Comments Add Comment

नेपालबन्द फिर्तापछि ३० दलमा विवाद चर्कियाे

२४ चैत, काठमाडौं । तीन दिने नेपालबन्द फिर्ता लिने ३० दलीय मोर्चाको निर्णयपछि मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा रहेका मधेसी र जनजाति पार्टीहरुले प्रचण्डबाट धोका भएको आरोप लगाएका छन् ।

Upendra yadav_400मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार साँझ एक वक्तव्य जारी गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले जनजाति, मधेसी र उत्पीडित समुदायलाई धोका दिएको बताएका छन् ।

मंगलबार बेलुका बसेको ३० दलको बैठकले चैत २५ र २६ को नेपालबन्द फिर्ता लिने निर्णय गरेकोमा यादवले आपत्ति प्रकट गरेका हुन् । आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला प्रचण्डले नेपाल बन्द फिर्ता लिएर धोका दिएको यादवको आरोप छ ।

नेपाल बन्द फिर्ता लिने ३० दलको निर्णय लगत्तै प्रेस विद्दप्ति जारी गर्दै यादवले भनेका छन्- ‘प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता लिएको निर्णयप्रति विपक्षी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपाल कडा आपत्ति प्रकट गर्दछ ।’

सरकारले विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने ठोस प्रतिवद्धता जाहेर नगरेसम्म र मोर्चाको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय विपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय यादवले स्मरण गराएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्-‘आमहड्ताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडितवर्ग लगायत आमजनतालाई धोका दिएको फोरम नेपालको ठहर छ ।’

३० दलको आन्दोलन निर्णायक चरणमा पुग्न लागेका बेला नेपाल बन्द फिर्ता लिनु गल्ती भएको यादवको तर्क छ । उनले भनेका छन्- ‘सत्तासीन दल नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको दम्भले जनभावना विपरीत संविधान बनाउन उद्दत रहेको र तिनका विरुद्व सार्थक संविधानका लागि जनता सडकमा ओर्लिसकेको र आन्दोलन निर्णायक चरणमा पुगिसकेको अवस्थामा आमहड्ताल फिर्ता लिएर मोर्चाले गम्भीर गल्ती गरेको छ ।’

नेपाल बन्द फिर्ता लिने निर्णयप्रति आफ्नो कुनै सहमति नरहेको भन्दै यादवले मंगलबारको निर्णयप्रति दुःखसमेत व्यक्त गरेको छन् ।

फोरम अध्यक्ष यादवले जस्तै ३० दलीय गठबन्धनका घटकहरु तमलोपा र सदभावनाका नेताहरुले पनि नेपाल बन्द फिर्ता लिने निर्णयको बैठकमा बिरोध गरेका छन् । तर, उनीहरुका तर्फबाट भने यादवले जसरी सार्वजनिक वक्तव्य भने जारी भएको छैन ।

जनजाति पनि रिसाए

यसैवीच नेपाल बन्द फिर्ता लिने निर्णयप्रति ३० दलीय मोर्चाको अर्को घटक संघीय लिम्बुवान नेपालले पनि असहमति जनाएको छ ।

Kumar Lingden Limbu 1

‘नेपाल बन्द फिर्ता लिने यो निर्णय हामीलाई पनि चित्त बुझेको छैन,’ लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले अनलाइनखबरसँग भने, ‘मोर्चाका अन्य धेरै साथीहरु यो निर्णयमा असहमत हुनुहुन्छ ।’

स्रोतका अनुसार पासाङ शेर्पाले नेतृत्व गरेको पार्टीले पनि नेपाल बन्द फिर्ता गर्ने निर्णयप्रति असहमति जनाएको छ ।

तीस दलको अर्को घटक अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि नेपाल बन्द फिर्ता लिने निर्णप्रति आपत्ति जनाएको छ । सो पार्टीले बुधबार दिउँसो यसबारे छलफल गर्न पार्टीको आकस्मिक बैठक डाकेको छ ।

‘नेपाल बन्द फिर्ता लिनुपर्छ भन्नेमा प्रचण्ड र विजय गच्छदारमात्रै थिए,’ स्रोतले अनलाइनखबरसँग भन्यो,’तर अध्यक्ष प्रचण्डले विशेषाधिकार प्रयोग गरेर नेपाल बन्द फिर्ता लिने प्रस्ताव ल्याए ।’

अब नेपाल बन्द के हुन्छ ?

अब बुधबार र बिहीबार नेपाल बन्द हुन्छ कि हुँदैन ? निर्णय फिर्ताको विरोध गरिरहेका मोर्चाका नेतालाई यस्तो प्रश्न गर्दा उनले भने- ‘निर्णय नै बाहिर आइसकेपछि हामीले नेपाल बन्द जारी राख्ने कुरा त आउँदैन, तर यसबारे हामी गम्भीर छलफल गर्छौं ।

नेपाल बन्द फिर्ता लिने र नलिने विवादसँगै अब ३० दलीय गठबन्धन टुट्ने संकेत देखएकिो छ । एमाओवादी अध्यक्ष प्रचण्ड अब मधेसी र जनजातिको साथ छुट्यो भने मोहन वैद्य र विप्लव समुहतिर नजिक हुन सक्ने धेरैले अनुमान लगाएका छन् ।

Upendra yadav

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment