Comments Add Comment

विप्लव जुटे राजधानी सफाइमा

१७ वैशाख, काठमाडौं । शनिवार विनाशकारी भूकम्पपछि उद्धार कार्य नसकिएकोले राजधानीमा महामारी फैलिन सक्ने भन्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव सरसफाइमा जुटेका छन् ।

पार्टीको आह्वानमा विहीवार काठमाडौं, ललितपुर र भक्तपुरका भूकम्प प्रभावित क्षेत्र तथा अस्थायी क्याम्प खडा गरिएका स्थानमा विप्लव माओवादीले सरसफाइ अभियान थालेको हो ।

biplab sarsafai maजनस्वयंसेवकको टिसर्टमा विप्लव

काठमाडौंका विभिन्न ठाउँमा गरिएको सरसफाइ कार्यक्रममा नेकपा माओवादीमा महासचिव विप्लव ‘जनस्वयंसेवक’ लेखिएको रातो टिसर्ट र मार्क्स लगाएर देखा परे ।

काठमाडौंको गोंगबुस्थित नयाँ वसपार्क क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा सहभागिता जनाउँदै उनले भूकम्पपछि जताततै भएको फोहरले विभिन्न किसिमका रोगहरु फैलिनसक्ने भएकाले सचेतना फैलाउनु आवश्यक भएको बताए ।

आम नागरिकलाई सचेत गराउनका लागि र महामारी हुनबाट जोगाउन आफूहरुले सरसफाइ अभियान चलाएको विप्लवले बताए ।

जिल्ला जिल्लामा राहत टोली

वैद्य माओवादीबाट अलग भई नयाँ पार्टी बनाएका विप्लवले भूकम्पको विनाससँगै प्रभावित क्षेत्रहरुमा पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहत कार्यमा खटाएको जनाएका छन् ।

केन्द्रीय सदस्यको नेतृत्वमा भूकम्पबाट प्रभावित जिल्लामा उद्दार र अन्य जिल्लामा राहत संकलनको लागि टोली खटाइएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । माओवादीले पार्टी निकटका स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइने पनि विश्वकर्माले बताए ।

वैद्य माओवादी सचेतना अभियानमा

विप्लव माओवादी काठमाडौ उपत्यकाको तीन वटै जिल्लामा सरसफाइ अभियानमा जुटिरहेका बेला मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले सचेतना अभियान थालेको छ । वैद्य माओवादीले भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा शवहरु निकाल्ने काम समेत पूरा नभएकाले रोग फैलिन सक्ने भन्दै सचेतना अभियान स्वरुप माइकिङ तथा पर्चा पम्प्लेटिङ सुरु गरेको छ । सरसफाइ तथा उमालेको पानी खाने लगायत चेतनामुलक पर्चाहरु छरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment