिक गरेर बुकिङ लिइरहेका छन भने अन्य कम्पनीहरुले पुरानै फोनहरु छुटमा बिक्री गरिरहेका छन् ।

यस्ता छन् अफरहरु

सोनी अफरः १० प्रतिशत छुट

मेलामा सोनीले हरेक मोबाइल सेटमा १० प्रतिशतसम्म छुट दिएको छ । साथै, मोबाइल हेरिकन दुई हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्ने हेडसेट उपहार दिएको छ ।

सबैभन्दा सस्तो एक्पेरिया ईवान (११ हजार) देखि महंगो एक्सपेरिया जेड थ्री (६५ हजार) सम्मका मोबाइल प्रर्दशनीमा राखेको सोनीले अवलोकनकर्ताको भिड लगाउन सफल भएको देखिन्छ ।

स्टलमा अवलोकनकर्ताको भिड लागेपनि बिक्री भने दैनिक १५/१६ वटामात्र मोबाइल बिक्री हुने गरेको स्टलकर्ताले बताए । सोनीले मेलामा नयाँ मोबाइल भने सार्वजनिक गरेको छैन ।

सामसुङ : ५ प्रतिशत ब्यालेन्स

सामसुङ मोबाइलले पनि मेलामा नयाँ मोबाइल तथा एसेसोरिजहरु सार्वजनिक गरेको छैन । पुरानै मोडलमा आकर्षक स्कीम दिएर कम्पनीले मोबाइल बिक्री गरिरहेको छ ।

मेलामा सबैभन्दा आकर्षण बनेको सामसुङ मोबाइलले हरेक मोबाइल सेटको खरिदमा २ प्रतिशत छुट दिएको छ । छुट लिन नचाहाने ग्राहकलाई मोबाइल मूल्यको ५ प्रतिशत व्यालेन्स ट्रान्सफर गरिदिने गरेको स्टलकर्ताले जानकारी दिए ।

साथै, कम्पनीले हरेक दिन ग्राहकहरुबीच लक्की ड्र गरेर १३ हजार ४ सय ९० रुपैयाँ पर्ने सामसुङ ग्यालेक्सी ‘कोर टु’ डिउस मोबाइल प्रदान गर्दै आएको छ । स्टलमा मोबाइलको बारेमा जानकारी लिने सर्वसाधारणको बाक्लो भिड देखिन्थ्यो ।

कलर्स मोबाइल : ३० प्रतिशत छुट

कलर्स मोबाइलले मेलालाई लक्षित गर्दै हरेक सेटको खरिदमा ३० प्रतिशत छुट र ४ जीबी र ८ जीबीको मेमोरीकार्ड सित्तैमा दिइरहेको छ । आकार्षक छुट दिएपछि स्टलमा सर्वसाधरणको बाक्लो भिड लाग्ने गरेको छ ।

आकर्षक छुट भएपनि बिक्री भने कलर्सको पनि उल्लेख्य छैन । दैनिक औषतमा ३० वटाजती सेटहरु बिक्री भइरहेको स्टलकर्ताले बताए । कलर्सले मेलामा एन्ड्रोइड र बार दुबै फोन बिक्रीमा राखेको छ ।

साथै, मेलामा कलर्सले विन्डोज फोनसमेत प्रर्दशनीमा राखेको छ । कम्पनीले मेलामा १६ हजार रुपैयाँमा उक्त फोनको बुकिङ लिइरहेको छ । पछि १८ हजार रुपैयाँ भन्दा बढी पर्ने स्टलकर्ताले बताए ।

यस फोनमा १.२ क्वार्डकोर प्रोसेसर, ४.७ इन्चको एचडी डिस्प्ले, ८ जीबी इन्टरनल मेमोरी पछाडि ८ मेगापिक्सेल क्यामेरा, अगाडि २ मेगापिक्सेल क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।

कलर्सले मेलमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने स्मार्टफोन र १८ सयदेखि ४ हजारसम्म पर्ने बारफोन प्रर्दशनी तथा बिक्रीमा राखेको छ ।

पानासोनिक : अफरै अफर

भर्खरैमात्र एन्ड्रोइड फोन बजारमा ल्याएको पानासोनिकले मेलामा तीनवटा मोडल प्रर्दशनीमा राखेको छ । कम्पनीले मेलामा हरेक सेटको खरिदमा ग्राहकलाई ५ प्रतिशत छुट, दुईवटा मुभी टिकट र रिचार्ज कार्ड उपलब्ध गराएको छ ।

मेलामा छुटसहित पी-६१ को मूल्य २१ हजार रुपैयाँ राखिएको छ । जुन खरिद गर्दा ग्राहकले टिकटसहित ५ सय रुपैयाँको रिचार्ज कार्ड पाउँछन् । त्यस्तै, २० हजार ६ सय पी-५१ खरिद गर्दा ४ सय रुपैयाँको रिचार्ज कार्ड र ७ हजार ५ सय रुपैयाँको टी-३१ खरिद गर्दा ३ सय रुपैयाँको रिचार्ज कार्ड पाइने छ ।

हुवावे किन्दा स्पिकर निःशुल्क

हुवावेले मेलामा जी-७ मोबाइल सार्वजनिक गरेको छ । जसको मूल्य क्यानमा दुई हजार छुट दिएर ३५ हजार रुपैयाँ तोकेको छ ।

यसमा एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिष्टम, १६ जीबी इन्टरनल मेमोरी, २ जीबी र्‍याम, पछाडि १३ मेगा पिक्सेल क्यामेरा, अगाडि ५ मेगापिक्सेल क्यामेरा, १.२ गीगाजहर्ज क्वार्डकोर प्रोसेर, ५.५ इन्चको डिस्प्ले लगायतका फिचरहरु रहेका छन् ।

हुवावेले हरेक मोबाइल खरिदमा आकर्षक उपहार दिएको छ । कम्पनीले १५ हजारभन्दा तलको मोबाइल खरिदकर्तालाई किरिङ र १५ हजारमाथिको मोबाइल खरिद गर्नेलाई ४ हजार पर्ने स्पीकर उपहार दिएको हो ।

साथै, हरेक मोबाइलको खरिदमा ५ देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । कम्पनीले मेलामा ११ हजार देखि ७० हजार रुपैयाँसम्म पर्ने मोबाइल प्रर्दशनी तथा बिक्रीमा राखेको छ ।

कार्बन : पुरानोमा ५० प्रतिशत छुट

कार्बन मोबाइले मेलामा स्टल क्लियरेन्स गर्नका लागि पुरानो मोबाइलमा ५० प्रतिशत छुट दिएको जनाएको छ । नयाँ मोबाइलमा भने पाँच प्रतिशतमात्र छुट दिएको कम्पनीले जानकारी दियो ।

मेलामा कार्बनका ५ हजार रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म पर्ने मोबाइलहरु प्रर्दशनी तथा बिक्रीमा राखिएको छ ।

भिडियोकोन : ३२ सयमा २६ सय बचत

भिडियोकोनले हरेक मोबाइलको खरिदमा १५ सय रुपैयाँ पर्ने भिडियोकोनकै हाते घडी उपलब्ध गराएको छ । साथै, कम्पनीले हरेक मोबाइलमा नेपाल टेलिकमको सिम निःशुल्क प्रदान गरेको छ ।

मेलामा ३२ सय रुपैयाँ पर्ने सीडीएमए सेटमा २६ सय बचत योजना ल्याएको छ । जसमा ३२ सय रुपैयाँ पर्ने उक्त सेट खरिद गर्दा ग्राहकले २ सय रुपैयाँको नेपाल टेलिकमको रिमकार्ड र २४ सय रुपैयाँ बराबरको टक टाइम पाउने छन् ।

यो योजनामा कम्पनीले हरेक महिना २ सयका दरले एक वर्षसम्म ब्यालेन्स उपलब्ध गराउने जनाएको छ ।

मेला सोमबारसम्म चल्ने

बुधबारदेखि सुरु भएको मेला सोमबारसम्म चल्ने अयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान)ले जनाएको छ । विगतका वर्षहरुमा जस्तो यसवर्ष सर्वसाधारणको उपस्थिती नरहेको बताइएको छ ।

मेलामा दर्शकको भिड लागेपनि बिक्री शुन्यजस्तै रहेको स्टलकर्ताहरुले गुनासो गरेका छन् । ग्राहकले आफुलाई आवश्यक सामाग्री खरिद गर्न क्यान इन्फोटेक कुरेर बस्न छाडिसकेको उनीहरुको भनाई छ ।

केही वर्ष अगाडिसम्म ग्राहकहरु छुट र उपहारका लागि सूचना प्रविधिजन्य वस्तुहरु किन्नुपरेमा क्यान इन्फोटेक कुरेर बस्ने गर्थे । कम्पनीहरुले पनि नयाँ प्रोडक्ट बिक्री सुरु गर्न मेला नै कुरेर बस्ने गरेको पाइन्थ्यो ।

अहिले विश्व बजारमा सार्वजनिक हुने बेलामा नेपालमा पनि सँगसँगै नयाँ उत्पादनको बिक्री सुभारम्भ गरिन थालेको छ । यसले पनि मेलामा सर्वसाधारणको आकर्षण विस्तारै घट्न थालेको सामसुङका स्टलकर्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment