Comments Add Comment

भूकम्पले कास्कीमा १० घाइते, सेती नदीमा पहिरो

सन्देश श्रेष्ठ

२९ वैशाख, पोखरा । मंगलबारको भूकम्पमा परेर कास्कीमा १० जना घाइते भएका छन् भने १ जना बेहोस भएका छन् ।

पोखरा ६ लेकसाईड बस्ने २४ वर्षीय दीपक सुनार, पोखरा सिर्जनाचोकका २६ वर्षीय रविन शेरचन, चिप्लेढुंगाकी ४१ वर्षीया यशोदा पराजुली, नयाँगाउँका ५७ वर्षीय हरिदेबी छन्त्याल घाइते भएका छन् ।

सुनार घरको २ तला माथीबाट हामफाल्दा घाइते भएका हुन् । उनको बायाँ खुट्टाको नली खुट्टामा चोट लागेको छ । शेरचन र पराजुलीको भूकम्प आइरहेको समयमा भाग्ने क्रममा खुट्टामा चोट लागेको छ ।

पोखरा ६ लेकसाईडका ३८ वर्षीय राजु थापा आफू बसेको घरको एकतला माथीबाट हामफाल्दा घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ ।

त्यस्तै, पोखरा रामघाटकी १४ वर्षीया तिर्सना तिवारी घाइते भएकी छन् । अमरसिंह उच्च माविमा अध्ययनरत उनी कक्षा कोठाबाट भाग्ने क्रममा लडेर घाइते भएकी हुन् । भूकम्प आइरहेको समयमा भाग्ने क्रममा भर्‍याङबाट लडेकी पोखरा सिर्जनाचोककी कमला जोशीको बायाँ खुट्टामा चोट लागेको छ ।

यसैगरी पोखरा छोरेपाटनका २४ वर्षीय सन्दीप सुवेदी पनि घाइते भएका छन् । उनी ओम एकेडेमीका शिक्षक हुन् । भूकम्प आएको समयमा विद्यार्थीलाई संहाल्न जाँदा उनको दायाँ खुट्टा चोट लागेको छ ।

घरको छाना भत्किँदा जस्तापाताले काटेर पोखरा गलेश्वरचोककी २९ वर्षीया दिलमाया सुनार घाइते भएकी छन् । उनलाई दाहिने हातको नाडीमा चोट लागेको छ ।

लेखनाथ १८ भरतपोखरीका २२ वर्षीया चेतना आचार्य पनि घाइते भएकी छन् । पोखरा विश्वविद्यालयमा अध्ययनरत उनी भाग्ने क्रममा लडेर घाइते भएकी हुन् । बाहिरी चोट नदेखिए पनि उनको छातीमा असर परेको बताइएको छ ।

यसैबीच, मंगलबार दिउँसो गएको भूकम्पले एकजना बेहोस भएकी छन् । दोलखा घर भइ पोखरा ५ मालेपाटन बस्ने ३६ वर्षीया शान्ता जिरेल बेहोस भएकी हुन् । दोलखा माइती भएकी उनको आमा भूकम्पमा परेर गम्भीर घाइते भएको खबर आएपछि उनी बेहोस् भएकी हुन् ।

घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

६ घर भत्किए, १ विद्यालयमा क्षति

मंगलबारको भूकम्पले कास्कीमा ६ घर भत्किएका छन् । यही वैशाख १२ गतेको भूकम्पले कमजोर भएका ६ घरहरु मंगलबारको भूकम्पले भत्काएको हो ।

भूकम्पले कालिका गाविसका रुकबिना सुवेदी र गंगाप्रसाद अधिकारीको घर भत्किएर क्षति पुगेको हिमालय प्राविका प्रधानाध्यापक चिरञ्जिवी पौडलले जानकारी दिए ।

त्यस्तै, भूकम्पले लेखनाथ ११ पचभैयामा पूर्णकान्त अधिकारी र भिमबहादुर गुरुङका २ घर तथा लेखनाथ १२ खुदीमा बेदनाथ कँुवरको घर भत्किएका छन् ।

कास्कीको पार्चे गाविस १ खिलाङकी खुमाया गुरुङ, तार्काङ गाविसको थुमाकोडाँडास्थित ध्रुव उच्चमाविको भवनमा पनि आंशिक क्षति पुगेको स्थानीयले जनाएका छन् ।

सेती नदीमा पहिरो

भूकम्पका कारण पोखरास्थित सेती नदीमा पहिरो गएको छ । पृथ्वीनारायण क्याम्पसको उत्तर पूर्व पट्टीको डिलमा पहिरो खसेको हो । पहिरो खसेपनि पानीको बहाव भने रोकिएको छैन ।

अहिले खासै केही समस्या नभए पनि साँघुरो भागमा पहिरो खसेकोले भविश्यमा त्यसले खतरा निम्त्याउने सक्ने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment