Comments Add Comment

सरकारले चोरबाटो अपनाएको कमल थापाको आरोप

२८ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अध्यादेशमार्फत कानून ल्याउन नहुने भन्दै तत्काल हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा थापाले संसदको अधिवेशन नडाकी नयाँ कानून ल्याउन नमिल्ने बताए ।

Kamal Thapa (2)उनले शुक्रबार पनि प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेका थिए ।

‘अधिवेशनमार्फत नभई अध्यादेशमार्फत चोरीको बाटोबाट कानून ल्याउन सरकारले तयारी गरेको छ,’ शनिबारको कार्यक्रममा थापाले भने, ‘प्रजातान्त्रिक मान्यता, पद्दति र मूल्य स्थापित र संस्थागत गर्ने दिशातर्फ मुलुक उन्मुख भैरहेको वर्तमान अबस्थामा संसदको नियमित बैठक नै नबोलाइनु दुर्भाग्यपूर्ण हो ।’

अधिवेशन नबोलाइँदा जनताको पक्षमा आवाज उठाउने र सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षको अधिकार हनन भएको उनले गुनासो गरे ।

अध्यक्ष थापाले संविधानसभा वैठकमा आफ्ना धारणाहरु राख्न नपाउनु पनि लोकतान्त्रिक मूल्य विपरीत भएको टिप्पणी गरे । आगामी वैठकमा पनि धर्म निरपेक्षता, संघीयता, गणतन्त्र लगायतका विषयमा धारणा राख्न नपाए वैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए ।

राप्रपा नेपालले शनिबार ऋषिराम अधिकारीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नेपाल गठन गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment