Comments Add Comment

सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम

१४ चैत, सिरहा । सामुदायिक विद्यालयमा पढ्ने छात्रा महिनावारीको समयमा विद्यालय नआउने क्रम बढेपछि सिरहाका सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ ।

सिरहाको फूलबरीया, चन्द्रलालपुर, धनगढी र तरेगना गोविन्दपुरका १२ वटा सामुदायिक विद्यालयमा खानेपानी सरसफाइ र महिनावारी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) र मानवअधिकार र विकास केन्द्रको साझेदारीमा कार्यक्रम कार्यक्षेत्रअन्तर्गतका दुई उच्च मावि, दुई मावि, दुई निमावि र छ वटा प्राविमा कार्यक्रम सञ्चालन गरिएको केन्द्रका अध्यक्ष जीवछ साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा खानेपानीको स्रोत व्यवस्था र मर्मत, शौचालय निर्माण र मर्मत, विद्यालयमा सरसफाइ र महिनावारीको विषयमा कक्षा सञ्चालन गरिने छ ।

त्यसैगरी महिनावारीको व्यवस्थापन, तालिम, महिनावारी स्रोत केन्द्र स्थापना, कपडा फेर्ने स्थान, महिनावारी हुँदा स्थानीय तहमा कपडा वा प्याडको व्यवस्थालगायत गरिने अध्यक्ष साहले बताए ।

त्यसका लागि विद्यालय व्यवस्थापन समितिसँग छलफल, शिक्षक र अभिभावकलाई तालिम, स्रोत व्यक्तिको चयन, गाउँ र नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग छलफल, कार्ययोजना तयारी र कार्यान्वयनलगायतका गतिविधि गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय सिरहाका जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले सामुदायिक विद्यालयका विशेषगरी कक्षा ८ देखि १० सम्म हरेक महिना कम्तीमा चार दिनसम्म छात्रा अनुपस्थिति हुने दर बढिरहेको बताए ।

त्यस्तो अवस्था न्यून गर्न विद्यालयमा कार्यरत महिला शिक्षिकालाई महिनावारीको विषयमा विद्यार्थीलाई परामर्श दिनेलगायतका काम गर्नेगरी स्रोत व्यक्ति तोकिने व्यवस्था गरिएको उनको भनाइछ ।

एक अध्ययनअनुसार सामुदायिक विद्यालयमा अध्ययनरत छात्रामा महिनावारीको समयमा विद्यालय छोड्ने दर ८ दशमलव ९ प्रतिशत रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment