+
+

प्रचण्डको गुनासो : नबोल्नेको चामल नबिक्ने भो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते १८:३०

Prachanda  (14)
११ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक दलहरु सहमतिबाट भड्किइरहेका बेला मिडिया पनि भड्किएजस्तो देखिएको गुनासो गरेका छन् ।

‘परिवर्तनका एजेन्डामा पहिले मिडिया दलहरुसँग एकठाउामा थियो, अहिले भड्कियो कि भन्ने चिन्ता छ,’ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा सोमबार अपरान्ह सम्पादकहरुसँगको सामुहिक भेटघाटमा प्रचण्डले भने- ‘देश तपाई हामी सबैको हो, समझदारी निर्माणमा सबैले योगदान गर्नुपर्‍यो ।’

पहिलो संविधानसभामा समझदारीका लागि आफूले गरेका प्रयासबारे भूमिका बाँध्दै प्रचण्डले आफ्ना कुराहरु जस्ताको त्यस्तै जनसमक्ष पुर्‍याइदिन सम्पादकहरुसँग आग्रहसमेत गरे ।

‘मेरो कुरा जस्ताको त्यस्तै बुझाइदिनुपर्छ, नभए मलाई अन्याय हुन्छ,’ प्रचण्डले एमाओवादीबारे यथार्थ सूचना नआएको गुनासो गर्दै भने- यहाँ त बोल्नेको पीठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्नेजस्तो भो ।’

जेठ २ मा समझदारी गर्ने प्रमुख पात्र मै हुँ

पहिलो संविधानसभाका बेला ०६९ जेठ २ गतेको समझदारी निर्माण गर्ने प्रमुख पात्र आफैं भएको प्रचण्डले बताए । प्रचण्ड जेठ २ को समझदारीबाट पछि हटेको भन्ने आरोपको खण्डन गर्दै उनले भने-‘जेठ २ गते समझदारी गर्ने प्रमुख व्यक्ति मै हो । तर, मिडियामा के पर्न गयो भने भत्काउने चाँहि यही हो । यसले मलाई दुखित गराइरहेको छ ।’

विवाद समाधान समितिको जिम्मेवारीको हैसियतले आफूले हप्तौंसम्म मधेसवादी र कांग्रेस एमालेसँग बसेर जेठ २ मा सहमति गरेको प्रचण्डको भनाइ छ । तर, मधेसवादी दलले समझदारीमा हस्ताक्षर गर्न नमानेको र आफ्नै पार्टीभित्रको वैद्य पक्षले मधेसवादी दललाई उक्साएपछि जेठ २ को सहमति बिथोलिएको उनले बताए ।

प्रचण्डले भने- ‘म सहमतिकै पक्षमा थिएँ, चौथो शक्तिले हस्ताक्षर गर्न नमानेपछि हामी तीन दलले मात्रै सहमति गर्ने स्थिति थिएन ।’

जेठ १४ मा बहुपहिचानमा सहमति भएकै हो

पहिलो संविधानसभा बिघटनको पूर्वसन्ध्यामा जेठ १४ गते कांग्रेस र एमालेसँग बहुपहिचानसहित १० प्रदेशमा सहमति भएको प्रचण्डले दाबी गरे । कसले गर्दा सहमति भााडियो भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनले बताए ।

‘शान्ति मन्त्रालयमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, माधव नेपाल र बामदेवजी हुनुहुन्थ्यो, प्रचण्डले भने, हाम्रो तर्फबाट म, बाबुरामजी र नारायणकाजी हुनुहुन्थ्यो, लाजिम्पाटमा १० प्रदेशमा सहमति गरेर मधेसवादी दलसँग सहमति गर्ने टुंगो भएको थियो ।

तर, दलहरुवीच भइसकेको सहमति दिउँसो एकाएक भाँडिएको उनले बताए । प्रचण्डले भने-‘दिउँसो हुँदै जाँदा सहमति भएको भत्किँदै गयो, कसले गर्दा यस्तो भयो, यसको अनुसन्धान हुँदै जाला ?’

भइसकेको सहमति बिथोल्ने को हो ? कुनै विदेशी शक्ति हो कि ? पत्रकारको प्रश्नमा उनले भने, ‘म यसको जवाफ दिन्न । खोज्दैछु । तपाई पत्रकारहरु पनि कारण खोज्नोस् ।’

म कन्भिन्स भएँ भने १९ दल कन्भिन्स हुन्छ

एमाओवादी अध्यक्ष प्रचण्डले आफू कन्भिन्स भएपछि १९ दललाई कन्भिन्स गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने-‘म कन्भिन्स भएँ भने १९ दल कन्भिन्स हुन्छ ।’

अहिले कांग्रेस र एमालेका नेताहरुसँग अनौपचारिकरुपमा छलफल भइरहेको भन्दै प्रचण्डले आफूहरुले अघि सारेको आन्दोलनको उद्देश्य सहमतिबाटै संविधान बनाउनेतर्फ केन्दि्रत रहेको बताए ।

प्रमुख दलहरुवीच सहमति भए आफूले ३० दलीय मोर्चालाई पनि सहमितमा ल्याउने उनले विश्वास दिलाए । ‘३० दलमा छलफल गरिराखेका छौं, सम्झौताका आधारमा संविधान बनाउने हो भन्ने साझा धारणा बनाएर बसेका छौं, प्रचण्डले मिडियाकर्मीसँग भने ‘तीस दल सहमतिमा आउँछन्, एक दुईवटा दलबाट यताउता भए पनि मुख्य दलहरु सहमतिमा आउँछन् ।’

गत माघ ५ गतेृ सबै कुरा टंगिनै लागेका बेला कांग्रेस एमालेका केही नेताहरु ‘इरिटेड’रुपमा प्रस्तुत भएकाले सहमति बिथोलिएको प्रचण्डले बताए ।

वार्ता र सहमतिका लागि आफ्नो दलभित्र कुनै अन्तरविरोध नरहेको प्रचण्डले स्पष्ट पारे । डा. बाबुराम भट्टराईसँग आफ्नो दिनहुँ कुरा भइरहेको भन्दै प्रचण्डले संविधानसभालाई संसदजस्तो बनाउन नहुने र संविधानसभाजस्तो बनाउनु पर्ने बताए । जसले संविधानसभा जन्मायो, उसैले संविधानसभाबाट संविधान बनाउन चाहेको छैन भन्नु सही नहुने हुनेले तर्क गरे ।

फागुन १६ गते राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिहरेका प्रचण्डले अन्तरिम संविधान र १२ बुँदे समझदारीका आधारमा सहमतिको सम्भावना अझै नसकिएको बताए । सहमति नहुने हो भने मुलुक द्वन्द्वमा जाने भएकाले मिडियाले सहमतिको वातावरण बनाउनुपर्ने प्रचण्डले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?