Comments Add Comment

गोरखाको भूकम्प प्रभावित क्षेत्रमा झाडापखाला

सन्देश श्रेष्ठ

१९ वैशाख, पोखरा । गत शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभवित गोरखाका विभिन्न क्षेत्रमा झाडापखालाको समस्या देखा परेको छ ।

गत शनिबारको भूकम्पबाट भग्नावशेषमा परिणत भएको वारपाक
गत शनिबारको भूकम्पबाट भग्नावशेषमा परिणत भएको वारपाक

गत शनिबार गएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बारपाक थियो । भूकम्पले बारपाक, लाप्राकसहितका गाविसहरुमा धनजनको ठूलो क्षति पुर्‍याएको छ ।

जिल्लामा हालसम्म भूकम्पबाट ४ सय १० जनाको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धब तिमिल्सिनाले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा समयमा नै उद्धार हुन नसक्दा शवहरु सड्ने अवस्थामा पुगेको र शुद्ध पानी तथा दिशा पिशाव गर्ने उचित ब्यबस्थापन नहुँदा गोर्खा लाप्राक तथा सिम्जुङ्ग क्षेत्रमा झाडापखाला शुरु भएको हो ।

लाप्राकका तुले गुरुङ, सिम्जुङका कान्छी विककोेे बच्चा सहितका केहि भुकम्पबाट प्रभावित भएकाहरुमा झाडापखालाको समस्या देखिएको स्थानीय डिलबहादुर गुरुङले बताए । उनले महामारी फैलिन नदिन तत्काल उद्धारसहित औषधी उपचार तथा राहत सामग्रीको ब्यबस्थापन गर्न आग्रह गरे ।

अहिलेसम्म ४७८ को उद्धार

यसैबीच गत भूकम्पमा परेर गोरखामा घाइते भएका ४७८ जनाको उद्धार गरिएको छ । शनिबार मात्र २५ जनालाई उद्धार गरिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार शनिबार लाप्राकबाट १९, केराघारीबाट २, पात्लेबाट २ र डाँडागाउँबाट २ जनाको उद्धार गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा १ सय ३१ जना नेपाली सेना र मुचुल्का गर्नको लागि ६ जना नेपाली प्रहरीलाई गोरखाका विभिन्न गाउँमा खटाइएको उनले बताए ।

अझै राहत नपाएको पीडितको गुनासो

गोरखामा हालसम्म हवाइमार्गबाट ९३ ट्रक राहत सामग्री लगेर वितरण गरिसकिएको क्षेत्रीय प्रशासक थपलियाले जानकारी दिए ।

दिनहुँ विभिन्न संघसंस्थाहरुले राहत सामग्री लिएर प्रभावित क्षेत्र पुगेका छन् । तर, प्रभावित क्षेत्रका केहीले भने अझै उद्धार र राहत सामग्री नपाएको गुनासो गरेका छन् ।

भुकम्पको केन्द्रबिन्दु भएको बारपाक, लाप्राक लगायतका क्षेत्रमा उद्धार र राहत सामग्री केन्द्रीत गर्दा कम प्रभावित क्षेत्र थुमी, सिम्जुङ्ग, घ्याचोक, प्रो लगायतका गाविस तथा बारपाक र लाप्राककै केही वडाबासीले पनि राहत नपाएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment