+
+

भूकम्पपीडितलाई पर्याप्त राहत बाँड्ने प्रधानमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३१ गते १६:०८

३१ वैशाख, मन्थली । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प प्रभावितलाई राहत र सहयोगका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् । रामेछापका राजनीतिक दल र सुरक्षा निकायका प्रतिनिधिहरुसँग भूकम्प प्रभावितको अवस्थाबारे विहीबार मन्थलीमा जानकारी लिएपछि कोइरालाले सो प्रतिवद्धता जनएका हुन् ।

फाइल तस्वीर
फाइल तस्वीर

कार्यक्रममा कोइरालाले यतिबेला देश नै संकटमा परेकाले संकटको सामूहिकरुपमा सामना गर्नुपर्ने बताए । ‘चरणवद्ध रुपमा राहत र सहयोगका कार्यक्रम ल्याइन्छ,’ प्रधानमन्त्री कोइरालाले भने, ‘सरकारले पीडितहरुको आवश्यकतालाई संवोधन गर्छ ।’

आवासको प्रमुख समस्या

प्रधानमन्त्री कोइरालालाई जिल्लास्थित राजनीतिक दलका प्रमुख र स्थानीय प्रशासनले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए । उनीहरुले भूकम्प प्रभावितहरुलाई आवासको समस्या प्रमुख समस्याको रुपमा रहेको बताएका थिए ।

प्रधानमन्त्री कोइरालासँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि रामेछाप आएका छन् । यसअघि कोइराला, प्रचण्ड र गच्छदार एउटै हेलिकोप्टर चढेर दोलखा गएका थिए । दोलखा हुँदै उनीहरु रामेछाप पुगेका हुन् ।

राहत वितरण जारी

रामेछाप जिल्लामा भूकम्पका कारण प्रभावित भएकाहरुको उद्धार र राहत वितरण कार्य जारी छ । वैशाख १२ गते गएको भूकम्पमा २५ जनाको ज्यान गएको रामेछाप जिल्लामा गत मंगलबार दोस्रो ठूलो भूकम्पमा परी थप ११ जनाको मृत्यु भएको छ । जिल्लाका ढुंगा माटोले बनेका सबै घरहरु बस्न नहुने गरी भत्किएका छन् ।

स्थानीय प्रशासन, विभिन्न संघसंस्था र व्यक्तिगतरुपमा समेत राहत तथा उद्धार कार्य जारी छ । भूकम्प प्रभावितमध्ये रामेछापको पकरबास गाविसको पुछिघाटका ७० परिवारलाई विहीबार ३० किलोको दरले चामल वितरण गरिएको छ ।

त्यस्तै पकरबास गाविसमा ७ सय परिवारलाई त्रिपाल, कम्बल लगायतका राहत सामाग्री पनि वितरण गरिएको छ । उनीहरुलाई आरआरएनको सहयोगमा ती सामाग्री वितरण गरिएको हो ।

यसैबीच एमाले केन्द्रीय नेता होमबहादुर बुढाथोकी लगायतले व्यक्तिगतरुपमा रामेछापको खाँडादेवी, माकादुम, पकरबास, गागल लगायत स्थानका भूकम्प प्रभावितहरुलाई राहतस्वरुप त्रिपाल, ब्ल्याङ्केट लगायतका सामाग्रीहरु वितरण गरेका छन् । करिव ४ सय परिवारलाई सामाग्रीहरु वितरण गरिएको एमाले नेता बुढाथोकीले बताए ।

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?