Comments Add Comment

बैद्यले भन्दैमा संविधानसभा छाड्दैनौं : प्रचण्ड

४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बैद्य माओवादीले भन्दैमा संविधानसभा नछाड्ने बताएका छन् ।

Prachanda  (14)एमाओवादी र बैद्य माओवादीबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ । र, वार्तामा बैद्य माओवादीका नेताहरुले संविधानसभा छाडेर सडक संघर्षमा आउन प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।

नेकपा (माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले बुधबार भएको भेटमा प्रचण्डले संविधानसभाबारे अझै दुई माओवादीको फरक बुझाइ रहेको बताए । यादव र थापा पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउने पहल सुरु गर्न विहान लाजिम्पाट पुगेका थिए ।

संविधानसभा छाड्ने परिस्थिति

भेटमा प्रचण्डले सबै माओवादीलाई मिलाउन आफू सकारात्मक रहेको बताए । तर, बैद्य माओवादीसँग कुरा नमिल्दा कार्यगत एकता समिति अघि बढ्न नसकेको बताए ।

‘हाम्रो र बैद्यजीहरुको कुराकानी मिलेन । यसमा तपाईहरुको दोष छैन,’ प्रचण्डको भनाई उद्रृत गर्दै स्रोतले भन्यो-‘उहाँहरु (बैद्य) ले बाहिर आउने कुरा गर्नुहुन्छ । हामी बाहिर आउने परिस्थिति छैन । भित्र लड्ने हो ।’

यद्यपि कांग्रेस र एमालेले बुहमतको बलमा पेलेरै जाने खोजे भने संविधानसभा छाडेर आउने परिस्थिति पनि बन्न सक्ने प्रचण्डले बताएका छन् ।

भेटमा यादव र थापाले भने दुई माओवादी मात्र मिलेर नहुने भन्दै पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउन आग्रह गरेका छन् ।

एमाओवादी, बैद्य माओवादी, मातृका नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकीकृतले कार्यगत एकता समिति गठन गरेका थिए । तर, झण्डै चार महिनादेखि कार्यगत एकता समिति निश्कृय छ ।

साथै उनीहरुले तीन माओवादीका दोस्रो तहका नेताहरुले माओवादी पुनर्गठन अभियान सुरु गरेकोबारे ध्यानाकर्षण गराएका छन् । ‘सकेण्ड जेनेरेसन मात्र उठ्दा पार्टीहरु अराजकतामा फस्ने हुन्छ’ उनीहरुले भनेका छन्-‘शीर्ष नेताहरुकै पहल हुनुपर्छ ।’

एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादीका दोस्रो तहका नेताहरुको पहलमा हालै मात्र माओवादी पुनर्गठन अभियान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment