आइफोनले आफ्नो आईओएस ८ किबोर्डलाई अहिलेसम्मकै स्मार्ट किबोर्ड दावी गरेको छ । यदि तपाईंले केही कुरा टाइप गर्दै हुनुहुन्छ भने टाइप गर्न खोजेको अक्षर पहिले नै देखाउँछ । जसलाई प्रिडिक्टिभ (अनुमानित) किबोर्ड फिचर भनिन्छ ।
तपाइले पहिले टाइप गरेको अक्षरको इतिहास र बढि प्रयोग गरिने शब्दलाई आधार मानेर आइफोनले अनुमानित सुझाव शब्दहरु देखाउँछ ।
तर, यस्तो सुबिधा सधै लाभकारी भने हुँदैन् । खासगरि नेपाली प्रयोगकर्ताहरु जहाँ बहुसंख्यकले अंग्रेजी भाषा प्रयोग नगरी रोमन अंग्रेजी प्रयोग गर्छन, त्यस्तो अबस्थामा नेपालीलाई रोमनाइज्ड गरेका अक्षर सजिलोसँग लेख्नु निकै महाभारत हुन्छ । एउटा लेख्न खोज्दा अर्कै शब्द टाइप भइरहेको हुन्छ ।
जसले गर्दा हरेकपटक टाइप भइसकेका अक्षर डिलिट गर्नुपर्ने अबस्था आउँछ, एक लाइन म्यासेज लेख्नै थुप्रै मिनेट खर्चिनुपर्ने हुन्छ । हतारमा म्यासेज पठाउँदा कहिलेकाहीँ त अनर्थ लाग्ने शब्दसमेत एसएमएसमा गइरहेको हुन्छ ।
तपाईंले यस्तो दुःख भोगिरहनुभएको छ भने यो समस्याबाट छुटकारा पाउन निकै सहज छ । चाहे अल्पकालिन होस् वा दीर्घकालिन समाधान, हामी यहाँ तपाईलाई आज केही त्यस्ता उपाय सुझाउँदै छौं जसले गर्दा तपाईको हैरानी तुरन्तै बन्द हुने छ ।
आइफोनमा रहेको प्रिडिक्टिभ किबोर्ड दुई तरिकाले अफ गर्न सकिन्छ ।
अल्पकालिन समाधानः
यदि तपाईं सधैका लागि नभई तत्कालका लागि मात्र प्रिडिक्टिभ किबोर्ड अफ गर्न चाहानुहुन्छ भने यो उपाय उपयोगी हुन्छ । यसका लागि अनुमानित शब्दहरु देखाइरहेको खैरो रंगको बारलाई औंलाले होल्ड गरी तल तानिदिनुस् ।
अब तपाईले टाइप गर्दा अनुमानित शब्दहरु देखाउँदैन् । यदि अनुमानित शब्द देखाओस् भन्ने चाहानुहुन्छ भने सोही खैरो बारलाई पुनः माथितिर तानिुदिनुस् ।

दीर्धकालिन समाधानः
आफ्नो आइफोन सेटले कहिल्यै पनि अनुमानित शब्द नदेखाओस भन्ने चाहानुहुन्छ भने तपाईले आइफोनको ‘प्रिडिक्टिभ किबोर्ड’ फिचरलाई अफ गर्नुपर्छ । यसका लागि पहिलो उपाय हो किबोर्डबाटै अफ गर्ने । किबोर्डमा रहेको माइक्रोफोनको संकेतको बायाँ छेऊमा रहेको हाँसोको संकेतलाई थिच्नुहोस् । त्यहाँ प्रिडिक्टिभ अप्सन देखाउँछ, त्यसलाई थिचेर अफ गरिदिनुहोस् । (तलको तस्वीरमा जस्तै)
यसबाहेक तपाईले आइफोनको सेटिङमा गई जनरल अप्सनभित्र किबोर्डमा जानुहोस् । तल चित्रमा देखाइएजस्तै त्यहाँ रहेको पि्रडिक्टिभ अप्सनलाई अफ गरिदिनुहोस, अब तपाईले म्यासेज टाइप गर्दा अनुमानित अक्षर आउने दुःख भोग्नुपर्ने छैन् ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4