+
+

स्थलगत रिपोर्ट : यसरी खण्डहर बन्यो तातोपानी (फोटो कथा)

२४ वैशाख, काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी लिपिङका जनतामा भूकम्प आएको १३ औं दिनसम्म मरिएला कि भन्ने त्रास हटेको छैन ।

तातोपानीमा वैशाख १२ गते भूकम्पमात्रै आएन, भूकम्पसँगै डाँडै उल्टिएर खस्दा कैंयौं गाडीहरु किचिए । ती गाडीमा अझैसम्म शवहरु हुनसक्ने स्थानीय सुरक्षाकर्मीको अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २४ गते १६:५३

Tatopani (8)

भीमज्वाला राई

२४ वैशाख, काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी लिपिङका जनतामा भूकम्प आएको १३ औं दिनसम्म मरिएला कि भन्ने त्रास हटेको छैन ।

तातोपानीमा वैशाख १२ गते भूकम्पमात्रै आएन, भूकम्पसँगै डाँडै उल्टिएर खस्दा कैंयौं गाडीहरु किचिए । ती गाडीमा अझैसम्म शवहरु हुनसक्ने स्थानीय सुरक्षाकर्मीको अनुमान छ ।

राजधानीबाट १ सय १४ किलोमिटर दुरीमा रहेको तातोपानी नाकाले प्रत्येक दिन २ देखि ४ करोडको राजश्व संकलन गर्दै आएको थियो । तर, अहिले यो ठाउँ खण्डहर बगरमा परिणत भएको छ । त्रिपालमुनि घुसि्रएका त्रस्त तातोपानीबासीहरु काठमाण्डौंबाट अभिभावकत्व र उद्धारको पर्खाइमा छन् ।

क्षत विक्षत भयो तातोपानी

चीनसँगको सीमानामा पर्ने मितेरी पुलदेखि लिपिङका करिव ९५ प्रतिशत घर, होटल, सरकारी कार्यालय र निजी घरहरु सद्दे छैनन् । सीमादेखि तातोपानी हुँदै लिपिङ बसपार्क तथा दशकिलोमा भएका चारपाङग्रे तथा दुई पाङग्रे सबै सवारी साधनहरु कुच्चिएर पत्रु बनेका छन् ।

Tatopani (7)

दोहोरो मार

तातोपानीलाई भूकम्प र पहिरोको दोहोरो मार परेको छ । भूकम्पले घर तथा कार्यालय भवनहरु भत्काए पनि कसैको ज्यान गएन । तर, भूकम्पलगत्तै आएको पहिरोसँगै लड्दै आएका ढुंगाले पुरिएर धेरैको ज्यान गयो ।

भूकम्पबाट बचेका घरहरु र सवारी साधनहरुलाई समेत लड्दै आएको ढुंगाले थप क्षति पुर्‍यायो । यो दर्दनाक दृश्यले के स्पष्ट पारेको छ भने पहाडी वस्तीहरुमा भूकम्पसँगै पहिरोको पनि जोखिम हुँदोरहेछ ।

Tatopani (9)

मृत्युहुने स्थानीयभन्दा बाहिरका धेरै

हालसम्म भेटिएका १३ शवमध्ये तातोपानीका स्थानीय वासिन्दाको संख्या ५ मात्रै रहेको छ । भूकम्प शनिबारका दिन भएकाले तातोपानी तथा सीमा हुँदै चीनको खासा घुम्न जानेहरुको संख्या निकै थियो । त्यस्तै पारिबाट नेपाल आउने टङक कन्टेनरका चालक तथा परिचालकहरुको पनि मृत्यु भयो ।

Tatopani (22)

भूकम्पको ११ औ दिन मंगलबार अपरान्हमात्रै बा १ ख ७३२० नम्बरको कन्टेनरका चालक ग्याल टसी तामाङको शव लिपि³ बजारको पहिरोबाट झिकिएको छ ।

भूकम्प गयो, अब ढुंगाको डर

Tatopani (24)

तातोपानीका जनता अझैसम्म आफ्नो घरमा बस्न सकेका छैनन् । भूकम्पको धक्का कम हुँदै गएपछि घर सद्दे भएकाहरु घर प्रवेश गरिसकेको भए पनि भोटेकोशी किनारको पहिरोको काखमा रहेको तातोपानी वस्ती चौकीडाँडामा त्रिपालमुनि सरेको छ ।

‘भूकम्प त रोकियो, तर अझै पहिरो र्झन रोकिएको छैन, त्यही भएर त्रिपालमै बस्न बाध्य छौं,’ मितेरी होटलका सञ्चालक पप्पु लामाले भने- ‘घर चर्किए पनि बस्न त हुन्थ्यो, तर डाँडाबाट ढुङ्गा झरेको झरेकै छ ।’

Tatopani (19)

अन्धकार सँगै सूचनाविहीन

भूकम्पपछि ध्वस्त बनेको तातोपानीमा वैशाख १२ गतेदेखि विद्युत छैन । भूकम्प र पहिरोका कारण क्षती पुगेको विद्युत ट्रान्समिटर तथा खम्बाहरु मर्मत नहुँदा विद्युत अवरुद्ध बनेको हो । नेपाल टेलिकम तथा एनसेलले समेत आफ्नो सेवा विस्तार गर्न सकेको छैन । जसका कारण भूकम्प र पहिरोको त्रासमा रहेका त्यहाका जनता अन्यन्त्र रहेका आफन्तहरुसँग सम्पर्कविहीन बनेका छन् । विजुली नहुँदा मोवाइल चार्ज गर्ने स्थिति पनि छैन ।

अझै खुलेन बजार

Tatopani (6)

भूकम्प र पहिरोबाट बचेखुचेका पसलहरु हालसम्म खुल्न सकेका छैनन् । बचेका घर तथा पसलहरुमा ताला लगाएर भएभरका मानिस सुरक्षित मानिएको चौकीडाँडामा त्रिपाल लगाएर बसेका छन् ।

अरु त अरु नै भए, जनताको सुरक्षा दिन बसेका शसस्त्र प्रहरी बलका प्रहरीहरु पनि पहिरोको डरले बिहानमात्रै चौकीमा आउँछन् र अरुबेला स्थानीयसँगै चौकीडाँडामै आश्रय लिन बाध्य छन् ।

नेपाल सरकार नपुग्दा छिमेकीको साथ

Tatopani (14)सोमबारदेखि बाटो सफा गर्न लागेका चिनियाँ सेनाका जवानहरुले देखाएको पराक्रम र साहसिक कामको तातोपानीबासी सबैले मुक्तकण्ठले प्रशंसा गरे ।

चिनियाँ सेनाले अवरुद्ध बाटोमा नयाँ ट्रयाक खोलिरहेको छ । प्राकृति विपत्तिले पनि देशलाई छुट्याएको छ । सीमानाबाट वारि त्यति ठूलो क्षति भए पनि मितेरी पुलपारिको चिनियाँ बस्तीमा कुनै क्षति भएको छैन ।

मितेरी पुलदेखि लिपिङ, तातोपानी एवं झ्यालेभिरसम्मको बाटोमा थुप्रिएको पहिरोले ल्याएको करिव २० फिट अग्लो ढुङ्गा र माटो चिनियाँ सेनाले दुई दिनमै पन्छाइदिएको छ ।

भूकम्प आएकै दिनदेखि एक हप्तासम्म चीनको भूभाग खासामा करिव ४ सयलाई दिइएको व्यवस्थित सुरक्षा, आवास र खाद्यको प्रवन्ध र सम्मानलाई तातोपानीबासीहरु कहिल्यै नभुल्ने बताउँछन् ।

Tatopani (16)

‘हामी करिव ३ सयको हाराहारीमा चाइनिज सामान वारपार गर्ने महिला पुरुषहरु खासामा थियौं, हामी नेपाल आउन लागिरहेका थियौं, चाइनिज इमिग्रेसनले हामीलाई आधाघण्टा रोके, १२ बजे मात्रै गेट खुल्छ अनि मात्र जानुस् भने त्यही समयमा भूकम्प आयो’ स्थानीय सुनिता श्रेष्ठले भनिन्- ‘तातोपानी पहिरोले ध्वस्त भइसकेको थियो, हामी रुन कराउन थाल्यौं, चाइनिजहरुले हामीलाई तत्काल घेरा हालेर सुरक्षित राखे । एकैछिनमा टेन्टको प्रवन्ध गरे । तत्कालै खानपिनको व्यवस्था गरे । राति त रक्सी वाइनको पनि प्रवन्ध गरिदिए । सायद त्यो दिन हामीलाई नरोकेको भए हामी भारीसँगै मर्थ्यौं ।’

लिपिङ बजारको ढुङ्गा, माटोको थुप्रो देख्दा बाटो खुल्न एक महिना लाग्ने स्थानीयको अनुमान थियो । तर, सोमबारदेखि चिनियाँ सेनाले सुरु गरेको बाटो सफा गर्ने काम दुइदिनमै पूरा गरेपछि चीनप्रति तातोपानीबासीहरु कृतज्ञ बनेका छन् ।

मितेरीले कर्तव्य भुलेन

भूकम्पपछि तातोपानीमा आगन्तुकले आफन्त गुमाए, नयाँ ठाउंँ बस्ने ठाउँ थिएन, होटलहरु थिएनन् त्यस्तो अवस्थामा स्थानीयवासी आफै सम्हालिन सक्ने अवस्था थिएन । बाहिरबाट तातोपानी घुम्न जानेहरुका लागि सम्हालिनु सम्भवै थिएन ।Tatopani (2)

यस्तो अवस्थामा स्थानीय मितेरी युवा क्लवले करिव ४ सयलाई सुरक्षित स्थानमा त्रिपालको मात्र व्यवस्था गरेन, निरन्तर खानपानको प्रवन्ध गरेर उदाहरणीय काम गर्‍यो । त्रिपालको व्यवस्था, खानपानको तयारी तथा बेखर्चीलाई खर्चको व्यवस्था क्लवले आफ्नै स्रोतमा गरेको क्लवका पूर्वउपाध्यक्ष ङावाङ दोर्जे शेर्पाले बताए ।

तातोपानी छाडेर काठमाण्डौं

भूकम्पपछि काठमाण्डौलाई असुरक्षित भन्दै लाखौंले काठमाण्डौं छाडिसकेका छन् । छाड्ने क्रम रोकिएको छैन । तर, तातोपानी लगायत आसपासका गाविसबासी भने ती ठाउँहरु छाडेर काठमाण्डौं आउनुलाई आफ्नो अहोभाग्य ठानिरहेका छन् ।

‘काठमाण्डौंमा घर र आफन्त हुनेहरु उतै गइसके, आफ्नो त कोही छैनन्, मरे पनि यहीँ बस्न बाध्य छौं’ तातोपानी-४ की पासा³दिकी शेर्पाले भनिन् । ज्यान जोगाउन विकल्प खोज्दै धेरै मानिसहरु काठमाण्डौं गइसकेको बताउँदै तातोपानीका नुर्पु छिरिङ शेर्पाले भने-‘अब तातोपानी सुरक्षित छैन, त्यही भएर छाड्नेहरुको लर्को लागेको छ । बाटो नखुलेका बेला हेलीकोप्टर चार्टर गरेरै पनि हुनेखानेहरु काठमाण्डौं गए ।’

राहत नपाउँदा आहत

अहिले जे गरिरहेका छन्, तातोपानीवासी आफैंले गरिरहेका छन् । त्रिपाल, खाद्यान्न लगायतका सामग्रीबारे कसैले सोध्नसम्म पनि नआएको स्थानीय पूर्ण श्रेष्ठ बताउँछन् ।Tatopani (1)

विपत परेको यतिका दिनसम्म तातोपानीमा राज्य, संघ संस्था कतैबाट राहतका नाममा केही पुगेको छैन ।

उता प्रशंसा, यता आलोचना

सशस्त्र प्रहरीलाई राजधानीबासीले सम्मानसहित प्रशंसा गरिरहेको छ । उद्धारमा सशस्त्र प्रहरीले देखाएको पराक्रमबाट देशले नै सशस्त्र प्रहरी र सेनालाई वाहवाही गरिरहेको अवस्थामा तातोपानीमा भने शशस्त्र प्रहरीको भूमिकाप्रति स्थानीय सन्तुष्ट देखिएनन् ।

Tatopani (4)तातोपानीबासीले शसस्त्र प्रहरीलाई आलोचना गरेको पाइयो । पहिलो कुरा, भन्सारको चेक जाँचको जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख डीएसपी भूकम्प अघिदेखि नै विदामा रहेछन् । प्रमुखविहीन बनेको तातोपानी भन्सारका सुरक्षाकर्मीहरु भन्सारद्वार नै खुल्ला छाडेर चौकीडाँडामा सुरक्षित रहन सर्वसाधारण भन्दा पहिले नै जानुले चोरी निकासीका लागि तस्करहरुलाई हाइसञ्चो भएको स्थानीयले बताए ।

अर्कातर्फ चिनियाँ सेनाका जवानहरु निर्धक्क काम गरिरहँदा हाम्रा शसस्त्रका जवानहरु भने ढुङ्गा झर्दैछ भन्दै आत्तिँदै लाखापाखा लागेको स्थानीयले गुनासो गरे । पहिरोले बाटो अवरुद्ध गरेपछि स्थानीयले प्रहरीसँग बाटो हटाउन आग्रह गरेका थिए । तर, हाम्रो पनि ज्यान जोगाउनुपर्छ भन्दै प्रहरीले टुलुटुलु हर्ने गरेको जनताको गुनासो सुनियो ।

के चाहान्छन् स्थानीय ?

लेखक भीमज्वाला रार्इ
लेखक भीमज्वाला रार्इ

भूकम्पपछि क्षतविक्षत बनेको तातोपानीलाई सहज बनाउन राज्यको भूमिका खोजिरहेका छन् स्थानीयवासीहरु । भूकम्पको धक्का हराउँदै गए पनि पहाडबाट पहिरोको त्रास उस्तै छ । वर्षामा थप संकट उत्पन्न हुने त्रास जनमानसमा छ ।

अब तातोपानीलाई सुरक्षित बनाउने, जनजीवन सामान्यीकरण गर्ने र चीनसँगको मुख्य व्यापारिक नाका भएकाले भौतिक पूर्वाधारहरुको विकास र पीडितहरुलाई सम्बोधन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?