Comments Add Comment

राहतका लागि दानवीर जापानी जुट्दै, डेढ अर्ब संकलन

Hari siddhi Earth quake 1

२० वैशाख, टोकियो (जापान) । जति नै ठूलो घर भए पनि एक झट्कामै ढल्दो रहेछ । जति नै धन कमाए पनि खुला आकाशमुनिको बास हुँदो रहेछ । त्यसैले घर होइन, मन ठूलो बनाउँ । धन होइन, मन जोडौँ ।

गुल्मी अर्जै घर भई १० वर्षदेखि जापानको मेगुरोमा मजदुरी गर्दै आएका पिताम्बर गौतमको यो फेसबुकको भनाइ जतिको गहकिलो छ, भूकम्पपीडितको वास्तविक दृश्य पनि यो भनाइ जतिकै गहिरो छ । किनकि राजधानी काठमाडैमा भूकम्पअघिका करोडपति अहिले रोडपति भएका छन् । तर, के थाहा हिजो करोडपति हुँदा रोडपतिको व्यथा के थियो भनेर ?

नेपालमा गत शनिबार गएको विनाशकारी भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति सहानुभूति जनाउँदै राहत वितरणमा अहिले पनि नेपालमा स्वदेशी र विदेशी दातृनिकाय लामबद्ध छन् । यद्यपि सडकबास भएका धेरैले अहिले पनि गाँस र बास पाएका छैनन् ।

खुला आकाशमुनि बसेर खाना कुर्नुबाहेक उनीहरुसँग विकल्प नै छैन । योभन्दा पनि बढी पीडित थिए सन् २०११ मा जापानका नागरिक । जापानमा सन् २०११ मार्चमा भूकम्पपछि आएको सुनामीले २० हजारभन्दा बढीको मृत्यु भएको थियो । हजारौँको घरबार गुमेको थियो । ती पीडितले अहिलेसम्म पनि घर बनाउन सकेका छैनन् ।

बेपत्ता भएका आफन्त भेटाउन सकेका छैनन् । त्यतिमात्र होइन विस्थापित भएका पुनःस्थापित भएका छैनन् । यी कुरा समाचारमा नआए पनि यहाँका धेरै नागरिकलाई थाहा छ । त्यतिबेला पीडितको उद्धारमा जुटेका नेपालीसहित विदेशी नागरिकले जापानमा गरेको साहसलाई भुलेका छैनन् । त्यही साहसको स्मरण गर्दै अहिले जापानभर नेपालमा भूकम्पको चर्चामात्रै होइन, कसरी पीडितलाई उद्धार गर्न सकिन्छ भनेर धेरथोर सहयोग गर्ने जापानीको लर्को छ ।

यिनै लर्कोमा लामबद्धमध्येका मासातोसी आकुनेले नेपालीलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँछन् । जापानको सिन्जुकु वार्ड इइदावासीस्थित जावातामीको प्रवन्धकसमेत रहेका आकुनेले नेपालीलाई परेको पीडा सबैले मनन गर्नुपर्ने भन्दै जतिसुकै रकम संकलन गरे पनि नेपालीलाई नपुग्ने बताए । मानवीयसँगै भौतिक क्षति बढी छ ।

भौतिक संरचना बन्न पनि वर्षाैं लाग्ने र एउटै देश वा एकै नागरिकले ध्वस्त संरचना बनाउन नसक्ने भन्दै राहत सङ्कलनमा लाग्नुपर्ने बताए । उनी एउटा नमुनामात्र हुन्, जसले खुलेर नेपालीलाई सहयोग जारी राखेका छन् । उनीजस्ता यहाँ धेरै जापानीले अहिले पनि नेपालीबराबर भएर खटिएका छन् ।

यतिसम्मकी उनीहरुले कामको दौरान क्षणिक समयका लागि लगाइएका कामदारलाई समेत सहयोग गर्न अनुरोध गरेका छन् । त्यही अनुरोधलाई स्वीकार गरेर चन्दा संकलन गर्ने होटल रेष्टुराँ क्षेत्रमा ख्याति कमाएको जापानको वातामी गु्रप नेपालीलाई सहयोग गर्नेमा दोस्रो वा तेस्रो हुने तयारीमा छ ।

यो ग्रुपअन्तर्गत प्रत्यक्षरुपमा काम गर्ने जापानी र विदेशी नागरिक गरी चार हजारभन्दा बढी कामदारले कम्तीमा दुई हजारदेखि अधिकतम ५० हजार जापानी येनसम्म चन्दा संकलन गरेका छन् । अप्रत्यक्ष रुपमा काम गर्ने तीन हजारभन्दा बढीले पनि यही अनुपातमा रकम सहायता गरेका छन् । यो सबैको गर्दा करिब दुई करोडभन्दा बढी रकम नेपालीलाई उपलब्ध गराउने छ ।

bhaktpur  After Eatrh Quake (8)

वातामीलाई हालसम्म औपचारिक वा अनौपचारिक रुपमा कसैले सहयोगको अपिल त परैजाओस् भेट्नसमेत पाएका छैनन् । यसका लगानीकर्ता र प्रमुख व्यक्ति को हुन् भन्नेसमेत धेरैलाई थाहा छैन । तर पनि सहयोग रकम सङ्कलन कार्य तीव्र छ । आकुने प्रवन्धक रहेको वातामी ग्रुपमा नभएर जापानी नागरिक यतिसम्म सक्रिय भएर लागेका छन् कि उनीहरुले प्रत्येकजसो पसल तथा ठूलाठूला सुपरमार्केटमा समेत दानपात्र राखेका छन् ।

दानपात्रमा नेपालमा गएको भूकम्पपीडित नेपालीलाई सहयोग गरी मानवधर्म निभाउनोस् भनेर लेखिएको छ । राहत संकलनमा यहाँका विश्वविद्यालयदेखि विद्यार्थी पनि उत्तिकै सक्रिय छन् । उनीहरुले मात्रै आजसम्म करिब २० लाख जापानी येनभन्दा बढी संकलन गरिसकेको जनाएका छन् ।

उनीहरुले फुकुओका ओसाका, नागोया, टोकियोलगायतका स्थानमा अहिले पनि चन्दा संकलन कार्यलाई रोकेका छैनन् । यो सबै गर्दा जापानी नागरिकबाट मात्रै १० करोडसहितभन्दा बढी रकम संकलन भइसकेको छ ।

जापानी नागरिकबाहेक राष्ट्रिय विपत्मा परेकालाई सेवा गर्नु नै मानवीय धर्म भन्दै नेपाली एक दर्जनभन्दा बढी सङ्घसंस्था पनि निरन्तर राहत संकलनमा जुटिरहेका छन् । उनीहरुले पनि दैनिकजसो न्यूनतम १५ लाखभन्दा बढी संकलन गरिरहेका छन् । जापानस्थित नेपाली दूतावासले पनि दिनहुँजसो यहाँका ठूलासाना संघसंस्थालाई राहत संकलन कार्यमा सघाउन आग्रह गर्दै आएको छ ।

दूतावासको पहलमा जापानको टोयोटा समूहले एक करोड जापानी येन सहयोगको घोषणा गरेको छ । त्यस्तै इयोन क्लब फाउन्डेसनले एक करोड जापानी येन र बौद्धमार्गी सङ्गठन सोका गाइकाले पाँच लाख जापानी येन उपलब्ध गराएको छ ।

सहयोगी हात निरन्तर बढिरहेका छन् । जापान सरकारले अहिलेसम्मकै बढी रकम ८० करोड डलर तत्कालका लागि उपलब्ध गराएको छ । यो सबै गर्दा जापानबाट मात्रै डेढ अर्बभन्दा बढी राहत रकम भूकम्पपीडितका नाममा संकलन भएको छ । अझै पनि एनआरएन जापानको अभियान उत्तिकै सक्रिय छ । गल्कोट समाजले सुरु गरेको विपत् राहत अभियान २०७२ अन्तर्गत संकलित ३० लाख रुपैयाँ नेपाल पठाइसकेको अध्यक्ष हर्क थापाले बताए ।

पीडितको उद्धारका लागि एनआरएन आइसिसी जापानका उपाध्यक्ष भुवन भट्ट एक करोड रुपैयाँ सहयोगसहित गत मंगलबारदेखि नेपालमा खटिरहेका छन् । त्यस्तै आइची र गिफु जिल्लामा रेस्टुराँ व्यवसाय गर्दै आउनुभएका पाल्पाका तोयानाथ पोखरेलले ३० लाख जापानी येन र नेपाली जनसम्पर्क समितिले १४ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

त्यस्तै, विप्रेषण कम्पनी क्योदाई विप्रेषणले १० लाख जापानी येन जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी दीपक सुवेदीले आठ लाख १० हजार जापानी येन राहत र सुवेदी आबद्ध कर्लिम समाज र बिहुँकोट समाजले संयुक्त रुपमा पाँच लाख तथा दुवै संस्थाको संयुक्त पहलमा तीन लाख १० हजार जापानी येन संकलन भइसकेको छ ।

एनआरएन जापानले सुरु गरेको भूकम्प उद्धार तथा सेवा समितिले जापानका विभिन्न स्थानमा भएको राहत कार्यक्रममा चार लाख ७७ हजार जापानी येन संकलन भएको छ ।

त्यस्तै क्योदाइ विप्रेषणका अध्यक्ष युइचिरो किमोतो र प्रबन्ध निर्देशक कासीको किमोतोले संयुक्त रुपमा एक लाख जापानी येन, गोरखाली समाज र टोकियो ब्रदर्शलगायतका संघसंस्थाले पनि एक लाख ३० हजार जापानी येन, जनप्रगतिशील समाजले एक लाख र स्याङ्जा सम्पर्क समाजले एक लाख जापानी येन पीडितलाई राहत दिइसकेका छन् । अझ समूह अनुसार हेर्नेको भने त यसरी दान गर्ने दानवीरहरुको नामावली सयौँको संख्यामा पुग्छ ।

प्रकाश पन्थी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment