Comments Add Comment

गैरसरकारी संस्था सुगममा मात्रै थुप्रिए

१६ जेठ, सिन्धुपाल्चोक ।  जिल्लाका १३ गाविसमा राहत तथा पुनस्र्थापनाको काम गर्ने गरी जिल्ला दैवीप्रकोप उद्धार समितिसँग सम्झौता गरेको प्लान इन्टरनेसनल भूक पको एक महिनापछि एकएक थान त्रिपाल लिएर आफ्नो कार्यक्षेत्र पुग्यो।

फाइल तस्वीर
फाइल तस्वीर

भूकम्प प्रभावितका लागि आवास र खाद्यान्नको पूर्ण रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धतासहित सम्झौता गरेको प्लानले अहिलेसम्म आफूले जिम्मा लिएका गाविसका पीडित कसरी जीवनयापन गरिरहेछन् भन्ने तथ्यांकसमेत संकलन नगरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

एक महिना बितिसकेपछि बल्ल त्रिपाल लिएर गएको प्लानले खाद्यान्‍नलगायत अन्य सामग्री कहिले गाउँ पुर्याउँछ, कसैलाई पत्तो छैन। पीडितको अवस्था कस्तो छ भन्ने जानकारीसमेत नलिएको संस्थाले राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी रूपमा गर्न सक्छ भन्नेमा स्थानीयले शंका गर्न थालेका छन्।

प्लानले कार्यक्षेत्रका सबै घरमा खाद्यान्न, त्रिपाललगायत सामग्री उपलब्ध गराउने बताए पनि अझै आफ्नो गाउँमा एक थान त्रिपालबाहेक केही नदिएको ज्यामिरेका कांग्रेस नेता आइतमान तामाङले बताए। गाउँलेले निजी क्षेत्रको पहलमा प्राप्त खाद्यान्नले छाक टारिरहनुपरेको उल्लेख गर्दै तामाङले प्लानप्रति आक्रोश पोखे।

भूकम्पपछि जिल्लामा आएका अनगिन्ती विदेशी संस्थाको कार्यशैली हेर्दा काम गर्नभन्दा पनि फोटो खिचाएर प्रचार गर्न आएका रहेछन् भन्ने सर्वसाधारणको आरोप छ। सदरमुकाम र केही बजार केन्द्रमा थुप्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आँखा विकट गाउँमा पुगेका छैनन्।

सदरमुकामको टुँडिखेलमा थुप्रिएका अन्तर्राष्ट्र्रिय संस्थाका प्रतिनिधिलाई स्थानीयले ‘डिजास्टर टुरिस्ट’ (प्रकोप पर्यटक) को संज्ञा दिएका छन्। महँगो गाडीमा चढ्नु र आफ्नो सामान्य कामको फोटो खिच्नु उनीहरूको दैनिकी हो।

आप्रवाससँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था (आईओएम) को चुरीफुरी सदरमुकाममा बढी छ। केही सरकारी कार्यालयको भग्नावशेष हटाउने काम गरेको उक्त संस्थाले अझै खतरामा रहेका बस्ती सार्ने उचित ठाउँको खोजीमा रहेको बताउने गरेको छ।

उसले गाउँबाटै विस्थापित हुनेहरूलाई आवास व्यवस्थापन गर्ने भने पनि त्यसतर्फ खासै काम अघि बढाएको छैन। आफूहरू आवास व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको आईओएमका एक अधिकारीले बताए।

चौतारामा भेटिने आईओएमका अधिकारीहरू कामका विषयमा हेडक्वार्टरले मात्र बोल्न मिल्ने बताउँछन्। प्राय: सबैको एउटै आवाज हुन्छ, ‘हामीले प्रतिक्रिया दिन मिल्दैन।’ सर्वसाधारणमात्र हैन, सरकारी अधिकारी पनि यस्ता संस्थाको कार्यशैलीप्रति सन्तुष्ट छैनन्।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले पटकपटक दैवीप्रकोप उद्धार समितिको बैठकमा अन्तर्राष्ट्रिय संस्थाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

उनीहरू के र कसरी काम गर्छन् भन्ने प्राय: जानकारी नै नहुने ज्ञवालीले बताए। सदरमुकाम चौताराको टुँडिखेल नै भरिने गरी टेन्ट हालेर बसेका विदेशी संस्थाको कार्यशैली पीडितका पक्षमा भन्दा पनि आफ्नो सुविधामा केन्द्रित रहेको स्थानीयको आरोप छ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत, पुनस्र्थापनालगायत काममा एकरूपता ल्याउन सबै राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थालाई आफ्नो कार्ययोजनासहित जानकारी गराउन आह्वान गरे पनि आईएमओजस्ता संस्थाले नै त्यसको बेवास्ता गरेका छन्।

समितिले खडा गरेको डेस्कमा यूएन एजेन्सी, आईओएमलगायत संस्था सूचीकृत नभएको डेस्क संयोजक अनिरुद्र नेपालले बताए। विभिन्न काम गर्ने गरी ३३ अन्तर्राष्ट्रिय संस्थाले समितिसँग सम्झौता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment