Comments Add Comment

बाँकेबाट झण्डै १ करोड दैवी प्रकोप राहत कोषमा

आरपी सुवेदी
६ जेठ, नेपालगन्ज । विनाशकारी भूकम्प प्रभावितका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै एक करोड रुपैयाँ जम्मा भएको छ ।

गत मंगलबारसम्म पीडितहरुलाई राहतको लागि ९४ लाख ९३ हजार ६ सय ३८ रुपैया जम्मा गरिएको हो । दैवी विपत्तीमा बाँकेका निजामती कर्मचारीका तर्फबाट सबैभन्दा बढी ६२ लाख ९५ हजार कोषमा जम्मा गरिएको छ ।

यसैगरी विभिन्न संघसस्था, उद्योगी, वयवसायी, नागरिक समाजका अगुवालगायतको सक्रियतामा नगदसहित खाद्य, गैर खाद्य सामाग्री पठाइएको जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेले स्थापना गरेको राहत डेस्कले जनाएको छ ।

यो सहयोग स्थानीय प्रशासनद्वारा गठित राहत डेस्क मार्फत प्राप्त सहयोग मात्र रहेको र यस बाहेक निजी संस्था तथा व्यक्तिले पनि थुप्रै खालको सहयोग गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिए ।

भूकम्प प्रभावितका लागि बाँकेबाट ६७ हजार १ सय २६ त्रिपाल, पिउने पानी र खाद्यान्न विभिन्न प्रभावित जिल्लाहरुमा पठाइएको छ ।

भूकम्पका कारण बाँकेमा एक हजार ४ सय ७४ घर तथा भवनमा क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी लेखकले भूकम्प क्षतिको लगत संकलनलाई आउँदो आइतबारसम्म निरन्तरता दिने जानकारी दिए । यस्तै भूकम्प पीडितका लागि स्थानीय विकास अधिकारी जिवलाल भुषालको संयोजकत्वमा राहत संकलन समिति गठन गरिएको छ ।

धादिङमा सहयोग

नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा नेपालगन्जका सहयोगी हातहरु, चियर्स नेपाल तथा अन्य संघसंस्थाहरुको पहलमा विनासकारी भूकम्पबाट प्रभावितहरुका लागि नेपालगन्जमा संकलन गरिएको विभिन्न राहत सामाग्री लिएर धादिङ पुर्‍याइएको छ ।

बाँकेको सितापुर र राधापुरका युवाहरुले घरदैलो मार्फत संकलन गरेको खाद्यान्न तथा भारतका विभिन्न मनकारी तथा मानवताबादी संघसंस्थाहरुबाट प्राप्त राहत सामाग्री धादिङ लगिएको हो । राहत सामाग्री लिएर पत्रकार महासंघ बाँकेका सचिव तिलक गाउँले, केन्द्रीय पार्षद उमा थापा, तुल्सीमणि केसी, सितापुरका पंकज थापा, राधापुरका दीपक विक र चियर्स नेपालका प्रतिनिधि धादिङ गएका थिए ।

यसैबीच बाँकेमा गत वर्ष आएको बाढीका कारण प्रभावित भएकाहरुलाई पनि व्यवस्थापन गर्न जिल्ला दैवी प्रकोप उद्धार कोषले निर्णय गरेको छ । बाँकेमा गत बर्षको बाढीले १२ हजार ३ सय १२ आंशिक र ३ हजार २ सय १२ घरमा पूर्ण क्षति भएको थियो । पीडितलाई घर बनाउन र जग्गा किन्न प्रथम चरणमा दुई करोड रकम भवन डिभिजन कार्यालयमा आएको छ । यस्तै ९ हजार १ सय २८ परिवारलाई घर मर्मतका लागि प्रतिपरिवार ५ हजार दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment