Comments Add Comment

रामेछापबासीको पीडा : अरुले घर गुमाए, हामीले त धर्ती नै गुमायौं

Ramechhap-Earthquake

नवराज पथिक

२७ वैशाख, रामेछाप । रामेछापको सैपु गाविस ४ अमलबोटेका इन्द्रबहादुर मगरको आङमा घाम नलागेको १५ दिन बित्यो । उनलाई न रातमा निन्द्रा छ, दिनमा भोक नै छ । उनलाई रात र दिन एकैजस्तो भएको छ । आफू र आफ्नो परिवारलाई चारैतिरबाट अँधेरोले घरेको जस्तो उनलाई अनुभूति भई रहेको छ ।

‘मनमा शान्ति भए पो रात दिन छुटि्टनु । मेरो लागि त अहिले रातदिन बराबर छ । सबै तिर अँधेरो । कतै पनि उज्यालो लाग्दैन,’ चिन्तित मुद्रामा इन्द्र बहादुरले भने ।

यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पले इन्द्रबहादुरको जस्तै धेरै नेपालीहरुको भोक र निद्रा हरेको छ । सबैको मनमा भूकम्पको कहालीलाग्दो दृष्यले राज गरेको छ । सबैलाई भुकम्पको झड्काले गाँजेको छ । कतिलाई परिवारका सदस्य गुमाएको शोकले गाँजेको छ भने अधिकांसलाई बास बस्ने घर भत्किएको पिरलो छ ।

तर, इन्द्रबहादुरलाई त्यो भन्दा पनि ठूलो चिन्ताले गाँजेको छ । आफू बस्दै आएको जग्गा जमिन र घरका मझेरी समेत चर्किएर चिरा चिरा परेकाले थात थलो नै छाड्नु पर्ने चिन्ता छ उनमा ।

‘घर भत्किएकाहरुले त कतैबाट सहयोग जुटाउलान्, आफैं पनि जोरजाम गर्लान्, घर बनाउलान् । हाम्रो त त्यही घर बनाउने धर्ती पनि बाँकी रहेन । धर्ती नै फुटेर गयो । हामीले त अब बास बस्ने ठाउँ समेत नपाउने भयौं,’ उनले पीडा सुनाए ।

Ramechhap-Saipu-VDC

  • रामेछापको सैपु गाविसमा भूकम्पपछि चर्किएको जमीन

बस्ती नै जोखिममा

सैपु गाविस ४ अमलबोटेमा इन्द्रबहादुरका सहित २४ वटा घरहरु छन् । भूकम्पले सबैका घरमा क्षति पुगेको छ । अहिले उनीहरुलाई भूकम्पले घरमा पुर्‍याएको क्षति भन्दा पनि जमिनमा पुर्‍याएको क्षतिले बढी चिन्तित बनाएको छ । सिंगो गाउँ बसेको पाखो नै चर्किएर झर्न लागेको छ । जसले गर्दा पूरै बस्ती जोखिममा छ ।

केही वर्ष अघिदेखि लिखुखोलाको किनारबाट चलेको पहिरोले गाउँको पुछारको भागमा क्षति पुर्‍याएको थियो । अहिलेको भूकम्पले पूरै पाखो नै चर्किएर गाउँमा बस्ने नहुने गरी जमिन फुटेको छ । फुटेको जमिनको भाग चर्किने र फुट्ने क्रम बढ्दै गएको स्थानीय लालबहादुर मगर बताउँछन् ।

‘घर भत्कियो पाल हालेर बाहिर बस्यौं । अब धर्ति नै भत्कन लाग्यो, हामी कहाँ गएर बसौं ?’ उनले प्रश्न गरे ।

जोखिम सहेर बस्न बाध्य

तलबाट चलेको पहिरो र माथिबाट जमिन चर्किएको कारण सो ठाउँमा मानिसहरु बस्ने अवस्था नभएको रामेछापका पूर्वसांसद समेत रहेका देवशंकर पौडेल बताउँछन् ।

‘सिङ्गो गाउँ नै चर्किएको छ । अब सो ठाउँमा मानिस बस्नयोग्य छैन । तै पनि तत्काल काहिँ जाने ठाउँ नभएको कारण २४ परिवार चर्किएकै डाँडामा बसीरहेका छन् । उनीहरु बाहिर बसेर पनि अहिले सुरक्षित छैनन्,’ उनले भने ।

भूकम्पको कारण सैपु ४ अमलबोटेमा मात्र हैन भुजी गाविसमा पनि जमिन फुटेर एउटा बस्ती नै बस्न नहुने गरी जोखिममा परेको छ । त्यस्तै लखनपुर गाविसको एउटा बस्तिको अवस्था पनि त्यस्तै छ । यी वस्तीहरुलाई बेलैमा स्थानान्तरण नगरे वर्षातको बेलामा ठूलो दुर्घटना हुने खतरा रहेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment