Comments Add Comment

बेला सकारात्मक सन्देशको

शेषमणि भट्टराई

गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गत वैशाख १२ गते गएको ७ दशमलव ९ रेक्टर स्केलको विनाशकारी भूकम्पले सुनधाराको भीमसेन स्तम्भ (धरहरा) मात्र होइन, नेपालको विकासको गतिलाईसमेत पछाडि धकेलिएको छ । शहरका मात्र नभएर गाउँघरका धेरैजसो घरहरू देख्दादेख्दै भग्नावशेषमा परिणत भएका छन् । वाँकी रहेका पक्की भवनहरु पनि चर्किएका छन, असुरक्षित छन् र भूतवंगला जस्तै अनुभूति भइरहेछन् ।

darahara (4)

घरधनी, डेरावाल, मालिक, सेवक सबै एउटै पाल मुनीसँगै बस्न आइपुगेको अवस्था छ । घरको सिरान तलामा सुत्नेहरू पनि खुला ठाउँ खोज्दै खेतखेतमा एउटा म्याट र पाल लिएरसँगै सुत्न पुगे । सानो पाल भित्रको सानो संसार भित्र धेरै परिवार मिलेर बसेका छन् । चाउचाउ चिउरा विस्कुट फलफूल पानी नै सबै तह र स्तरका मानिसहरूको जीवन धान्ने सहारा बनेको छ ।

धनी होस् वा गरीव सबैका बच्चाहरू चाउचाउका प्याकेट लिएर खाइरहेका छन् । विलासितामा रमाउनेहरू पनि पाल मुनीको चिसो भूइँमा गोडा खुम्च्याएर सिमित स्थानमा रात बिताउन विवश भए । पाल हुनेहरू पाल मुनी र नहुनेहरू खुला आकाशमा रात बिताए । वेलावखत परेको सिम सिम वर्षाले भागदौड पनि मच्चाइ रहेको हुन्छ । पीडाभित्र बाँचेका केही पीडितहरू सरकारको उपस्थिति खोजिरहेका छन्, उद्दार तथा राहत सामग्री वितरण प्रक्रियाप्रति आक्रोसित बनेका छन्, नपाएको गुनासो गरिरहेका छन् । यस्तो हृदयविदारक घटना सोच्न र देख्न समेत नचाहने नेपाली मनहरू अहिले स्वयं भोग्न विवश छन् ।

देश विदेशबाट आफन्त नातेदार मित्रजनहरूसँग फोन सम्पर्कमा उही राष्ट्रिय विपत्तिकावारेमा चर्चा परिचर्चा भएका सुनिन्छन् । भूकम्पपछि लगातार आएको सयौँ संख्यामा विभिन्न म्याग्नेच्यूडको पराकम्पले झनै त्रसित पारिरहेको छ । पत्रपत्रिकामा लेखिएका विभिन्न नकारात्मक सन्देशले अनायासै मनोवैज्ञानिक त्रास सिर्जना गर्न मद्दत गरिरहेछ । यस्तो विकराल परिस्थितिसमेत केही समूहका लागि उर्वर र कमाउने अनुकूल समय भएको छ ।

नकारात्मक कुरा नसोचौं, नलेखौं । विपदको अवस्थामा सहनशील बनौं । बरू सकारात्मक र अनुकरणीय प्रयाशहरूलाइ खोजेर सम्प्रेषण गरौं

लगातार आइरहेको पराकम्पले अत्तालिएर परिवार भेट्रन राजधानी छाडेर जान चाहनेहरूको ठूलो संख्यालाई केही यातायात व्यवसायीहरूले देखाएको व्यवहार जतिसुकै तुच्छ शव्दले गाली गरे पनि पुग्दैन । केही पसलेहरू तीन गुना मूल्य सम्म लिएर सामान बेच्दै छन् । यस्ता नकारात्मक सन्देशमात्र खोतल्ने हो भने असंख्य भेटिन्छन् । तर यो समय नकारात्मक सन्देश प्रवाह गर्ने समय पक्कै हाेइन । यस्ले समाजमा नैराश्यता फैलाउँछ । उद्धार कार्यमा लाग्नेहरूको शक्ति क्षीण हुन पुग्छ, यस्ले उनीहरूमा तनाव सिर्जना गर्दछ र  नैराश्यता पैदा गर्दछ । अहिले एउटा त्रिपाल पाइन भनेर गुनासो गर्ने वेला होइन । एउटा चाउचाउको प्याकेट पनि फलानाले पाएन भनेर लेख्ने वेला होइन । सरकार, राहत वितरण प्रक्रिया, उद्धार प्रक्रियामा दोष लगाउने होइन ।

सबै मानिसहरू आफैमा पीडित छन् । कतिको खुसी चुँडिएको छ । सम्पत्ति ध्वस्त भएको छ । परिवारजनको पीडा, रूखा सुख्खा खाना, निरन्तरको पराकम्पले सबैको मन विक्षिप्त छ । पीडा र चिन्ताले हामी सवैको दिमागले राम्ररी काम गर्न सकिरहेको अवस्था छैन । नकारात्मक खवर खोजेर सम्प्रेषण गर्ने प्रयास गर्दैछौं ।

गल्ती कोट्रयाएर, नराम्रा व्यङ्रग्यात्मक कार्टुनहरू फेसवुकमा अपलोड गरेर, सरकार तथा नेतागणहरूलाइ अपशव्द , गालीगलौज गरेर आत्मरतीमा रमाउने समय यो पक्कै पनि होइन । त्यति फुर्सद वरू पीडितलाइ सहयोग गर्न खर्च गरौं । टोल गाउँका साथीभाइ मिलेर के कस्तो सहयोग गर्न सकिन्छ भनेर चिन्तन गरौं ।

नकारात्मक कुरा नसोचौं, नलेखौं । विपदको अवस्थामा सहनशील बनौं । बरू सकारात्मक र अनुकरणीय प्रयाशहरूलाइ खोजेर सम्प्रेषण गरौं । यसैमा सबैको भलाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment