Comments Add Comment

संघीय समाजवादीका लिम्बूवान नेता पेस्तोलसहित पक्राउ

२६ चैत, झापा । गैरकानुनी रुपमा हतियार राखेको आरोपमा संघीय समाजवादी पार्टीका लिम्बूवान नेता जीवन सुब्बा पक्राउ परेका छन् ।

मेचीनगर–१० काँकडभिट्टास्थित प्रगतिटोलमा यमनाथ कोइरालाको घरमा डेरा गरी बस्दै आएका ४४ वर्षीय सुब्बालाई प्रहरीले घरैबाट पक्राउ गरिएको हो ।

प्रहरीले लिम्बूको डेरामा छापा मार्दा एक राउण्ड गोली लोड भएको एक थान कटुवा पेस्तोल भेटिएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा आएको प्रहरी टोलीले सुब्बाको घरमा छापा मारेको थियो । त्यसबेला उनी घरैमा थिए ।

सुब्बाको डेराको भान्सा कोठाको पलङको डसनामुनि लुकाएको अवस्थामा पेस्तोल र छेउमा चार राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रहरीले सुब्बाले प्रयोग गर्दै आएको एमएल ०६२६१० नम्बरको स्कर्पियो जीप समेत नियन्त्रणमा लिएको छ । जीपमा एक थान खुकुरी समेत भेटिएको प्रहरीको भनाइ छ ।

मोरङको केरौन–१ घर भएका लिम्बू लामो समयदेखि मेचीनगर–१० काँकरभिट्टामा डेरामा बस्दै आएका थिए । उनी माओवादी र लिम्बूवान पार्टीमा विभिन्न जिम्मेवारी लिइसकेका राजनीतिक कार्यकर्ता हुन् । सङ्घीय समाजवादी पार्टीको गठनपछि उनी त्यता लागेका हुन् ।

हाल उनी सङ्घीय समाजवादी पार्टीको लिम्बूवान प्रदेश समिति र भातृ सङ्गठन युवा सङ्घका केन्द्रीय सदस्य छन् ।

सुब्बाका परिवारले भने उनलाई फसाउने षडयन्त्र भएको दाबी गरेको छ । घरमा कहिल्यै पनि हतियार नराखेको जिकिर गर्दै सुब्बाका परिवारले प्रहरीले नियोजित रुपमा भान्सा कोठाको चाबी मागेर पलङमुनिबाट हतियार निकाल्दा आफूहरू अचम्ममा परेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment