Comments Add Comment

नेपालमा वार्षिक ४५ हजार नयाँ क्षयरोगी थपिए

१० चैत, काठमाडौ । विश्व क्षयरोग दिवस सोमवार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘उपचार सेवाको पहुँच भन्दा बाहिर रहेका ३० लाख रोगीको पहिचान गरौं, सबैको उपचार गरौ’ भन्ने नारासहित मंगलवार यो दिवस मनाइदैछ ।
TB
जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा देशैभर क्षयरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाउँदैछन् । नियमित औषधी सेवन गरेमा निको हुने क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने विश्वमा हरेक वर्ष ९० लाख नयाँ क्षयरोगी देखापर्ने गरेको तथ्याङ्कले जनाएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन्  । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानका अनुसार अघिल्लो एक वर्षको अवधिमा मात्र ३६ हजार ३७३ क्षयरोगी उपचारमा आएका थिए । सन् १९९६ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका सबै जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्थामार्फत एकीकृत रुपमा प्रत्यक्ष निगरानीमा औषधी खुवाउने केन्द्र चार हजार २२१ डट्स उपचार केन्द्र मार्फत् निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।

केन्द्रले क्षयरोग भई नियमित औषधि सेवन नगर्ने, बिचमै औषधि छाड्नेलाई कडा क्षयरोग लाग्न सक्ने भएकोले नियमित औषधी सेवन गर्न आग्रह गरेको छ ।

समयमै क्षयरोग पत्ता लगाउन सहयोग पुर्‍याउने नयाँ प्रविधिको जिन एक्स्पर्ट उपकरण राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरसहित प्रमुख सहरका २२ स्थानमा जडान गरिएको र सात स्थानमा जडानको प्रक्रियामा रहेको केन्द्रका निर्देशक डा लामिछानेले बताए । देशका विभिन्न सहरहरुमा यो सेवा उपलब्ध भएको भनिए पनि सेवा प्रभावकारी हुन नसकेको क्षयरोगीहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, केन्द्र, विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन भइराखेका छन् । करिब दस हजार क्षयरोगीका बिरामीलाई खोजी उपचारमा ल्याई निको पार्ने यसवर्ष सरकारको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment