Comments Add Comment

आइजीसी फाउण्डेशन र एअर एसिया जुट्यो राहत वितरणमा

१९ वैशाख, काठमाडौं । भूकम्प पीडितहरुको लागि ‘इन्सेन्टिभ ग्रुप अफ कम्पनीज (आईजीसी) फाउण्डेशन’ र मलेसियाको अन्तर्राष्ट्रिय बजेट एअरलाइन्स कम्पनी ‘एअर एसिया’ले विहीबारदेखि संयुक्त रुपमा राहत वितरण शुरु गरेको छ ।

किड्स अफ काठमाण्डु, एसिया फ्रेण्डसीप नेटवर्क नेपाल र एसिया फ्रेण्डसीप नेटवर्क जापानसँगको सहकार्यमा भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई मुख्य प्राथमिकतामा राखी आईजीसी फाउण्डेशन र एअर एसियाले राहत वितरण शुरु गरेको हो ।

help air aseaआईजीसी फाउण्डेशनका अध्यक्ष हरिमान लामाको नेतृत्वमा गएको टोलीले विहीबार मात्रै काभ्रेपलाञ्चोकका भुकम्प प्रभावित विर्ता देउराली, दुसेनी शिवालय र कोलाती गाविसका तीन सय भन्दा बढी घर धुरीका १५ सय पीडितहरुलाई टेन्ट, ब्ल्यान्केट, खाद्यान्न लगायतका अति आवश्यकीय वस्तुहरु राहतको रुपमा वितरण गरिरहेको जनाइएको छ ।

‘विहीबार हामीले विर्ता देउराली गाविसका अधिकांश पीडितहरुलाई राहत उपलब्ध गरायौं, यसपछि दुसेनी शिवालय, कोलाती लगायतका गाविसहरुमा पनि राहत सामग्री वितरण गर्नेछौं । राहत सामग्रीहरु ति स्थानहरुमा पुर्‍याइसकिएको छ’, अध्यक्ष लामाले जानकारी दिए ।

सवारीसाधन प्रयोग गर्दा दोलालघाटबाट साढेदुई घन्टामा पुगिने उक्त गाविसहरुका अधिकांश घरहरु भुकम्पबाट क्षतविक्षत बनेका छन् भने पीडितहरु खुला आकाशमुनी रात विताइरहेको लामाले बताए । करिब आधार दर्जन मानिसहरुको मृत्यु भएका ति गाविसहरुमा सयौं मृत पशु चौपायाहरु भग्नावशेषहरुमा पुरिएको अवस्थामा रहेको उनले जानकारी दिए ।

‘मृत पशु चौपायाहरुको व्यवस्थापन गरिएन भने महामारी फैलिन सक्ने खतरा देखिन्छ’, अध्यक्ष हरिमान लामाले भने, ‘हामी आजभोलि नै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पठाउदै छौं ।’

‘आईजीसी फाउण्डेशन’ र ‘एअर एसिया’ले शुक्रवारदेखि डा. अमूल्य दाहालको नेतृत्वमा चार जनाको मेडिकल टोली परिचालन गरेको छ । उक्त मेडिकल टोलीले पीडितहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क रुपमा औषधी वितरण गर्ने फाण्डेशनका सदस्य गणेशमान लामाले जानकारी दिए ।

‘काभ्रे, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाहरुमा भुकम्प अतिप्रभावित ठाउहरुको पहिचान हामीले गरिसकेका छौ, शुक्रवारबाटै त्यसतर्फ मेडिकल टीमसहित राहत सामग्री पठाउने प्रबन्ध गरेका छौ’, गणेशमान लामाले भने ।

लामाका अनुसार पीडितहरुका लागि आवश्यक ब्ल्यान्केट एअर एसियाले उपलब्ध गराएको छ भने खाद्यान्न, टेन्ट, औषधीलगायतका आवश्यक वस्तुहरु आईजीसी फाउण्डेशन, एसिया फ्रेण्डसीप नेटवर्कले उपलब्ध गराएको छ । यसका अलावा एअर एसियाले पीडितहरुको लागि राहत संकलन (फण्ड रेजिङ) अभियान चलाइरहेको छ ।

एअर एसियाले चाडै नै भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाहरुको पुनर्निमाणलाई सघाउ पुर्‍याउन उद्देश्यले आर्थिक सहयोग घोषणा गर्ने तयारी गरिरहेको आईजीसीका अध्यक्ष लामाले जानकारी दिए । आईजीसी नेपालमा एअर एसियाको जीएसए कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment