+
+

कन्टेन्ट क्रिएटर साइग्रेसको अडियो उपन्यासमा फिल्म ‘अधुरो प्रेम’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ११:३२

काठमाडौं । सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’मा आधारित रहेर सोही नामको फिल्म बन्ने भएको छ ।

शनिबार राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औं श्रृंखलामा पोखरेल आफैंले फिल्मको घोषणा गरे । शिशिर खातीले निर्देशन गर्ने यो फिल्मलाई यसअघि ‘रंगेली’ निर्माण गरेको प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ ।

फिल्मको घोषणा गर्दै यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोखरेलले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको एक घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’लाई अहिलेसम्म ६२ लाख पटक सुनिएको छ ।

फिल्मको घोषणाअघि पोखरेलले एक हजार दर्शकमाझ आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए । जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो ‘अडियो नोभेल’ तयार पारेको बताए । यो उपन्यासमा आधारित रहेर सुजन चापागाईंले गीत तयार पार्ने समेत उनले जनाए ।

‘यो सम्भव भएको पनि तपाईंकै कारणले हो । म केही छु भने यो तपाईंको प्रेमले हो । यो फिल्म बन्न लाग्नुको कारण पनि तपाईं नै हो,’ उनले भने । उनले यो कथा आफ्नो हृदयको सबैभन्दा निकट रहेको बताए ।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका खातीले आफू पोखरेलको आवाजको प्रशंसक रहेको बताए । साइग्रेसले अधुरो प्रेम दर्शकको सम्पत्ति रहेकाले जतनसाथ रक्षा गरिदिन शिशिरलाई आग्रह गरे । साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीमार्फत सामाजिक सञ्जालमा लोकप्रिय छन् ।

निर्देशक खातीले दर्जनौं म्युजिक भिडियो र फिल्मका गीतमा नृत्य निर्देशन गरेका छन् । यसका कार्यकारी निर्माता अर्जुन सुवेदीले यसअघि फिल्म ‘रंगेली’ निर्देशन गरेका थिए । फिल्मको प्रदर्शन २०८२ सालमा तय गरिएको छ । निर्माण नियन्त्रक मनोज जोशी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?