Comments Add Comment

कतै भूकम्पको पीडा, कतै दारूपानीको भोज

२१ वैशाख, जाजरकोट। जाजरकोटको एक विद्यालयमा करारमा शिक्षक नियुक्त भएपछि पैसा तिर्ने भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले होटलमा गएर ५७ हजार रूपैयाँको बियर खाएको खुलासा भएको छ ।

जिल्लाको डाँडागाउँ गाविसमा रहेको नेरा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर बुढा, सदस्य ललित विष्ट, गोरख पुन, मनबहादुर विष्ट, ज्ञानेन्द्र पुन, मिश्री पुनलगायतले ५७ हजार रूपैयाँको बियर खाएका हुन् ।

गत माघ १३ गते जिल्ला शिक्षा कार्यालयबाट नेरा विद्यालयको खाली भएको दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति लिई प्रावि तहमा करारमा शिक्षक नियुक्तिका लागि विज्ञापन गरिएको थियो ।

विज्ञापन गरेको चार महिना पुगिसक्दा पनि विद्यालयले करारमा शिक्षक नियुक्ति गर्न नसक्दा समस्या हुँदै आएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापक पटकपटक सदरमुकाम आएर करारमा नियुक्ति हुने शिक्षकको परीक्षा गराउन आउँदा होटलमा बसेर बियर खाएको बिल मात्रै ५७ हजार रूपैयाँ पुगेको होटल लवकुशले बताएको छ ।

नयाँ करारमा नियुक्ति हुने शिक्षकले नै सबै समिति र अध्यक्षले खाएको होटल खर्च तिर्ने बताए पनि अहिलेसम्म शिक्षक नियुक्ति हुन नसक्दा आफूले पैसा नपाएको होटलका सञ्चालक लवकुश औलीले बताए ।

शिक्षक बन्न १३ जनाले दरखास्त दिए पनि अहिलेसम्म परीक्षा नहुँदा सदरमुकाम आउजाउ गर्दा हजाराैं खर्च भएको आवेदक जनक पुनले बताए ।

विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका मनबहादुर विष्टले शिक्षक नियुक्तिका लागि गरिएको विज्ञापन पनि रद्द गरी पाउँ भनी जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् । अहिलेको विद्यालय व्यवस्थापन समिति असक्षम रहेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment