चिनिया इ कमर्स कम्पनी अलिबाबाले चर्चित फोटो मेसेजिङ एप स्नापच्याटमा २० करोड डलर लगानी गर्ने भएको छ । अलिबाबाको लगानी थपिएसँगै स्नापच्याट कम्पनीको मूल्य १५ अर्ब डलर पुगेको ब्लुमबर्गलाई उधृत गर्दै रोयटर्सले जनाएको छ । यो सँगै चार वर्षअघि स्थापित स्नापच्याट विश्वका सबैभन्दा मूल्यवान टेक स्टार्टअपको सूचिमा पर्न सफल भएको छ ।
सन् २०१३ मा स्नापच्याटलाई फेसबुकले खरीद गर्ने प्रस्ताव गरेको थियो । उतिबेला फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा खरीद गर्ने प्रस्ताव गरेको थियो । तर फेसबुकको उक्त प्रस्तावको तुलनामा स्नापच्याटको अहिलेको मूल्यमा भारी वृद्धि भएको देखिएको छ ।
अमेरिकाको लस एन्जल्समा मुख्यालय रहेको स्नापच्याटका प्रयोगकर्ता १० करोड छन् । प्रयोगकर्ताले स्नापच्याट मार्फत मेसेज पठाउन सक्छन् जुन मेसेज पठाएको केही सेकेण्डमै हराउँछ ।
पछिल्लो आफ्नो मुख्य सेवामा विस्तार गर्नका लागि लगानी जुटाउने प्रयत्नमा थियो स्नापच्याट । गएको जनवरीदेखि स्नापच्याटले फेसबुक र टि्वटरसँग आफुलाई प्रतिस्पर्धामा उतार्नका लागि मूलधारका मिडियाहरु जस्तै सिएनएन तथा इएसपिएनमा प्रकाशित भिडियो तथा आलेखलाई देखाउन सुरु गरेको थियो ।
विश्वको सबैभन्दा ठूलो इ कमर्श कम्पनी अलिबाबाका लागि यो सानो टेक स्टार्टअपमा गरेको लगानीबाट कति प्रतिफल प्राप्त हुने हो त्यो अस्पष्ट नै छ ।
अमेजन र इ बे जोड्दा हुने कुल अनलाइन व्यापारभन्दा पनि अलिबाबाको इ कमर्शमा हिस्सा बढि छ । पछिल्लो समय स्मार्टफोन तथा ट्याब्लेटबाट हुने इ सपिङको दर बढ्दै गएको परिप्रेक्ष्यमा अलिबाबाले मोबाइल सेवा समेत विस्तार गर्न लागेको र सोही मेलोमा स्नापच्याटलाई उपयोग गर्ने उद्धेश्य लिएको विश्लेषकहरुले बताएका छन् ।
अमेरिकी व्यवसायमा आफ्नो पकड कायम गर्ने अभियानमा रहेको अलिबाबाले अमेरिकी खुद्रा बिक्रेताहरुलाई आफ्ना सामान चिनिया मध्यमवर्गिय मानिसहरुलाई बेच्ने अफर प्रदान गर्नेछ ।
पछिल्लो समय अलिबाबाले अमेरिकी लगानीमा आफ्नो पोर्टफोलियो बढाउँदै लगेको छ । अलिबाबाले यसअघि पनि अमेरिकाका लिफ्ट तथा ट्यांगो लगायतका टेक स्टार्टअप हरुमा लगानी गरिसकेको छ । तर स्नापच्याटमा गरेको लगानी भने अलिबाबाले अमेरिकामा अहिलेसम्म गरेको सबैभन्दा ठूलो लगानी हो ।
सिलिकन भ्याली सम्बद्ध जानकारहरुका अनुसार स्नापच्याटमा अलिबाबाले गरेको लगानी विश्वकै प्रभुत्वशाली इ-टेलर बन्ने अलिबाबाको रणनीतिबाट प्रेरित छ ।
स्नापच्याट र अलिबाबाबीच भएको पछिल्लो लगानी सम्झौताको विषयमा दुइवटै कम्पनीले अहिलेसम्म मुख खोलेका छैनन् ।
प्रतिक्रिया 4