Comments Add Comment

भूकम्पमा ज्यान गुमाएका प्रहरीको परिवारलाई ३ लाख राहत

५ जेठ, काठमाडौं । विनाशकारी भूकम्पमा परी मृत्यु भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले ३ लाख नगद राहत दिने भएको छ ।

Nepal Policeप्रहरी प्रधान कार्यालयले भूकम्पमा मानवीय तथा भौतिक क्षति पुगेका पीडित वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीलाई दिने राहतको प्याकेज घोषणा गरेको छ ।

भूकम्पमा ज्यान गुमाएका प्रहरीको आश्रति परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट नगद ३ लाख रुपैयाँ राहत प्रदान गरिने प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले जानकारी दिए ।

वहालवाला प्रहरी कर्मचारीका परिवार (श्रीमान्, श्रीमती, बाबु, आमा, छोरा, छोरी) को मृत्यु भएकोमा काजक्रिया खर्चबापत २५ हजार र सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा आश्रति परिवारलाई नगद १ लाख रुपैयाँ राहत सहयोग दिइनेछ ।

भूकम्पबाट घर ध्वस्त भएका प्रहरी कर्मचारीलाई १५ हजार दिइने भएको छ भने २ वर्षभित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी १ लाख रुपैयाँसम्म निब्र्याजी तलव सापटी दिने प्रहरीले बताएको छ ।

आंशिक रुपमा घर क्षति भएकालाई २ बर्षभित्रमा तलवबाट कट्टा गरी बुझाउने ५० हजारसम्मको निर्ब्याजी तलव सापटी दिने भएको छ ।

भूकम्पबाट मानवीय तथा भौतिक भोगेका प्रहरीलाई घरपायक स्थानमा ६ महिना सरुवा वा काज खटाउने व्यबस्था मिलाइने छ । श्रीमान श्रीमती दुबैजना प्रहरी कर्मचारी भए दुबैजनालाई घरपायक स्थानमा काजमा खटाइने व्यवस्था गरिने प्रवक्ता बलमे जनाएका छन् ।

भूकम्पको कारणबाट अभिभावक गुमाउने वा असक्त भएका वहालवाला र सेवानिवृत्त प्रहरीका छोराछोरीलाई उच्च माविसम्म अध्ययनको लागि ‘भूकम्प पीडित प्रहरी छात्रवृत्ति कोष स्थापना’ गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment