कुमार लिङदेन
भारतको राजधानी दिल्लीमा शनिबार प्रान्तीय चुनाब हुँदैछ । नयाँ पार्टी आम आदमीबाट अरविन्द केजरीवाल र भारतीय जनता पार्टीबाट किरण बेदी मुख्यमन्त्रीका रुपमा प्रस्तुत भएका छन् । दुबैलाई भारतमा राम्रा र परिवर्तनकारी व्यक्तिका रुपमा चिनिन्छ ।
केजरीवाल आइटीमा दख्खल भएका मेकानिकल इन्जिनियर र आम आदमी पार्टीको तर्फबाट दिल्लीका पूर्वमुख्यमन्त्रीसमेत हुन् । किरण बेदी भारतका चर्चित पुलिस अफिसर हुन् । दुवै प्रत्यासी भ्रस्टाचार बिरोधी अभियन्ता अन्ना हजारेका सहयोगी हुन् ।
पहिलोपल्ट आम आदमी पार्टीका तर्फबाट केजरीवाल दिल्लीको मुख्यमन्त्री हुँदा भारत र नेपालको राजनीतिमा ठूलो भुइँचालो गएको थियो । स्वतन्त्रताको लडाइँदेखि जरा गाडेको कांग्रेस र हिन्दुस्तानको मर्म बोकेको पार्टी भनिएको भारतीय जनता पार्टी एवं विश्व कम्युनिस्ट आन्दोलनको हिस्सा मानिएको भारतीय कम्युनिस्ट पार्टीलार्इ पाखा लगाउँदै सर्बथा नयाँ आम आदमी पार्टी इन्डियन राजनीतिमा राजधानी कब्जा जमाउन सफल भएको थियो अघिल्लो चुनावमा ।
हुन पनि यो सानोतिनो घटना थिएन । त्यसबेला आम आदमीले दिल्ली कब्जा गरेपछि नेपालमा पनि नयाँ पार्टी खोल्नेबारे ठूलो बहस भयो । बाबुरामजीहरुले नयाँ शक्ति निर्माणबारेमा धेरै लेख लेख्नुभयो । कयौं दिनसम्म पत्रिकामा केजरीवालबारे लेख, विचारहरु आए ।
तर, पछि केजरीवालले संसदीय खेलअन्तर्गत अल्पमत भएर सत्ता छोड्नु परेपछि नयाँ शक्तिको बहस सेलायो ।
भारतीय आम चुनाबमा मोदीको अपार सफलतापछि आम आदमी, केजरीवाल र नेपाल मा नयाँ शक्तिको कुरा ओझेलमा पर्यो ।
खासगरी भारतमा मोदीको उदयपछि धेरै भारतीय युवाले अलि नयाँ किसिमले उनीबाट आशा गरे । तर, उनले पनि इन्डियन सामन्ती समाज र त्यहाँको ब्युरोक्रेसीलार्इ बिस्तारै परिवर्तनको दिशामा लानुको सट्टा ती सबैलार्इ आफ्नो पक्षमा पार्ने खेलमा मात्र लागे । र, मोदीबाट पनि खासै परिवर्तन आएन भन्ने अनुभूति त्यहाँका गरिब जनता र पढे लेखेका युवाहरुलाई लाग्न थाल्यो ।
त्यसैको प्रतिबिम्बका रुपमा अहिले हल्ला आइरहेको छ – ”भोलि दिल्लीमा हुने प्रान्तीय चुनाबमा केजरीवालको आम आदमी पार्टीले बहुमतसहित चुनाब जित्दैछ । पाँच भन्दा बढी संस्था र मिडियाहरुले लिएको सर्वेक्षणमा केजरीवाल नै अघि देखिएका छन् ।”
केजरीवालले जित्ने हल्लाले सबैभन्दा बढी मोदीजीलार्इ चिन्तित बनाएको छ । किनकि देश विदेशमा यत्रो वाह वाह पाउन सफल मोदीजी आफ्नै राजधानी प्रान्तमा नयाँ पार्टीको मुख्यमन्त्री भएको देख्नुपर्ने अवस्था आयो भने त्यो क्षण मोदीजीका लागि निकै गाह्रो हुनेछ ।
बीजेपीका सबै नेताहरु अहिले दिल्लीको चुनाबले निकै चिन्तित भएको देखिएका छन् । बीजेपीका अध्यक्ष अमित शाहले दिल्ली चुनाब नसकी भौतिक रुपमा पनि सुत्दिँन भनिरहेका छन् । केही दिनअघि दिल्लीको चुनाबी र्यालीमा प्रधानमन्त्री मोदीजीले अलि असन्तुलित भाषण दिएको महसुस गर्न सकिन्छ ।
दिल्लीको यो चुनाबी सरगर्मीले नेपालको, खासगरी लिम्बुवानको राजनीतिमा कस्तो असर पर्छ भन्ने हामीमा जिज्ञासा बढेको छ।
हुन त भारतीय कांग्रेसलार्इ पूरै थकाएर मोदीजीले सहज बहुमतसहित दिल्लीको लालकिल्ला कब्जा गरिसकेको अवस्था छ । खासगरी नेपालको मामिलामा ठाडो हस्तक्षेप नगरौं कि भन्ने मोदी सरकारको नीतिले नेपालमा केही असर त पुर्याउन सुरु गरिसकेको देखिन्छ ।
इन्दिरा गान्धीले गठन गरेको भारतीय जासुसी सस्था ‘रअ’ सँग मोदी रिसाएका छन् भन्ने सुनिन्छ । बिगतमा ‘रअ’ नेपालको रास्ट्रिय चुनाबदेखि गाउँको सामुदायिक वनजंगलको चुनाबसम्म पनि सक्रिय भएकै हो । तर, लालकिल्लामा सत्ता परिवर्तनसँगै नेपालमा ‘रअ’ र यसका नजिकका मान्छेहरुको हाउभाउ पनि अलि परिवर्तन भएको प्रत्यक्ष देख्न सकिन्छ ।
खासगरी सार्क सम्मेलनमा आएका बेला मोदीजीले ‘बहुमतबाट भन्दा पनि सहमतिबाट संबिधान बनाउन उत्तम हुन्छ’ भनिदिएपछि अहिलेको एमाले कांग्रेसको फर्जी बहुमत ल्याउन खिलराज भन्ने पात्र सिर्जना गरी अघि बढेका ‘रअ’ का साथीहरुलाई पनि धेरै अप्ठ्यारो लागेको हुन् सक्छ ।
मोदीजीको त्यो भनाइपछि भारतलार्इ हेर्ने दृष्टिकोणमा नेपाली जनताको सोचाइमा ठूलो सकारात्मक परिवर्तन आयो । मोदीजीको त्यो भनाइपछि नेपालको असल र भरपर्दो मित्रका रुपमा हामीले भारतलाई देख्न थाल्यौं । ‘रअ’ का कर्मचारी साथीहरुका कारणले सधैं तनाबमा रहने नेपाल-भारत सम्बन्धलार्इ एकजना भारतीय नेताले सहज गरिदिए । किनकि एक असल नेताले भारतीय जनताको आत्मा र नेपाली जनताको आत्मा बुझेको हुन्छ ।
यसरी लाल किल्लामा सत्ता परिवर्तन भइसकेको र अहिलेको भारतीय सरकारले नेपालका ठुटे नेताहरु र सिंहदरबारका घ्याम्पे भुँडी भएका कर्मचारीसँग भन्दा पनि नेपाली जनतासँग सम्बन्ध गाँस्न चाहेकोजस्तो देखिन्छ ।
मोदीजीको पटक-पटकका भाषणमा प्रष्ट सन्देश छ – उनी नेपाल देशसंग सम्बन्ध राख्न चाहन्छन्, नेपालका जनतासँग सम्बन्ध राख्न चाहन्छन्, भारतीय कर्मचारी र नेपाली कर्मचारीका भरमा मात्र भारत-नेपाल सम्बन्ध छोड्न चाहँदैनन् । मोदीजीको यो भिजन सकारात्मक लाग्छ ।
तर, राम्रो भिजन बोकेको मान्छेलार्इ दिल्लीमा अर्को राम्रो भिजन बोकेको मान्छेले पछार्न खोज्दै छ । मोदीजीको जीवन संघर्ष कथा, एकजना महिलाले भोग्नुपर्ने सबै कठिनाइका बाबजुद पनि पुलिस फोर्समा किरन बेदीजी कमाएको ख्याती केही होइनन् भन्ने स्थिति नै छैन । तर, ती राम्रा कथाहरुलाई पनि उछिन्न खोज्दैछ केजरीवालजीको अर्को कथाले ।
केजरीवालजीको यो आगमनको कथाले के प्रष्ट पार्न खोज्दैछ भने -अहिलेका नेपाल-भारतका मान्छेहरु सुधार मात्र होइन, टोटल परिवर्तनपूर्ण परिवर्तन चाहँदा रहेछन् । सामन्तवादी ब्युरोक्रेसीसँग सम्पूर्णरुपमा सम्बन्ध बिच्छेद गरेर जान चाहने वा आँट गर्ने मान्छेहरु नै जनताको खासगरी युवा पिँढीको रोजाइमा पर्दा रहेछन् ।
मोदीजीको बिजयले चेन्ज भन्दा पनि इम्प्रोभ्मेंट सुधारलार्इ मात्र सुधार गर्न सक्यो । त्यसैले दिल्लीजस्तो राजधानीमा केजरीवालको जबर्जस्त आगमन हुँदैछ ।
दिल्लीको चुनावले प्राविधिकरुपमा कुनै असर पर्दैन मोदीजीलार्इ । तर, केजरीवालले फेरि चुनाब जिते भने सारै ठूलो नैतिक दबाव पर्नेछ मोदी सरकारलार्इ ।
अब, हामी लिम्बुवानी आन्दोलनकर्मी वा पहिचानसहितको संघीयवादीहरुलाई दिल्ली चुनाबको परिणामले के असर दिन्छ त भन्ने जिज्ञासा स्वाभाविक छ ।
भारतीय सत्ता परिवर्तनको केही सकारात्मक असर हामीले महसुस गरि नै रहेका छौं । त्यसैले बिजेपीका किरण बेदीले जिते भने सार्क सम्मेलनमा मोदीले नेपाल सम्बन्धमा बोलेका कुराको अनुमोदन पनि हुनेछ ।
तर, केजरीवालले जिते भने त्यसको असर झन सकारात्मक पर्ने देखिन्छ ।
जस्तो, अहिले नेपालमा संघीय लिम्बुवान पार्टी, संघीय समाज वादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, थरुहट तरार्इ पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, मधेसी जनअधिकार जस्तो नयाँ पार्टीहरु जन्मिएका छन्, यी पार्टीहरु नेपाली भूमिमा लोकप्रिय पनि भैरहेका छन् । तर, एमाले कांग्रेसजस्ता पुराना पार्टीहरुले पुरानो त पुरानै हो भनेर जनतालाई बन्धक बनाएका छन् । दिल्लीजस्तो ठाउँमा सर्बथा नयाँ पार्टी आम आदमी ले जित्यो भने नेपालको पहिचानसहितको आन्दोलनकारीको मनमा ठूलो उत्साह जाग्ने छ । राम्रो काम गर्न सकियो भने आजको जनताले नयाँलार्इ नै रुचाउँदा रहेछन् भन्ने सन्देश जाने छ ।
तर, मोदीको सफलता र त्यो सफलतालार्इ क्रस गरेर जान आँटेका केजरीवालको अर्को सफलताको कथाबाट के प्रस्ट हुन्छ भने – हामीले जति नै क्रान्ति गरे पनि, सफलता प्राप्ति गरे पनि पुरानो कर्मचारीतन्त्र ( काम गर्ने पुरानो सोच र मेकानिज्म ) लार्इ तोड्न सकेनौं भने देशमा फेरि अर्को हिम्मतवाला मान्छेहरू जन्मने रहेछन है !
(लिङदेन संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष हुन्)
प्रतिक्रिया 4