+

हाम्रा नेताहरु किन अरुलाई घोचपेच र खिसिट्युरी मात्र गर्छन् ?

२०८१ जेठ  ७ गते ९:१७ २०८१ जेठ ७ गते ९:१७
हाम्रा नेताहरु किन अरुलाई घोचपेच र खिसिट्युरी मात्र गर्छन् ?

नेता, नाम नै काफी छ । अर्थात जसले नेतृत्व गर्छ, जसले अगुवाइ गर्छ ऊ नेता । चराचर जगत वा प्रकृतिको नियम नै के छ भने नेतृत्व उसैले गर्न सक्छ, जो मानसिक र शारीरिक रुपमा तगडा छ । चाहे तपाईं बाघको बथानमा हेर्नुहोस् वा माहुरीको झुन्ड, त्यहाँ तगडाले नेतृत्व गर्छ ।

तर, हामीलाई कसले नेतृत्व गरिरहेको छ ?

यसको जवाफ तपाईं-हामी सबैसँग छ । नेताहरुको बोली–व्यवहार हेर्दा यस्तो लाग्दैन कि, उनीहरु मेन्टल वेलबिइङ अर्थात मानसिक तन्दुरुस्त छन् ।

यो नेता चाहिं कति माइन्डफुलनेस, कति शान्त, कति धैर्यवान छन् भन्ने मैले देखेको छैन । किनभने उनीहरु त जतिबेला पनि गाली गरिरहेका हुन्छन्, कराइरहेका हुन्छन्, आरोप लगाइरहेका हुन्छन्, हतार गरिरहेका हुन्छन् ।

कुनै तामझामविना एउटा विद्यालयमा गएर बालबालिकासँग संवाद गरिरहेको, कुनै खेतमा गएर किसानसँग वातचित गरिरहेको, लामो समयसम्म ड्युटी गरिरहेका प्रहरीसँग भलाकुसारी गरिरहेको दृश्य पटक्कै देखिदैन । किन ?

किनभने उनीहरु सकारात्मक र रचनात्मक छैनन् । यो स्थितिमा रहनु नै मानसिक रुपमा अस्वस्थ हुनु हो । हतारो, अधैर्य, रिस, आवेग, वदलाको भावना मानसिक विचलनको नतिजा हो । हाम्रा नेताहरु उन्मुक्त हाँसिरहेका, कुनै सामाजिक काममा निस्फिक्री खटिरहेका, मनोरञ्जन लिइरहेका देखिंदैन । कतै बाढी पीडितकहाँ वा कुनै विपद् परेका ठाउँमा जाँदा पनि उनीहरु हेलिकप्टरमा जान्छन् । भाषण गर्छन् । फूल र खादा लगाउँछन् ।

यसले उनीहरुको दुई किसिमको मनोदसा उजागर गर्छ ।

एक त, उनीहरु हतारमा छन् । अर्को चाहिँ, असुरक्षित महसुस गरिरहेका छन् । त्यसैले त बाढी पीडितकहाँ पुगेर उनीहरु दुःखसुखको साझेदार बन्दैनन्, बरु राजनीतिक भाषण गर्छन् । कसरी भोट ल्याउने, कसरी सत्ता जोगाउने भन्ने भयांकर पिरलो छ उनीहरुलाई ।

केही समयअघि मैले टेलिभिजनमा हेरें, भूकम्प प्रभावित क्षेत्रमा एकजना नेता गएका रहेछन् । उनी हेलिकप्टरबाट झरे । विपद्मा परेकालाई उनले साथसहयोग गर्नुपर्नेमा उल्टै उनीहरुबाट खादा ग्रहण गरिहेका थिए । उनले लगाएको लुगा पनि सुखदुःख साट्न गए जस्तो देखिदैनथ्यो ।

खासमा त राज्य प्रमुखले कुनै विपतमा परेको ठाउँमा जाँदा उनको पहिरन शैली, उनको बोलीले पनि धेरै राहत दिनुपर्ने हुन्छ । त्यसले आशा, भरोसा दिइरहेको हुन्छ । काम गर्ने स्वयम् सेवकलाई उत्साहित बनाउनुपर्ने हुन्छ । तर, त्यस्तो देखिएन । मलाई लाग्यो, ती नेताको मनोदशा कस्तो होला ?

यही कुरा विदेशमा हेर्दा फरक देखिन्छ । मैले धेरै समय जापानमा बिताएँ । सन् २०११ को महाभूकम्पमा म जापानमै थिएँ । त्यसबेला जापानको राज्य प्रणालीले जनतासँग जुन किसिमको साथ सहयोग साझेदार गर्‍यो, त्यो एकदमै उत्साहित गराउने किसिमको थियो । त्यहाँका प्रधानमन्त्रीले प्रभावित जनताको क्याम्प-क्याम्पमा पुगेर घुँडा टेकेर कुरा गरिरहेको, उनीहरुको अगाडि हात जोडेर कुरा सुनिरहेको दृश्यले त्यहाँका स्वयम् सेवक, उद्वारमा खटिएका आर्मी-पुलिसलाई उत्साह एवं प्रेरणा जगाइदियो ।

राजनेता भनेको त्यस्तो हुनुपर्छ । उनीहरुलाई हेर्दा वा सुन्दा पनि हामी मानसिक रुपमा खुसी र शान्त हुन सक्नुपर्छ । हाम्रा बालबच्चाले पनि उनीहरुलाई आइडल बनाउन सक्नुपर्छ ।

सधैंभरी घृणा मात्र गर्ने, घोचपेच गर्ने, खिसिट्युरी गर्ने, आफ्ना कार्यकर्ताबाट चिल्लोचाप्लो कुरा मात्र सुन्ने जुन मनोवृत्ति देखिन्छ, त्यसले हाम्रा नेताहरुको मानसिक स्वस्थ ठीक छ भन्दैन । उनीहरुको मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार गर्नुपर्ने अवस्था छ ।

हाम्रा नेताहरु भिडबाट निर्देशित छन् । उनीहरु भिडले के मन पराउँछन् भन्ने चिन्तामा हुन्छ । हितलाई हेरेरे होइन, भीडलाई हेरेर बोल्ने प्रवृत्ति हुन्छ । यसलाई हामी प्रोशोसल क्यारेक्टर भन्छौं ।

यो आत्मकेन्द्रित व्यक्तिहरुमा देखिने प्रवृत्ति हो, जो आफ्नो स्वार्थका लागि बढी घोत्लिने गर्छन् । मनोविज्ञानको भाषामा यसलाई सेल्फ सेन्टर पर्सनालिटी भन्न सकिन्छ ।

यस्तो व्यक्तित्व भएको मान्छे जहिले पनि आफूलाई केन्द्रमा राख्न रुचाउँछन् । जब उनीहरु केन्द्रमा हुँदैनन्, तब विचलित हुनपुगछन् । यही मोडमा पुगेपछि उनीहरु अरुलाई आक्रोस पोख्ने, गाली ओकल्ने, घृणा गर्ने हुन्छन् । राम्रा काममा पनि आलोचना मात्र गर्ने हुन्छन् । हेर्दै छुचो खालको ।

कुनै पनि नेताको भाषण सुनौं । भाषण त वास्तवमा कला हो नि । तर, त्यहाँ कला होइन आक्रोश हुन्छ । उनीहरुको स्वरको आरोह-अवरोह, शब्द चयनले मान्छेलाई मोहित गर्दैन । भाषण सुनिरहुँ लाग्दैन । त्यसमा कुनै किसिमको आनन्द र प्रभाव हुँदैन ।

नेताहरु भनेको त युद्ध हारेर फर्कदै गरेका सेनालाई पनि युद्ध जित्न प्रेरित गर्ने वाक क्षमता हुनुपर्ने भनिन्छ नि । तर, हाम्रा नेताहरुको भाषण सुन्दा त मान्छेको रक्तचाप बढ्न थाल्छ । निरासा बढ्नसक्छ ।

वास्तवमा नेता भनेको त आइडल हो नि । उसका कार्यकर्ताका लागि मात्र नभई आम मान्छेका लागि पनि ।

प्रत्येक दिन पत्रपत्रिका, अनलाइनको फ्रन्ट पेजमा, रेडियो-टिभीको मूख्य समाचारमा, सामाजिक सञ्जालमा उनीहरु नै छाइरहेका हुन्छन् । यसरी हामीले बिहान उठ्नसाथ देखिने, सुनिने मान्छे नेता हाम्रो आइडल हुनुपर्ने हो ।

मान्छेहरुले उसको कुरालाई पत्यायोस्, उसको शैलीलाई अनुसरण गरोस्, उसको विचारलाई आफ्नो आदर्श बनाओ्स् । तर, त्यस्तो देखिंदैन ।

किनभने हाम्रा नेताहरु गाली गर्न र आफूलाई सफाइ दिनमै तल्लिन हुन्छन् । आक्रोश, गाली, हतारोमै उनीहरुको दिन बितिरहेको हुन्छ । उनीहरुको मेन्टल कन्डिसन कस्तो छ भनेर भनिहाल्न त सकिंदैन । तर, मेन्टल वलनेसचाहिँ त्यती राम्रो छैन भनी ठोकुवा गर्न सकिन्छ ।

हाम्रा नेताहरु त्यति रचनात्मक र सकारात्मक देखिंदैन । चाहे त्यो नीति बनाउने कुरामा होस्, योजना बनाउने कुरामा होस्, विकासको कुरामा होस् रचनात्मक देखिंदैन ।

हाम्रा नेताहरु हाइकिङ गएको, सिनेमा हेरिरहेको, समाजसेवामा सहभागी भइरहेको, जिम गइरहेको, परिवारसँग समय बिताइरहेको दृश्य एकदमै कम देखिन्छ । हिँड्दा मान्छेसँग पनि डराए जस्तो देखिन्छ । अगाडि पछाडि सुरक्षा गार्ड राखेर हिँड्छन् ।

नेताहरुको पनि आफ्नो जीवन छ, परिवार छ, छोराछोरी छ, आमाबुवा छन्, समाज छ, इष्टमित्र छन् । त्यो कुरालाई पनि ख्याल गर्नुपर्ने हो । अहिले हेर्नुहोस् न, नेताहरुको छोराछोरी के कुरामा बदनाम भइरहेका छन् । यो भनेको उनको बुवा, आमाले राम्रो उदाहरण पेस गर्न नसकेर हो नि ।

हाम्रा नेताहरुले किन कुनै नयाँ आइडिया ल्याउँदैन, किन कुनै समस्याको सहज समाधान खोज्न सक्दैन, किन जनतालाई उत्साहित बनाउने कुरा गर्न सक्दैन ? किनभने उनीहरुले रचनात्मक क्षमता गुमाइसकेका छन् । व्यङ्ग्य, आलोचना, आरोप जस्ता प्रतिकुलत वातावरणमा बसिरहँदा उनीहरु मानसिक रुपले कमजोर भइसकेका छन् । उनीहरुसँग नयाँ विचार, कार्य क्षमता, दृढता पाइदैन ।

त्यही भएर हामीले आइडल नेता पाइरहेका छैनौं, यत्तिका वर्ष गुज्रिसक्दा पनि ।

(कुराकानीमा आधारित)

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

मानसिक स्वास्थ्य
डा. विजय ज्ञवाली
लेखक
डा. विजय ज्ञवाली
साइको थेरापिस्ट तथा अकुपञ्चरिस्ट

पीएचडी (मानसिक स्वास्थ्य), एमएस (क्लिनिकल साइकोलोजी), डिप्लोमा (अकुपञ्चर) अमोहा क्लिनिकमा आवद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय