Comments Add Comment

नाथुले ‘घुस नदिँदा’ प्रहरीले खोस्यो भैंसी (भिडियोसहित)

२६ चैत, भैरहवा । रुपन्देहीको धकधई- ६ चैनपुरुवाका नाथु यादवले आफ्नो घरमा पालेको भैंसी बेच्न बजारमा लाने विचार गरे । तर, आफ्नै भैंसी बेच्न खोज्दा यतिबेला उनीमाथि ‘राज्य’ लागेको छ ।

Nathu Yadav, Dhakdhai Rupandehi

  • पीडित नाथु यादव

भैंसीका साथमा छिमेकीको एउटा पाडो पनि लैजाने निर्णय भयो । नाथु यादवले छिमेकीको सहयोगमा एउटा भैंसी र दुईवटा पाडापाडी लु १ च ५६०५ नम्बर प्लेटको गाडीमा लोड गर्न थाले ।

भैंसी लोड गरेर बजार लैजान लाग्दा लुम्बिनी अञ्चलका घुमुवा प्रहरी हवल्दार करिमुल्लाह धोबी सिपाहीद्वय धर्मराज यादव र लीला बराललाई लिएर आइपुगे । सादा पोशाकमा रहेका घुमुवा प्रहरीले नाथु यादवको गाडी रोकेर भने- ‘यी भैंसी भारतबाट तस्करी गरेर ल्याएको हो, त्यसैले १० हजार दियौ भने छाडिन्छ, नभए समातेर लगिन्छ ।’

करिब ८ वर्षभन्दा बढी समय हाकिमहरुलाई कमिसन बुझाएर एकै स्थानमा घुमुवामा बस्दै आएका अञ्चल प्रहरी कार्यालय लुम्बिनीका घुमुवा प्रहरी हवल्दार धोबी, यादव र बरालले किसानको भैंसी नियन्त्रणमा लिए ।

नाथुले आफैंले पालेको भैसीको घुस दिन नसक्ने बताएपछि ती भैंसी र पाडा इलाका प्रहरी कार्यालय धकधईमा लगियो । र, त्यहाँबाट भन्सार कार्यालय पुर्‍याइयो । घुमुवा हवल्दार धोबीले १० हजार रुपैयाँ दे, नत्र तस्करी गरिरहेको भन्दै भैंसी इलाका प्रहरी कार्यालय धकधईमा बुझाएको पीडित नाथु यादवले बताए ।

यसबारे हवल्लार धोबीलाई सम्पर्क गर्दा उनले आफुले भैंसी नसमातेको र आफू रुपन्देहीमा नभई नवलपरासी जिल्लामा रहेको बताए । तीनवटा भैंसीमध्ये एक भैसी र एक पाडा पजरकट्टी १ का नाथु यादवको रहेको र एउटा पाडी पजरकट्टी ७ का उसमान गोनी फकिर रहेको छ ।

Buffalow-ghush-kanda

यसबारे इलाका प्रहरी कार्यालय धकधईका इञ्चार्ज सई पूर्णबहादुर मल्ललाई सम्पर्क गर्दा उनले अञ्चलका घुमुवाहरु कार्यालयमा गाडीसहित भैंसी लिएर आएको बताए । ती भैंसी भगवानपुर सीमा नाकाबाट तस्करी गरेर धकधई ६ चैनपुरुवामा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको भनी मुचुल्कामा उल्लेख गरेर भन्सार कार्यालयमा बुझाइएको मल्लले बताए ।

तर, घुमुवा धर्मराज यादवले भने आफुलाई अन्य केही कुरा थाहा नभएको र आफुहरुले धकधई बजार क्षेत्रमा ३ वटा पशु नियन्त्रणमा लिई इप्रका धकधईमा बुझाएको बताए । आफुहरुले इप्रकामा बुझाएपछि प्रहरी नायब निरीक्षक मल्लले उक्त पशु सीमानाका भगवानपुरदेखि तस्करी गररे ल्याएको भन्ने मुचुल्का लेखाएको घुमुवा यादवले खुलासा गरे ।

उता इप्रका धकधईका प्रहरी नायब निरीक्षक मल्लले अञ्चलका घुमुवाहरुले आफुलाई सीमानाका भगवानपुरबाटै तस्करी गरी धकधई ६ चैनपुरुवा लोड गरिरहेको अवस्थामा भैंसी पक्रेर ल्याएको जानकारी गराए अनुसार आफुले मुचुल्कामा त्यस्तो लेखेको बताए । अञ्चलका घुमुवा प्रहरी करिमुल्लाह धोबीले अनावश्यक रुपमा रकम मागेको र नदिएपछि बैध भैंसी र गाडीसमेत भन्सार कार्यालयमा बुझाइदिएको कारण सर्वसाधरण आक्रोशित बनेका छन् ।

पीडित नाथु यादव र उसमान गोनी फकिरसहित धकधई गाविसका ३७ जना स्थानीय बासिन्दाले घुमुवा प्रहरीले अनावश्यकरुपमा जबरजस्ती रकम मागेको गुनासो गरेका छन् ।

भैंसी फिर्ता पाउन पीडितले गाविसमा निवेदन दिएका छन् । गाविसले बुधबार घटनास्थलमा सर्जमिन गरेको छ, जसमा भैंसी तस्करीबाट ल्याएको नभई किसान आफैंले पालेको स्थानीयले लेखेर दिएका छन् ।

Buffalo Ghus Kand Sarjimin-Nathu-Yadab-Rupand

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment