Comments Add Comment

राष्ट्रिय सरकार बनाउन कांग्रेस-एमाले सहमत

फाइल तस्वीर
फाइल तस्वीर

३ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस-नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका छन् । दुई दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा राष्ट्रिय विपत्तिको सामना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने सैद्धान्तिक सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी थिए । यसअघि प्रधानमन्त्री कोइराला र नेता नेपालबीच अलग्गै भेटवार्ता भएको थियो ।

एमाले नेता नेपालले अनलाइनखबरसँग भने-‘राष्ट्रिय सरकार बनाउनेबारे दुई दलबीच सैद्धान्तिक सहमति भएको छ, अब अरु दलसँग छलफल हुन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल राष्ट्रिय सरकार गठनका लागि पछिल्लो समय दलहरुसँगको परामर्शमा व्यस्त रहेका छन् । उनले एमाओवादी अध्यक्ष प्रचण्डदेखि साना दलका नेताहरुसँग समेत छलफल गरिसकेका छन् ।

नेताहरुका अनुसार राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे भने औपचारिक छलफल भएको छैन । आइतबार पनि कांग्रेस सभापति कोइरालाले प्रधानमन्त्री पद छाड्नेबारे कुराकानी नभएको नेता नेपालले जानकारी दिए ।

सरकारको नेतृत्व टुंगो लगाउनु भन्दा अघि दलहरुबीच राष्ट्रिय सहमतिको सरकारको मोडालिटी र कामबारे छलफल हुने नेता नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment