Comments Add Comment

अस्पतालको शैयामा आमाछोराको छटपटाहट

नारायण पंगेनी

२२ वैशाख, काठमाडौ । ‘मलाई पानी दिनु न’ काठमाडौको सिभिल सर्भिस हस्पिटलको वार्डमा भर्ना गरिएका एक ८ वर्षीय बालकले भनिरहेका थिए ।

Niru-Silwal-and-Ajay,-Sindh

भूकम्पबाट घाइते भइ अस्पताल भर्ना गरिएका सिन्धुपाल्चोकको सेलाङ गाविस ९ का बालक अजय सिलवालले अस्पतालको शैयामा छटपटाइरहेका थिए । उनलाई पानी खान दिने कोही भएनन् ।

सिन्धुपाल्चोकबाटै भूकम्पले घर भत्किँदा पुरिएकी श्रीमती कालीको उद्धार गरी अस्पताल ल्याएका रामलाल दनुवारले भने, ‘उनको आमासँगै सुतेकी छन्, अस्पतालसम्म ल्याएकी आफन्त आफै विरामी छिन् ।’

वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सेलाङस्थित अजयको घर भत्कियो । घर भत्किएर घरका सवै सदस्य पुरिए । घरले पुरिएर उनका बुवा राजु सिलवाल र एउटी दिदीको घटनास्थलमै मृत्यु भयो । आमा निरु र अजयलाई गाउँले जसातसो निकाले तर उपचार गर्न अस्पतालसम्म पुर्याउने कोही भएन ।

पति गुमाएकी निरु छोराको मायाँले चार दिनपछि झण्डै २० किलोमिटर हिडेरै नौविसे आइपुगिन् । नौविसेबाट मोटरसाइकलमा एक जनाले आमाछोरालाई दोलालघाटसम्म ल्याइदिए ।

Niru and Ajay Silwal in Civil-Hospital

जसोतसो काठमाडौ आएका उनीहरु दुवै अस्पतालको एउटै शैयामा छन् । दुवैको हात हात भाँच्चिएको छ । पानी मागिरहेको बालकलाई मैले नै पानी खान दिएँ । पति र १० वर्षकी छोरी गुमाएकी निरुले धरधरी आँशु बगाइन् । ‘मेरो अब को छ र सहारा ?’उनले भक्कानो छोडिन् । ३६ वर्षीया निरुलाई परिवार गुमाएको चिन्ता एकातिर छ भने, अस्पतालबाट फर्किएर कहाँ गएर बस्ने अर्को चिन्ता छ ।

अस्पतालले भूकम्पबाट घाइते विरामीहरुका लागि दुई छाक जाउलोको ब्यवस्था भने गरिदिएको छ । बालकदेखि वृद्धसम्मले खाने अन्य कुनै ब्यवस्था भने अस्पतालमा छैन ।

सेलाङ्का सबै घर ध्वस्त

सिन्धुपाल्चोकको सेलाङ गाविसको सवै घरहरु भूकम्पले ध्वस्त भएका छन् । भूकम्पले उक्त गाविसका ५ सय १३ वटा घर सवै भत्किँदा ३१ जनाको मृत्यु भएको छ । २० जना सख्त घाइते छन् ।

घाइते भएकाहरुको बाँचेकाहरुले सक्ने जति उद्धार गरे । उद्धार गरिएका घाइतेहरु ओढारमा ओत लाएका छन् । तर घटना भएको एकसाता वितिसक्दा पनि नत उद्धारकर्मी पुगेका छन् नत राहत । सेलाङ पुग्ने कच्चिबाटो भत्किएकोले गाडी पुग्दैनन् । सेलाङ्को देउराली, मुख्याटोल, पेप्टा, द्वारेटोल लगायतका विभिन्न टोलमा ढुंगाको सिरानी लिएर खुला आकाशमुनी रात विताएका छन् ।

देश विदेशबाट राहतको ओइरो लागेको खबर पनि उत्तिकै आएको छ । विभिन्न संस्थाहरुले ठाउँ ठाउँमा दुई चार प्याकेट चाउचाउ बाँडेर राहत बाँडेको भन्दै फोटो खिचाएर फेसबुकमा पोष्ट गरिरहेका छन् । तर सेलाङका पीडितहरुले भनिरहेछन्, घाइतेहरुलाई अस्पताल पुर्‍याईदेऊ । तर उनीहरुको पुकारा सुन्ने अहिलेसम्म कोही भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment