Comments Add Comment

अर्थमन्त्रीले भने- पुनर्निर्माणमा फ्रान्सको सहयोग चाहिन्छ

Ramsaran-And-France-Ambesdar

६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महनतले नेपालमा भत्किएका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणमा फ्रान्सले सहयोग गरोस् भन्ने अपेक्षा राखेको बताएका छन् । बुधबार नेपालका लागि फ्रान्सकी राजदूत मार्टिन बासेरोलेसँग भएको भेटमा उनले सहयोगको अपेक्षा व्यक्त गरेका हुन् ।

भेटवार्तामा भूकम्पले गरेको क्षति, नेपाल सहायता सम्मेलन तथा फ्रान्सले गरेको उद्दार सहयोग र आगामी दिनमा गर्नुपर्ने पुनर्निर्माण सहायताका बारेमा छलफल भएको थियो ।

अर्थमन्त्री महतले भूकम्पले निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पुर्‍याएको राजदूतलाई जानकारी गराउँदै यीनको पुनर्निर्माण गर्न योजना बनाइरहेको बताए ।

‘पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता छ’ महतले भने । भूकम्पले नेपालको अर्थतन्त्रमा पुर्‍याएको क्षति र सरकारले अर्थतन्त्रलाई चलायमान गराउन लिएको निर्णयबारे पनि उनले जानकारी गराए ।

फ्रान्सले पनौतीका स्मारक तथा सम्पदाहरुको संरक्षणमा गरेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री महतले भने- ‘मैले भूकम्पले क्षति पुर्‍याएका स्मारकस्थलको निरीक्षण गरेको छु । पनौतीमा नोक्सानी भएको छैन । अन्य स्थानहरुमा सम्पदाहरुको ठूलो क्षति भएको छ ।’

आगामी असारमा आयोजना हुने नेपाल सहायता सम्मेलनमा उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको र मोटामोटी सहायताको घोषणा होस् भन्ने नेपालको चाहना रहेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

सो अवसरमा फ्रान्सका राजदूत बासेरोले भूकम्पले ठूलो क्षति पुर्‍याएको कतिपय ठाउँमा आफू पनि गएर अवलोकन गरेको जानकारी दिँदै थाहा पाउनासाथ उद्दार र राहतमा सहयोग गरेको बताइन् । आगामी दिनमा पनि सहयोगका लागि फ्रान्स सरकार तयार रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment