Comments Add Comment

भूकम्पले दिएको पीडा : चार घरका मालिक डेरा खोज्दै

२८ वैशाख, भक्तपुर । ‘घर थिएन भनुँ भने चारवटा घर थियो, छ भनुँ भने बस्नलाई घर छैन’ भक्तपुर गलसी पुखुःका तुलसीनारायण दण्डिख्याको पीडा हो यो ।

वैशाख १२ गते गएको भूकम्पका कारण बस्ती पूरै ध्वस्त भएपछि उनले डेरा खोज्दै हिँडेको १० दिन भयो, आजसम्म डेरा पनि भेटाएका छैन । उनले भने-‘भाइहरुको समेत गरी १९ जनाको परिवार छ । कहाँ जाउँ के गरुँ, कसो गरुँ भएको छ ।’

भूकम्पले ८८ वर्षीय आमालार्इ लग्यो, घरबास उठ्यो । उनले भने-भत्किएका घरका भग्नावशेष केही हटाइए पनि धेरै बाँकी छ, आज घर भएको सुकुम्बासी नै भएको छु ।’ मनसुन सुरु हुन लाग्यो, परिवारका सदस्यहरूलार्इ छन् कहाँ लगेर राखुँ भन्ने चिन्ताले सताएको छ उनलार्इ ।

भूकम्पले घर भत्किएपछि पुरिएको आमालाई बचाउन नसकेको उनले बताए । ‘श्रीमतीले आमा माथि हुनुहुन्छ भनेको पनि थाहा छ, चार घन्टासम्म माथिल्लो तलामा पुग्न सकिन । हेर्दाहेर्दै आँखा अगाडि नै बस्तीका पूरै घर ढल्यो’ उनले भने ।

डोजर, स्काभेटर तथा प्राविधिक उपकरण नहुँदा भत्केका घर पनि पन्छाउन सकेका छैनन् भक्तपुर गोलमढी टोलवासीले । राहतका नाममा दुई चार पोका चाउचाउ मात्रै पाइएको गुनासो स्थानीयवासीको छ ।

दण्डिख्या स्थानीय महाकाली नाच संयोजन समितिका अध्यक्ष हुन् । प्राकृतिक विपत्तिले परम्परागत नाचमा प्रयोग हुने सामग्रीको पनि नाश भएको छ । तर, भत्केको घर कसरी हटाउने र नयाँ बास कसरी खडा गर्ने भन्ने चिन्ताले सताएको छ ।

दण्डिख्याका भाइ कृष्णहरि, राजेन्द्रको हालत पनि उस्तै छ । मन खुसी छैन, भएको सबै सम्पत्ति सकियो । अब कसरी घर बनाउने, भत्केका संरचना कसरी पुनःनिर्माण गर्ने पिरलो थपिएको छ लस्करै भत्किएका घरले गिज्याएजस्तो लाग्छ रे उनीहरूलाई ।

भक्तपुर पसिखेल डम्पिङ साइडको फोहरको चर्को गन्ध आइरहेको छ । ज्यानको मायाले फोहर सामान्य जस्तै लाग्न थालेको छ । फोहर नजिकै भूकम्पपीडित चार परिवार आश्रय लिएर बसेका छन् । तीमध्येकी एक हुन् ज्ञानुमाया शाही । “बस्ने घर भत्कियो, बस्ने ठाउँ छैन, त्यही भएर दुर्गन्ध सहेर बसेका छौँ”, शाहीले भनिन् ।

भूकम्पले कुनै पनि प्रभाव नपारेका र भौतिक क्षतिसमेत नभएकाहरुले समेत राहत लिएपछि भक्तपुरको टोल–टोलमा लेखिएको छ “भूकम्पपीडित नभएका व्यक्तिले राहत लिएमा आफ्नै पिण्ड खाएको बराबर हुनेछ–भूकम्पपीडित ।’

भूकम्पले भत्काएको मन, भत्काएका बस्ती र टोलका आ–आफ्नै पीडा छन्, कतै राहत धेरै भएको, कतै राहत नपाएको गुनासो पनि उत्तिकै छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment