+
+

चामल बेच्न नसक्ने एमाओवादी र पिठो बेचेर धनी संसदवादी !

पाँच टुक्रामा विभाजित माओवादीहरु एजेन्डाविहीन सडकमा भौंतिरिई रहेको देख्छु, स्मृतिमा मेरा हजुरबा सचित्र खडा हुन्छन् । विस्मृतिको कुहिरो फाट्छ र उनको भनाई कानमा गुन्जन्छ-‘चोर्न जाने चोर पनि माग्ने हुन्छ, माग्न नजाने माग्ने पनि चोर हुन्छ ।’ सानै उमेरमा त त्यो कुरा राम्रोसँग बुझिन र, सम्झन पनि घोक्नै पर्‍यो । तर, अहिले माओवादीहरुलाई देखेर छर्लङ्ग हुन्छु ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७१ फागुन २८ गते ११:५८

पाँच टुक्रामा विभाजित माओवादीहरु एजेन्डाविहीन सडकमा भौंतिरिई रहेको देख्छु, स्मृतिमा मेरा हजुरबा सचित्र खडा हुन्छन् । विस्मृतिको कुहिरो फाट्छ र उनको भनाई कानमा गुन्जन्छ-‘चोर्न जाने चोर पनि माग्ने हुन्छ, माग्न नजाने माग्ने पनि चोर हुन्छ ।’ सानै उमेरमा त त्यो कुरा राम्रोसँग बुझिन र, सम्झन पनि घोक्नै पर्‍यो । तर, अहिले माओवादीहरुलाई देखेर छर्लङ्ग हुन्छु ।

सुदर्शन खतिवडा
सुदर्शन खतिवडा

पृथ्वीनारायण शाहपछि देशकै अन्तरकुन्तरसम्म ‘भाइब्रेसन’ ल्याउन सक्ने जनयुद्धको नेतृत्व गरेर आएका माओवादीहरु अहिले एजेन्डामा गरिब ‘देखिएका’ छन् । जनयुद्धबाट प्राप्त उपलब्धिमा टेकेर जनआन्दोलन हुँदै संविधानसभाको यात्रा गरेको एमाओवादी कुनै बेला एजेन्डामा धनी थियो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक, समावेशी प्रतिनिधित्वजस्ता एजेन्डाबाट सुसज्जित माओवादीले पहिलो निर्वाचनमा अभूतपूर्व सफलता पायो । जतिबेला सफलता पाए, उनीहरु स्वयम्ले ती एजेन्डालाई राम्रोसँग चिनेनन्/चिन्न सकेनन्, बुझेनन्/बुझ्न सकेनन्, जति प्रतिपक्षी वा त्यसका विरोधी कित्ताले बुझेको थियो ।

हजारौंको बलिदानबाट प्राप्त ती एजेन्डाहरुको महत्व बुझेका भए पहिलो संविधानसभाबाट संविधान बन्न सक्थ्यो । जनताको मतलाई ‘बाल नदिएर’ पालुंगटारमा जनविद्रोहको नारा लगाउँदै रचिएको नाटक काठमाडौंमा सात दिने आमहड्तालको गोलचक्कर काट्दै पटाक्षेप भयो । यो बीचमा ती एजेन्डाहरु लगभग टुहुरा प्रायः भए ।

एमाओवादी गोडमेल गर्नुपर्ने बिरुवा छाडेर सिधै फल खोज्दै सडकमा गयो । भुईंको टिप्न खोज्दा पोल्टाको पोखिएर सडकमा अलपत्र पारिएका ती एजेन्डाहरु ‘धर्मपुत्र/पुत्री’को रुपमा लोकाचार पूरा गर्न भने पनि संसदवादी शक्तिहरुले स्वीकार गरे । परिवर्तित सन्दर्भमा एजेन्डाको गरिब संसदवादी शक्तिले एमाओवादीका एजेन्डाहरुको महत्व बुझेका थिए । ‘एजेन्डा’मा ‘निसन्तान’ उनीहरुले लोकाचारकै लागि भनेपनि ‘धर्मपुत्र/पुत्री’को रुपमा त्यसलाई स्वीकार त गरे तर, आफ्नै अभिभावकबाट त सडक फ्याँकिएका ‘विचरा’ ती एजेन्डाहरुले संसदवादी शक्तिबाट प्राकृतिक माया पाउने कुरा सम्भव भएन ।

यसैकारण संसदवादी शक्तिले पनि पहिलो संविधानसभाबाट संविधान बनाउन चाहेनन् किनकी ती एजेन्डाहरुलाई सबलाङ्ग नै नयाँ संविधानमा संस्थागत गर्न उनीहरु चाहँदैनथे । आफ्नै सन्तानको स्तरमा माया, सम्मान र स्थान दिन संसदवादी शक्तिहरु त्यतिबेला पनि तयार थिएनन् । तर अहिले त सन्तानको रुपमा स्वीकार गर्ने ‘अभिभावक’ नै फेरिएका छन्, अनि कसरी तयार हुनु ?

एमाओवादी र संसदवादीहरुबीच अहिले ती सन्तानको खोसाखोस भइरहेको छ । नक्कली आमा र सक्कली आमा छुट्याउने विवेकशील ‘न्यायमूर्ति’को अभावमा परिवर्तनका एजेन्डारुपी सन्तानहरु अहिले अंगभंगको अवस्थामा छन् ।

जब माओवादीले आफ्नै एजेन्डा राम्रोसँग बुझ्यो, त्यतिबेला त्यो एजेन्डा सबैको साझा एजेन्डा भइसकेको थियो । अब माओवादीलाई राजनीति अगाडि नै बढाउने हो भने कुनै नयाँ एजेन्डा चाहिन्थ्यो, उसले त्यस्ता कुनै नयाँ एजेन्डालाई जन्माउन सकेन । दोस्रो चुनावसम्म आउँदा एमाओवादी एजेन्डामा गरिब देखियो । अन्य माओवादीहरु विकल्पहिन विरोधमा बरालिए । दोस्रो संविधानसभालाई वैद्य-विप्लव गठबन्धनले एकातिर बहिस्कार र अर्कोतिर मतको खरिदबिक्री गर्दै न्यूनतम् ‘बुर्जुवा’ राजनीतिक नैतिकता र संस्कारलाई पनि धोका दिएर लज्जास्पद बेइमानी गरे ।

शक्तिका हिसाबले इतिहासमा आकस्मिकता र आवश्यकताको त्यो अद्भूत संयोग अब माओवादीले सायदै प्राप्त गर्ला । इतिहासमा पाइने स्वणिर्म अवसर उपयोगबाट चुकेपछि अहिले बुद्धि फिरेको (?!) माओवादीसँग न नयाँ एजेन्डा जन्माउने क्षमता रहृयो, न त पुरानो एजेन्डा आफ्नो स्वामित्वमा फिर्ता गर्ने नैतिक र भौतिक शक्ति रह्यो ।

पुँजीवाद हुँदै समाजवादमा जाने सपना देख्ने कम्युनिष्टहरुले संविधानसभाबाट जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेन्डाहरु संस्थागत गर्न सकेको भए समाजवादसम्मको यात्रा सहज हुनसक्थ्यो । तर त्यो स्वर्णिम अवसर गुमिसकेको छ । नारामा अभ्यस्त कम्युनिष्टहरुले व्यवहार ढिलो बुझ्ने अन्तर्राष्ट्रिय प्रचलनको नयाँ संस्करणको रुपमा नेपालमा पनि माओवादीले राम्रै भूमिका खेल्यो । उता ‘कम्युनिष्ट’ भन्ने एमालेको एजेन्डा र कांग्रेसको एजेन्डा लगभग ‘एउटै र उस्तै’ भएपछि समाजको प्रगतिशील रुपान्तरण र समाजवादको यात्राको बारे बहस गरेर किन समय बर्बाद बनाउनु र ?

अब गिरिजालाई सम्झिएर, रुवाबासी गरेर न सुशील कोइरालामा गिरिजाको आत्मा सवार हुन्छ । न केपीको कुर्सीमा माधव नेपाल आउन सक्छन् । अब केवल सिक्ने र जीवन व्यवहारमा लागू गर्ने विकल्प बाँकी छ ।

अहिले एमाओवादी इतिहासमा एउटा यस्तो मजाकको पात्र भयो जो सबै भएर पनि केही नभएजस्तो गरिब राजनीतिक जीवन बाँचिरहेको छ । उता गणतन्त्रलाई फगत दुस्वप्न मान्नेहरु, संविधानसभालाई असम्भव भन्नेहरु अहिले तिनै एजेन्डाका ठेकेदारजस्तै बनेका छन् । इतिहासको यो ‘रोचक ठट्टा’ले एमाओवादीलाई लामो समयसम्म जिस्काइरहनेछ ।

अहिलेको लम्बिँदो राजनीतिक संक्रमणको एउटा मात्र गुह्य यथार्थ भनेको संसदवादी दलहरु अहिले स्थापित एजेन्डाबाट रहरले पनि पछाडि हट्न सकिरहेका छैनन् भने माओवादीहरुसँग अगाडि बढ्न पर्याप्त शक्ति छैन । के गर्नु, राजनीति ‘हाम्रा हजुरबाले घ्यू खानु हुन्थ्यो, मेरो हात अझै बास्ना आइरहेको छ’, भनेजस्तो नहुने रहेछ । जहिले पनि समाजलाई अगाडि बढाउन कुनै नयाँ एजेन्डा चाहिन्छ । कांग्रेस एमाले समाजलाई ‘र्‍याडिकल्ली’ अगाडि बढाउनै चाहन्नन् । अगाडि बढाउन चाहने एमाओवादीसँग अब कुनै नयाँ एजेन्डा नै छैन । फगत भावना, आक्रोश र आवेगले समाज अगाडि जाँदैन ।

जुन एजेन्डालाई आफ्नो भनेर माओवादी चिच्याइरहेको छ, त्यो त सबैको भइसकेको छ । यी एजेन्डामा जतिसुकै अनुदार मानिएपनि परिस्थितिगत बाध्यताले आफ्नै एजेन्डा मान्न बाध्य शक्तिहरुले चलाखीपूर्वक त्यसलाई आफ्नो सम्पति बनाइसकेका छन् ।

‘एकता’मा शक्ति हुन्छ भन्ने नारालाई गायत्री मन्त्रझैं कन्ठ बनाउने ‘कम्युनिष्ट’को एउटा अनौठो विशेषता हुन्छ । त्यो भनेको टुक्रा टुक्रा भएर एक्लै बाँकी रहँदासम्म पनि ऐना हेरेर प्रतिछायासँग तँ भन्दा म विशुद्ध क्रान्तिकारी भनेर झगडा गरिरहनु । आन्दोलन कहाँ छ ? जनताको अवस्था कहाँ छ ? थाहा छैन । फगत ‘विशुद्ध क्रान्तिकारी’ दावी गर्ने निरर्थक र अन्तहिन प्रतिस्पर्धा माओवादीहरुमा चलिरहेको छ । यो एजेन्डा अभावको स्वभाविक परिणाम हो । भनिन्छ नि, जहाँ अभाव त्यहाँ तनाव !
हो, माओवादी यो देशका आमूल परिवर्तन चाहने शक्ति हुन् । उनीहरु हिजो युद्धमा थिए, बलिदानको राप तापले पैदा गरेको शक्ति थियो । त्यस्तै राजनीतिक माहोल बनाउन सफल भएका थिए । हिजो एकाध ‘निपूर्ण’हरुले हजारौं ‘लाल’हरु परिचालन गर्ने अवस्था थियो । युद्ध चुनौतीपूर्ण हुन्छ, त्यतिबेला सामान्य कुराले कसैको ध्यानाकर्षण हुँदैनथ्यो । जस्तो कि हात भाँचिएको बेला औंला काटेको दुख्दैन ।

गिरिजाबाट सिक्नै पर्ने केही कुरा छन् । नेपालका माओवादीहरुले सुखमा मात्तिनुहुन्न भनेर त सिकेका होलान् तर दुःखमा नआत्तिन अझै पनि सिक्नुपर्छ

तर आज समय फेरिएको छ । सदियौंदेखि खुल्ला र शान्तिपूर्ण राजनीतिमा अभ्यस्त खेलाडीहरुसँग एउटै मैदानमा भिड्नुपरिरहेको छ । यहाँ ‘लाल’हरु थप निपूर्ण बन्नुपर्ने हुन्थ्यो । किनकी प्रतिस्पर्धाको नियम हरेक खेलाडीले मान्नुपर्ने हुन्छ । तर ‘निपूर्णता’लाई वञ्चिीतिकरणमा पारियो । ‘लाल’ प्रवृत्तिलाई अगाडि राखियो र ‘निपूर्ण’ बन्ने बनाउने कामलाई तपसीलमा राखियो । अनि त निपूर्णहरुले बिच्छ्याएको खुराफाती एम्बुसमा माओवादीहरु सधैं घाइते र छिन्नभिन्न भइरहे ।

२५ हजारको ‘फुच्चे’ योजना फर्स्यौट गर्ने ढंग नभएका स्थानीय कार्यकर्ताहरु गाविस सचिवसँग झगडा गर्नु दिनचर्या नै बन्यो । यस्तै दृश्य राष्ट्रिय राजनीतिक परिदृश्यमा देखियो । संसदवादीहरुले नगद लिएर कारोबार गरे तर माओवादीले सबै कुरा उधारोमै बुझाए । ‘सेना समायोजन गर, एक हप्तामा संविधान बनाउन जिम्मा लिन्छौं’ भन्दै उनीहरुले एमाओवादीलाई निरन्तर थाङ्नामा सुताइरहे । अब गिरिजालाई सम्झिएर, रुवाबासी गरेर न सुशील कोइरालामा गिरिजाको आत्मा सवार हुन्छ । न केपीको कुर्सीमा माधव नेपाल आउन सक्छन् ।

अब केवल सिक्ने र जीवन व्यवहारमा लागू गर्ने विकल्प बाँकी छ । गिरिजाबाट सिक्नुनपर्ने धेरै कुरा होलान् । तर, सिक्नै पर्ने केही कुरा छन्, ती हुन् राजनीतिमा निरन्तरता, धैर्यता र अडान । नेपालका माओवादीहरुले सुखमा मात्तिनुहुन्न भनेर त सिकेका होलान् तर दुःखमा नआत्तिन अझै पनि सिक्नुपर्छ ।

०४६ सालको जनआन्दोलनपछि मदन भण्डारीले आफ्ना र्‍याडिकल्ल कार्यकर्तालाई ढाँटेनन् । पूर्णकालीन हुन नसक्नेलाई जीवन निर्वाहमा लाग्न अह्राए र सक्दो सहयोग गरे । एमाओवादीले शान्ति सम्झौतापछि पनि कार्यकर्तालाई रातारात परिवर्तनको झूटो आश्वासनमा १० वर्षसम्म अन्यौलको अवस्थामा राखे र उनीहरुको ‘पोजेटिभ पोटेन्सियल’लाई सिध्याए । अझै ढाँट्न आवश्यक छैन । खुलम्खुला भन्दिए हुन्छ, पार्टीको अबको बाटो यो हो, अबको पाँच वर्षमा यसो गरिन्छ, १० वर्षमा यसो गरिन्छ । राजनजीतिक संस्कारसहित जनताको एजेन्डा नछाड्ने र त्यही अनुरुपको जीवन शैली बाँच्ने हो भने गुमाएका धेरै कुराहरु पाउन सकिन्छ । भारतको आम आद्मी अनुकूलता, प्रतिकूलता र पुनः अनुकूलतामा पुगेको नजिकैको उदाहरण काफी छ ।

अन्तिममा फेरि उखानकै कुरा, बोल्नेको पिठो बिक्छ र नबाल्नेको चामल पनि बिक्दैन । अझ यो उपभोक्तावादी बजारमा झन लागू हुन्छ । सिधै प्लेटमा राँगाको मासु बेच्दा सबैले स्वाद मानी मानी नखान सक्छन् । मासुलाई पिठोमा बेरेर मम बनाएर बेच्दा धेरैले स्वाद मानी मानी खान्छन् । राजनीतिक एजेन्डा बेच्न कतै तपाईंको सीप र कला पुगेन कि ? समिक्षा गर्नुहोस् । अन्तिममा विद्यार्थी नेता जागृत रायमाझीका दुई हरफहरु-

त्यागी त्यागी बन्यो तक्मा लिएर,
चौबाटोमै चोर्यो चोरले ‘चक्मा’ दिएर,
तक्मा लिने त्यागी भयो, ‘चक्मा’ दिने चोर भयो !
स्याललाई शहर, बाघलाई खोर भयो !

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?