काठमाडौं । रेखा शाहको स्वरमा रहेको ‘सिमसिमे पानीमा…बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएपछि अहिले फेरी नेपाली संगीत बजारमा रेखाकै चर्चा सुरु भएको छ ।
मौलिक नेपाली गीत भए पनि भिडियो निकै तातो पिरो बनेको बनेको छ । नितिन चन्दको निर्देशन रहेको भिडियोमा स्वयं रेखा र अमिर शेखले मोडलिङ गरेका छन् । सेतो घोडालाई यौनको बिम्बको रुपमा प्रयोग गरिएको भिडियो निर्माणमा धेरै मेहनत गरेको रेखाको भनाई छ ।
‘भिडियो बनाउनुअघि डेढ महिना त हामीले वर्कसप गरेका थियौं ।’ अनलाईनखबरसँग कुरा गर्दै रेखाले भनिन् । समयअनुसार गीत र भिडियो बन्नुपर्छ भन्ने मान्यता राख्ने रेखा गीतको मर्म नमर्ने गरि भिडियो बनाएको बताउँछिन् ।
भिडियो हेर्नेहरुमध्ये धेरैले बेजोड भनेर प्रतिक्रिया दिएपछि रेखा अहिले दंग छिन् । केहीले चित्त नबुझेको कुरा गरेको सुनेकी रेखा भन्छिन ‘सत प्रतिशत त कसैको पनि चित्त बुझाउन सकिदैन ।’
‘गाउँ घर, पाखा पखेरोमै केन्दि्रत गर्दा परम्परागत भनेर टिप्पणी गर्छन्, अलिकति आधुनिक हुन खोज्यो उत्ताउलो भन्न पनि बेर मान्दैनन् ।’ उनको टिप्पणी छ ।
बि.स. २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा यही गीत गाएर रेखा प्रथम भएकी थिईन् । २१ वर्षपछि यसको रि-रेकडिङ गरिएको थियो ।
धादिङको धुवाँकोटमा जन्मेकी रेखा आफैले यसको शब्द लेखेकी थिईन्, भने भाका र लय पनि उनकै थियो । ‘गाउँघरमा हुने जात्रा, मेलापात र रत्यौलीमा गीत सुनेको भरमा मैले गीत बनाएकी थिए ।’ रेखाले भनिन् ।
भिडियो
नेपालमा गीतसम्बन्धि कपीराइट कानुन ढिला बनेकाले उनलाई आफ्नै गीतको स्वामित्त लिन पनि गार्हो गरेको थियो । रि-रेकडिङको कारणवारे उनी भन्छिन ‘आफ्नै गीतको स्वामित्त लिन पनि पुनः गाउनु पर्यो ।’
रेशम फिरीरीपछि विश्वमा सबै भन्दा धेरै गाईने यो गीतलाई रेखा स्वयंले भने स्टेजमा त्यति गाएकी छैनन् । ०५१ सालमा एकेडेमीमा आयोजित ‘सिमसिमे साँझ’ मा गाएकी थिईन् भने, पोखरामा पनि उनको एकल शो भएको थियो । सोही वर्ष उनले युवा छिन्नलता गीती पुरस्कार समेत पाएकी थिईन् ।
अमेरिका, मलेशिया लगायत थोरै मुलुकमा स्टेजमा गाएकी रेखा स्टेजका लागि भन्दा पनि समग्र संगीत उद्योगको विकासका लागि गाएको दाबी गर्छिन् ।
रेखा यतिखेर संगीतसंगै सामाजिक काममा पनि सक्रिय छिन् । अर्काको घरमा काम गर्ने २० जना वालवालिकालाई पढाईरहेकी रेखा उनीहरुलाई कम्तिमा १२ कक्षा उत्तिर्ण गराउने अभियानमा छिन् ।