आफुले बोकेको मोबाइलमा जब ब्याट्री सकिन लागेको संकेत बज्दछ तब जतिसुकै राम्रो तथा फिचरवाला स्मार्टफोन भएपनि त्यो निकम्मा जस्तै लाग्नथाल्छ । चार्जिङ गर्ने ठाउँ र बिजुली भएमा चार्ज गर्न दौडिहालिन्छ र नभएमा स्विच अफ गरेर राख्नुको विकल्प छैन । लामो यात्रा, लोडसेडिङ तथा मोबाइलको धेरै प्रयोग गर्नुपर्ने अवस्थामा ब्याट्री सकिने समस्याले अझै आपत् पार्छ । जति चलाएपछि हप्तौँ सम्म ब्याट्रीको चार्ज टिकोस् तथा घाममा देखाउँदा आफै मोबाइल चार्ज होस् भन्ने कल्पना गरिन्छ कहिलेकाहीँ । तर त्यो कल्पना मै सिमित हुन्छ र मोबाइल चार्ज सकिएर अफ भइदिन्छ ।
बढि फिचरवाला स्मार्टफोनको दबदबा तर ब्याट्रीको आयु कम हुँदा उपभोक्तालाई भएको हैरानीलाई ध्यानमा राखेर वैज्ञानिकहरुले विभिन्न खाले अनुसन्धानहरु गरिरहेका छन् । यहीँ मेलोमा यस्तो प्रविधिको विकाश हुँदैछ जसबाट तपाइँले लगाएको कपडाले नै तपाइँले बोकेको मोबाइल चार्ज गरिदिनेछ अनि तपाइँ मोबाइल चार्ज गर्नका लागि कतै धाइरहनु पर्नेछैन ।
अमेरिका र चीनमा भएका छुट्टाछुट्टै अनुसन्धानले यस्तो प्रविधिको विकाश गर्न सकिने देखाएको छ । जस अनुसार सरीरमा लगाउने कपडामा राखिने सोलार प्यानलका माध्यमबाट स्मार्टफोन मात्र होइन जिपिएस तथा ट्याब्लेट समेत चार्ज गर्न सकिनेछ ।
सोलार ड्रेसेज फोटोभोल्टाइक सेल भनिने यो प्रविधिले यस्तो उपकरणको रुपमा काम गर्छ जसले ग्याजेटलाई सजिलैसँग चार्ज गर्न सकिन्छ ।
यो फोटोभोल्टाइक ब्याट्रीको निर्माण सिलिकन जस्तै अर्धसुचालक पदार्थबाट बनाइएको हुन्छ । यो प्रविधिले सूर्यको किरण जब फोटोभोल्टाइक ब्याट्रीमा पर्छ तब त्यसबाट प्राप्त उर्जालाई सेमीकण्डक्टर सम्म पूराउनेे काम गर्छ । सेमीकण्डक्टरमा रहेका इलेक्ट्रोनहरुको सम्पर्कमा आएसँगै उक्त सौर्यउर्जा विद्युतमा परिणत हुन्छ ।
अमेरिकाको लस एन्जल्समा रहेको सिल्भर लाइनिङ नामक कम्पनीले केही समय पहिले नै सौर्य ब्याट्री प्रविधिमा आधारित आफ्ना पहिरनहरु बजारमा ल्याइसकेको छ । त्यसमा स्टाइलिस ज्याकेट तथा प्यान्ट लगायतका छन् । यी कपडामा किताब जस्तै आकारको सौर्य उर्जा प्यानलको निकै कलात्मक ढंगले प्रयोग गरिएको छ । यी कपडामा आइफोन लगायतका स्मार्टफोन चार्ज गर्ने सुविधा समेत उपलब्ध छ । कम्पनीका अनुसार यी कपडाहरु त्यस्ता मानिसहरुका लागि उपयोगी छन् जो कुनै न कुनै कामका लागि घर वा कार्यालयबाट टाढा रहन्छन् ।
यद्यपि यो प्रविधिका विषयमा केही आशंकाहरु भने नरहेका होइनन् । सोलार कपडामा विद्युत प्रवाह गर्नका लागि लामो समयसम्म घाममा बस्नु आवश्यक हुन्छ । लामो समय चर्को घाममा बस्दा अन्य खाले समस्या उत्पन्न हुने डर हुन्छ । र अर्को कुरा यस्ता कपडामा विद्युत उर्जा संग्रह गर्ने वा स्टोर गर्ने सुविधा पनि हुँदैन जसले घाममा बसुन्जेल मात्र मोबाइल चार्ज हुन्छ र घामबाट टाढा भएपनि कपडाको सोलारले काम गर्दैछ । सुरुवाती अवस्थामा यो प्रविधि जडित कपडाहरु निकै महंगो भएकाले उपभोक्ताको रोजाइमा पर्न सकेका छैनन् र ती कपडाहरु विश्वव्यापी पनि बन्न सकेका छैनन् । त्यसैले यो प्रविधिलाई सस्तो बनाउनु समेत चुनौतिको रुपमा रहेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4