Comments Add Comment

काभ्रेका पीडितहरु आफैं घर बनाउन थाले

jasta-home

  • काभ्रे कुशादेवीको घर

२८ वैशाख, बनेपा । दशौं हजार नागरिकको ज्यान जाने गरी आएको विनाशकारी भूकम्पले भत्काएका घरहरु बनाउन पीडितहरु आफैं कस्सिन थालेका छन् ।

भूकम्पले घर भत्किएपछि लाखौं मानिस पालमुनी बस्न बाध्य छन् । भूकम्पले छानो उजाडिएकाहरु राहतको पर्खाइमा नभएका होइनन् ।

तर कसैले आएर घर बनाइदेला भन्नेमा धेरैलाई विश्वास छैन । त्यसैले काभ्रेका अधिकांश मानिसहरु आफ्नो भत्किएका घरका प्रयोग गर्न मिल्ने सामानहरु निकाल्दै आफ्नो घर बनाउँन कस्सिएका छन् ।

भूकम्पपछि पनि पराकम्प आउने क्रम नरोकिएकोले मानिसहरुमा त्रासदी पनि उस्तै छ । त्यसैले काभ्रेवासीहरु ओतलाग्ने र फेरि अर्को भूकम्पले पनि क्षति नगर्ने घर बनाउन लागि परेका छन् ।

भूकम्पले लाखौं मानिसहरुको ओत लाग्ने ठाउँ नरहेपछि राजनीतिक दलका कार्यकर्तादेखि विभिन्न संघसंस्थाहरु पीडितका लागि अस्थायी टहरा बनाउने अभियान पनि चलाएका छन् ।

‘भूकम्पले घर सवै भत्कियो, ओत लाग्ने ठाउँ छैन, अन्नहरु भित्राएर राख्ने ठाउँ छैन,’ काभ्रे कुशादेवीका अनुराग अधिकारीले भने, ‘त्यसैले आफैले ओत लाग्ने छाप्रो बनाउन कस्सिएको बताए । गाउँमा काम गर्ने श्रमिक पाउन पनि मुश्किल पर्ने गरेको उनले सुनाए । जस्तापाताले छाएको र चारैतिर जस्तापाताले बारिएको घर देखाउँदै उनले भने, ‘अब त ठूलै भूकम्प आए पनि हाम्रो महल भत्किँदैन होला ।’ उनले ३५ हजार लागतमा आफ्नो घर निर्माण सम्पन्न गरेको अधिकारीले बताए ।

ठाउँ ठाउँमा इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरु भूकम्पपछिको नमूना घर बनाउन कस्सिएका छन् । सरकारले सवै पीडितका लागि आवास बनाउने योजना पनि ल्याएको छ तर लाखौं घरहरु उजाडिएका घरहरुको पुनर्निर्माण तत्कालै कसैले गर्न नसक्ने बुझेर गाउँलेहरु आफ्नो बासस्थान बनाउन कस्सिएका हुन् ।

सरकारी तथ्यांक अनुसार भूकम्पले काभ्रेमा अहिलेसम्म ३ सय १७ जनाको मृत्यु भएको छ भने दुई हजार ७ सय ८० जना घाइते छन् । ८० हजार ७ सय २० घर रहेको काभ्रेका ३० हजार घर पूर्ण रुपमा भत्किएका छन् भने १८ हजार ५ सय ४५ घर आंशिक क्षति भएका छन् ।
सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले राहत वितरण कार्य जारी राखेका छन्, तर पालसमेत पाउँन नसकेका पीडितहरु अब आफै ओतको खोजीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment