Comments Add Comment

एमाले नेता कार्यकर्तालाई देशभर बेग्लै स्कूल !

२ वैशाख, काठमाडौं । नेकपा एमालेले कार्यकर्ताको बैचारिक स्तर खस्किएको र नेता कार्यकर्ताको कम्युनिस्ट दिमाग भुत्ते हुन थालेको निष्कर्ष निकाल्दै अब धारिलो बनाउन स्कूल सन्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार पार्टी स्कूल बिभागले पाठ्क्रम नै तयार पारेर जिल्लादेखि केन्द्रसम्म कक्षा सन्चालन गर्न लागेको हो ।

uml-office-ma-protest-1पार्टीको जिल्ला कमिटीदेखि प्रारम्भिक कमिटीसम्म पार्टीका आधारभूत सिद्धान्त, प्रस्तावना र नीतिहरू तथा महाधिवेशनले पारित गरेको कार्यदिशाअनुरूप प्रशिक्षण सञ्चालन गर्न प्रशिक्षण पुस्तिका तयार गर्ने महासचिव इश्वर पोखरेलले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

स्कूल बिभागले पाठ्यक्रम र विषय सूची तय गरेपछि कक्षा सन्चालनको ‘रुटिन’ बनाइने स्रोतले जनाएको छ । स्कूल बिभागको प्रमुख अध्यक्ष केपी शर्मा ओली आफैं छन् । उपप्रमुखमा स्थायी समिति सदस्य शंकर पोखरेल छन् ।

स्कूल बिभागको प्रमुख बन्न उपमहासचिव घनश्याम भुसालले चाहना राखे पनि पोखरेललाई उपप्रमुख बनाउनका लागि बिभाग प्रमुखमा ओलीलाई नै जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।

पार्टी कार्यकर्ता प्रशिक्षण र स्कूल सन्चालनका क्रममा देशव्यापी सन्जाल बन्ने भएकाले स्कूल बिभागको महत्व छ । त्यसैले संस्थापन पक्षले लेखपढमा रुची राख्ने बैचारिक नेता भुसालको साटो सोही विशेषता बोक्ने ओली निकट पोखरेललाई असवर जुटाइदिएको हो ।

एमालेले सामाजिक-आर्थिक रूपान्तरण र समृद्धिको योजना पनि बनाउने तयारी गरेको छ ।

कस्तो बन्ला पाठ्यक्रम ?

यस्तो कक्षा तीन महिनाभित्र सम्पन्न गर्ने गरी अभियानकै रूपमा अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका/नगर र शाखा तहसम्म महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशाको आधारमा प्रशिक्षण सञ्चालन गर्ने सर्कुलरमा जनाइएको छ ।

एमालेले गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्तालाई दर्शनशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र लगायतका बिषयहरू पढाउने तयारी गरेको संगठन बिभाग प्रमुख तथा सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

त्यस्का लागि बिषयगत आधारमा आधारभूत, प्राथमिक, माध्यमिक र उच्च तहको प्रशिक्षण कक्षा सञ्चालन गर्न पाठ्यक्रम र पाठ्य-सामग्री निर्माण गरिँदैछ ।

केन्द्रीय तहमा नियमित पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कार्यकक्ष, प्रशिक्षक, प्रशिक्षार्थी, पाठ्य-सामग्री, प्रशिक्षण प्रणालीलगायतका पूर्वाधार तयार गर्ने योजना बनाइएको उनले बताए ।

एमालेले सामाजिक-आर्थिक रूपान्तरण र समृद्धिको योजना पनि बनाउने तयारी गरेको छ ।

‘राज्य सञ्चालनको वैकल्पिक शक्ति पनि हुनुका नाताले पार्टीले समग्र सामाजिक-आर्थिक रूपान्तरणको ठोस कार्ययोजना अगाडि सार्नु आवश्यक छ,’ सर्कुलरमा भनिएको छ ।

आगामी ८ बर्षभित्र मुलुकलाई विकासशील राष्ट्रको तहमा स्तरोन्नति गर्न र आगामी ३५ बर्षभित्र समुन्नत नेपाल निर्माण गर्न विभिन्न बिषयका विज्ञ, विशेषज्ञहरूको सहयोग लिएर व्यवस्थित प्रस्ताव तयार गर्ने योजना पनि एमालेले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment