Comments Add Comment

काकरभिट्टाबाट रामेछाप हिँडेका यात्रु धनुषामा मृत भेटिए

२७ फागुन, रामेछाप  । काकरभिट्टाबाट रामेछाप सदरमुकाम आउँदै गरेको एउटा बसमा यात्रा गरिरहेका एकजना यात्रीको शव बुधबार विहान धनुषा जिल्लाको तुलसी गाविस-६ पातुको सडकमा प्रहरीले फेला पारेको छ ।

मंगलबार साँझ काकरभिट्टाबाट रामेछापको सदरमुकाम मन्थलीको लागि छुटेको मकालु यातायातको मे १ ख१८५३ नम्बरको बसमा यात्रा गरीरहेका दोलखा जिल्लाको मार्वु गाविस-१ का करिव ३५ वर्षका चन्द्रबहादुर दमाईँलाई धनुषा प्रहरीले मृत अवस्थामा सडकमा फेला पारेको रामेछाप प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सव इन्सपेक्टर लक्ष्मण गौतमले दिएको जानकारी अनुसार सडकमा शव फेला परेपछि प्रहरीले जाँच गर्दा उनको गोजिमा बसको टिकट फेला परेको थियो । धनुषा प्रहरीले गरेको खबरको आधारमा मन्थली आइपुगेको सो बसलाई नियन्त्रणमा लिई तलासी लिँदा उनका तीन वटा झोलाहरु फेला परेका छन् । तीनै झोलामध्ये एकमा चन्द्रबहादुरको नाममा रहेको सहकारी संस्थाको चेकबुक लगायतका कागजातहरु फेला परेको प्रहरीले जनाएको छ ।

घटना पछि बुधबार बिहान रामेछाप प्रहरीले बस र त्यसका चालक मेचीनगर नगरपालिका-१ झापाका गोपाल पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । उनी कसरी बसबाट झरे भन्नेबारे थाहा नभएको चालकले बताएका छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।
नवराज पथिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment