Comments Add Comment

एसएलसी परीक्षाको सबै तयारी पूरा

२७ फागुन, भक्तपुर । आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको छ । ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पुर्‍याइ सकिएको छ ।
slc-exam
यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवेदन दिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने छन् । एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने छन् ।

प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् ।

परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी छन् ।

यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको नियन्त्रक द्वारेले बताए ।

भत्ता बृद्धि

यस वर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्ता वृद्धि गरिएको छ । केन्द्राध्यक्षले दैनिक भत्ता ८०० रुपैयाँ पाउने छन् । यसअघि ५०० रुपैयाँ थियो ।

सहायक केन्द्राध्यक्षको ३५० बाट ५००, निरीक्षकको २०० बाट ३५० रुपैयाँ पुर्‍याइएको छ । सुरक्षाकर्मीको ५० बाट १५०, कार्यालय सहयोगीको १०० बाट २०० रुपैयाँ पुर्‍याइएको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए ।

यसपालीको परीक्षाका लागि परीक्षाका लागि १७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने परीक्षा नियन्त्रक द्वारेले बताए ।

त्यस्तै परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको १५ रुपैयाँ दिँदै आएकामा यस वर्षदेखि २० रुपैयाँ पुर्‍याइएको छ । सम्परीक्षण गर्नेलाई प्रतिपुस्तक ४ बाट ५ रुपैयाँ दिने गरी वृद्धि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment