+
+

घरको चूल्हो निभेपछि समितिमै कड्किए सभासद

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १८:५५

२९ माघ, काठमाडौं । माननीय सभापति ज्यू घरमा ग्याँस छैन, पानी र बिस्कुट खाएर आएको छु । घरबाट बाहिर निस्किनासाथ मतदाताहरु सोध्छन्-माननीयज्यू हामीले ग्याँस कहिले पाउने ? यस्तो हालत छ हामी सभासदको ।

फाइल तस्वीर
फाइल तस्वीर

संसदको सुशासन तथा अनुगमन समितिको बिहीबारको बैठकमा काठमाडौ ९ बाट निर्वाचित कांग्रेस सभासद ध्यान गोविन्द रन्जितले सभापति शेरधन राई समक्ष यस्तो गुनासो गर्दा सबै सभासदले हो मा हो मिलाए ।

आखिर सबै सभासदको हालत उस्तै थियो । रन्जित भन्दा अघि बोल्ने ललितपूरकी एमाले सभासद सुशीला नेपालले भन्दै थिइन्-घरमा चूल्हो बल्न छाड्यो,घर बाहिर निस्केपछि जनताले सभासद भएर ग्याँस पनि नमिलाउने ? भन्दै प्रश्न गर्छन् ।

खाना पकाउने ग्याँसको अभाव अब सर्वसाधारणको चूल्होमा मात्र सीमित रहेन भन्ने संकेत हो यो । ‘सभासदहरुको घरमा चूल्हो बल्न छाडेपछि जनताको हालत के होला’ ? समितिको बैठकमा विरलै देखिने कांग्रेस सभासद प्रदिप गिरीले प्रश्न गरे ।

ग्याँसको हाहाकार र कालोबजारीको अनुगमन गर्न समितिले ढिला गर्नै नहुने धारणा सभासदहरुले राखे । एमाले सभासद मोहनसिंह राठौरले ग्याँसको अभाव सिर्जना हुनुमा आपूर्ति मन्त्री सुनिल थापा समेत संलग्न रहेको आरोप लगाए ।

कांग्रेस सभासद पद्मनारायण चौधरीले यति लामो समयसम्म ग्याँसको अभाव सिर्जन हुनुको पछाडि कुनै न कुनै गडबडि रहेको भन्दै तत्काल मन्त्री र सम्बद्ध अधिकारीलाई बोलाएर छलफल गर्नुपर्ने बताए ।

जनताले सभासदसँग ग्याँस माग्न थालेको र सभासद आफैं भोकभोकै हिड्नुपर्ने अवस्था आएको भन्दै सुशासन समितिको बैठकमा धेरै सभासद  कड्किए ।

सभासदहरुको गुनासोपछि समितिका सभापति शेरधन राईले ग्याँस अभाव गम्भिर चिन्ताको विषय भएकाले यसबारेमा चुप लाग्न नसकिने निष्कर्ष सुनाए ।

उनले संसदकै उपभोक्ता हित संरक्षण समितिको यसअघिको निर्देशन समेत अध्ययन गर्दै प्रभावकारी अनुगमन गर्न संयन्त्र बनाउने निर्णय सुनाए ।

समितिले शुक्रवारै मन्त्री, सचिव र आयल निगमका अधिकारीलाई बोलाएर ग्याँसको अभाव हटाउन तुरुन्त प्रक्रिया थाल्न निर्देशन दिने निर्णय गरेको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?