Comments Add Comment

‘डा. केसीको माग सम्बोधन गर्न सरकार तयार’

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले अनशनरत प्रा. डा. गोविन्द केसीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

Khagraj-Adhikariआफ्नै कार्यकक्षमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले भने-“समग्र स्वास्थ्य शिक्षा र सेवाका सुधारका विषयलाई लिएर उहाँजस्तो अतियोग्य चिकित्सकले अनशनमा बसिरहनुपर्दैनथ्यो, सरकार वार्ता र संवादका माध्यमबाट उहाँले उठान गर्नुभएका मागको समाधान खोज्न प्रयत्नशील छ, छिट्टै समाधान निस्कन्छ ।”

प्रा डा केदारभक्त माथेमाको संयोजकत्वमा स्वास्थ्य शिक्षासम्बन्धी विषय पुनरवलोकन गर्न गठित कार्यदलले सरकारलाई बुझाउने प्रतिवेदन अध्ययन गरी यसलाई कार्यान्वयन गर्न सरकार तयार रहेको उनले बताए ।

कार्यदलले स्वास्थ्य शिक्षा सुधारका लागि दिने सुझाव एवम् सिफारिसलाई सरकारले कार्यान्वयन गर्न प्रतिबद्धता जनाइसकेको अवस्थामा अनशनलाई अन्त्य गर्न डा केसीलाई आग्रह गरे । “डा. केसीले उठाउनुभएका मागका बारेमा सरकार एवम् संवैधानिक निकायको ध्यानाकर्षण भइसकेको छ, यस्तो अवस्थामा म डा केसीसँग अनसन अन्त्य गर्न आग्रह गर्छु” मन्त्री अधिकारीले भने ।

डा केसीसँग वार्ता गर्न गठित कार्यदलका सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीले डा केसीसँग औपचारिक एवम् अनौपचारिक रुपमा संवाद भइरहेको जानकारी दिए । उनले भने-‘वार्ता टोलीसँग डा केसी एवम् उहाँका निकटतम व्यक्तिसँग कुराकानी एवम् सम्पर्क भइरहेको छ, शीघ्र समाधान निस्कन्छ ।”

प्रधानमन्त्रीले डा. केसीको अनशनप्रति चिन्तत रही छिटोभन्दा छिटो समाधान खोज्न भनिरहेको भन्दै मन्त्री अधिकारीले उहाँ (डा केसी)को मागलाई कानुन, विधि र प्रक्रियाका माध्यमबाट समाधान खोजिने बताए । मन्त्री अधिकारीले आफ्नो शरीरलाई जोखिम नमोली अनशन अन्त्य गर्न डा केसीसँग अनुरोध गरे । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment