+
+

भूकम्प पीडितलाई गुणस्तरहीन सामान वितरणको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते १६:३०

१८ वैशाख, काठमाडौं । भूकम्प पीडितहरुलाई विदेशबाट आएका राहत सामग्रीको व्यवस्थापन र वितरण वैज्ञानिक नभएको भनेर आलोचना भएपछि प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार स्थलगत अवलोकन गरी त्यसबारे जानकारी लिएका छन् ।

Sushil-Koirala-at-Airport-2

एयरपोर्टस्थित नेपाली सेनाको ११ नम्बर बाहिनी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, कार्गो कम्प्लेक्स र अन्तराष्ट्रिय टर्मीनल भवनको स्थलगत अवलोकन गरी कोइरालाले राहत सामग्रीको व्यवस्थापन र वितरणबारे जानकारी लिएका हुन् ।

सेना भन्छ-राहत सामग्री कम आयो

विदेशी राष्ट्र र दातृ निकायबाट नेपालमा राहत तथा उद्धार सामग्रीको ओइरो लागेको छ । ६ दिनको अवधिमा नेपालमा ७ अर्ब राहत आएको थियो । अहिले पनि राहत सहयोग आउने क्रम जारी छ । ति सबै राहत सामग्री नेपाली सेनामार्फत् वितरणको व्यवस्था मिलाइएको छ । विदेशबाट पठाएका राहत सामग्री संकलन गरी वितरण गर्न सरकारले स्थापना गरेको कमाण्ड पोष्ट अन्तराष्ट्रिय कार्गो कम्प्लेक्समा राखिएको छ ।

११ नम्बर बाहिनी र कार्गो कम्प्लेक्स कमाण्ड पोष्टमा पुगेका कोइरालालाई नेपाली सैनिक अधिकृतहरुले विदेशबाट राहत कम आएको जानकारी दिएका थिए । कमाण्ड पोष्टमा करिब ११ ट्रक जतिमात्र सामान रहेको जानकारी दिएका थिए । विदेशबाट राहत सामाग्री ठूलो परिणाममा आइनपुगेको र भएको जति वितरण गरिरहेको सैनिक अधिकृतहरुको भनाइ थियो ।

Sushil-Koirala-at-Airport

राम्रा सामान गाउँमा पठाउन निर्देशन

सो अवसरमा प्रधानमन्त्री कोइरालाले औषधि र राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउन र त्यसरी पठाउँदा गुणस्तरीय सामान पीडितसम्म पुर्‍याउन निर्देशन दिएका थिए ।

विदेशबाट राहतका लागि आएका गुणस्तरीय सामग्री राखेर कम गुणस्तरको सामान वितरण गर्ने जनगुनासो आएकाले कोइरालाले भने, ‘गाउँका मान्छेलाई राम्रा सामान किन चाहियो ? भन्ने हैन, उनीहरुलाई नै राम्रा सामान पठाउनुहोला । जसका लागि आयो, सामान त्यहीँ पुगोस् ।’

उनले भूकम्पमा परी घर क्षतिग्रस्त भएकाहरुको लागि टेण्ट, पाल, त्रिपाल र खाद्य सामग्री अत्यावश्यक भएकाले त्यस्ता सामान आउने वित्तिकै प्रभावित क्षेत्रमा पठाइहाल्न निर्देशन दिएको कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

सैनिक अधिकृतहरुले केही मुलुकबाट आएका टेण्टहरुको डण्डी र पाल नमिलाई भद्रगोल तरिकाले पठाएकोले प्रभावित क्षेत्रमा लग्न नसकिएको बताएका थिए । पानी फिल्टर गर्ने उपकरण एउटा मात्रै आएको अधिकारीहरुले कोइरालालाई जानकारी गराएका थिए ।

विदेशीले विमान ओगट्दा गाह्रो

अवलोकनका क्रममा प्रधानमन्त्री कोइरालाले उद्धार र राहत सामग्री लिएर आएका जहाजहरुको व्यवस्थापन सम्बन्धी जिम्मा लिएर बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपक अमात्यको कक्षमा पुगेर पनि जानकारी लिएका थिए । उद्धार र राहत सामग्री लिएर आउने जहाजहरुको अवतरण, पार्किङ, उडानबारे कोइरालाले चासो राखेका थिए ।

सो अवसरमा त्रिभुवन विमानस्थलका अधिकारीहरुले विहीबारबाट उडान र अवतरण सामान्य अवस्थामा आएको जानकारी गराएका थिए । राहत र उद्धार सामग्री लिएर नेपाल आउन लागेका सबै जहाजहरुलाई पालो दिन नसक्दा केही दिन गाह्रो भएको उनीहरुको भनाइ थियो ।

चाहिएको उद्धार र राहत सामग्री कम लिएर आउने तर एअरपोर्टमा प्लेन राखेर आफ्ना देशका नागरिक खोज्ने प्रकृयाका कारण सांघुरो विमानस्थल लामो समयसम्म ओगटेर बसिदिँदा अत्यावश्यक राहत सामान लिएर आउन चाहने जहाजहरु रोकिनु परेको थियो ।

सो अवसरमा विभिन्न स्वदेशी तथा विदेशी गैर सरकारी संस्थाहरुले ल्याएको उद्धार र राहत सामग्रीमा बुझ्ने एजेन्सी र व्यक्तिको अभावमा एअरपोर्टमा थन्क्याउन परेको गुनासो समेत सबन्धित अधिकारीहरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?