Comments Add Comment

तीन महिनाको डेरा भाडा मिनाहा गर्न माग

२४ वैशाख, काठमाडौ । भूकम्पको महाविपत्तिका कारण आर्थिक समस्या परेकाले राजधानीवासीलाई तीन महिनाको डेरा भाडा मिनाहा गर्न डेरावाल संगठनका नेताले माग गरेका छन् ।

रामकृष्ण शर्मा
डेरावालका नेता रामकृष्ण शर्मा

भूकम्पले राजधानीका घरहरु भत्किएका र व्यापार व्यवसायसमेत चौपट भएकाले डेरावालहरुलाई कम्तिमा तीन महिनाको भाडा मिनाहा गर्नुपर्ने डेरावाल मञ्चका अध्यक्ष रामकृष्ण शर्माले अनलाइनखबरलाई बताए । व्यापार व्यवसाय तहस-नहस भएकाले अब डेरावालहरुले भाडा तिर्न नसक्ने उनले बताए ।

‘अहिले भूकम्पले लाखौं नागरिक डेराबाट विस्थापित भएका छन्, डेरामा बसेकाहरुको पनि कमाइ खाने उपाय बन्द भएको छ,’ शर्माले भने, ‘त्यसैले कम्तिमा तीन महिनासम्म निःशुल्क डेराको ब्यवस्था मिलाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

घर भत्किएर डेराबाट विस्थापित भएकाहरुलाई तत्काल अस्थायी डेराको व्यवस्था मिलाउनुपर्ने शर्माले बताए ।

डेराबाट हटाइए आन्दोलन

भूकम्पको भौतिक एवं आर्थिक मारमा परेका डेरावालहरुलाई सहयोग गर्नुपर्ने बेलामा कतिपय घरबेटीले डेरा खाली गर् भन्न थालेको शर्माले गुनासो गरे । भूकम्प आएको दुई महिनासम्म घरबेटीले डेरावाललाई हटाउन नपाइने उनले बताए ।

‘सामान्य अवस्थामा पनि ३५ दिनको म्याद नदिई डेरावाललाई हटाउन पाइँदैन,’ डेरावालका नेता शर्माले भने- ‘यस्तो विपतका बेलामा कम्तिमा दुई महिनाको म्याद नदिई डेरावाललाई घर छाडेर जा भन्न पाइँदैन ।’

भूकम्पका बेलामा घरबेटीले भाडावाललाई कुनै पनि बाहानामा निकाला गरेमा आफूहरुले आन्दोलन गर्ने शर्माले चेतानवी दिए ।

यस्तो बेलामा भाडा बढाउने होइन, तीन महिनाको भाडा छुट दिनपर्छ

भूकम्पको महाविपत्ति परेका बेला राजधानीमा कतिपय घरबेटीले डेरावाललाई तत्काल डेरा सर्ने आग्रह गर्न थालेको शर्माको गुनासो छ । आफ्नै परिवारका सदस्यलाई कोठा आवश्यक परेको भन्दै घरबेटीहरुले राजधानीमा धमाधम डेरा खाली गर्न लगाइरहेको उनले बताए ।

‘अहिले घर भत्किएर मान्छेहरु चौरमा बस्नुपर्ने बाध्यता भइरहेका बेला तत्काल अर्को डेरा कहाँ खोज्ने ?’ शर्माले अनलाइनखबरसँग भने- ‘घरबेटीका आफन्तको घर भत्किएको छ भने उनीहरु पालमा बसुन्, तर डेरामा बसिरहेकाहरुलाई यही बाहनामा घरबाट निकाल्न पाइन्न ।’

भाडा बढाउनेमाथि कारवाहीको माग

महाविपत्तिको मौका छोपेर कतिपय घरबेटीहरुले डेराभाडा बढाउन थालेको शर्माले बताए । महंगी बढेका कारण जनाउँदै भाडा बढाउने र बढेको भाडा तिर्न अस्वीकार गरिए आफैलाई कोठा आवश्यक परेको भन्दै खाली गर्न लगाउने गरिएको उनले बताए ।

विपत्तिमा परेर व्यवसाय चौपट भएकाले बढी भाडा त के अहिलेकै भाडासमेत डेरावालले तिर्न नसक्ने शर्माले बताए । यस्तो बेलामा भाडा बढाउने होइन, तीन महिनाको भाडा छुट दिन उनले घरबेटीहरुसँग आग्रह गरे ।

विपतमा परेर खाने बस्ने समस्यामा रुमलिएका डेरावालहरुमाथि भइरहेको आर्थिक शोषणबारे ध्यान दिन र भाडा बढाउनेमाथि कारवाही गर्न शर्माले सरकारसँग मागसमेत गरेका छन् । उनले अनलाइनअखबरसँग भने- ‘हाम्रो मागको सुनवाइ भएन भने बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्छौं । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment