+
+

३० वर्ष अगावै पहिलो बच्चा नजन्माए निसन्तानको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते ८:३५

Health

महिलाहरुले ३० वर्षको उमेर अगाडि नै पहिलो बच्चा जन्माउनुपर्ने र ३० कटेपछि मात्र बच्चा जन्माउने प्रयास गरेमा गर्भ नै नरहने खतरा हुने चेतावनी प्रजनन विज्ञले दिएका छन् ।

बेलायती महिला तथा यौनरोग विशेषज्ञ तथा प्राध्यापक गिता नार्गन्डले पहिलो बच्चा जन्माउनका लागि महिलाहरुले ढिलो गर्न नहुने र ३० वर्ष कटेपछि मात्र पहिलो बच्चा जन्माउने सोँच बनाएका महिलाहरुमा कहिल्यैपनि बच्चा नहुने खतरा रहनसक्ने बताएकी हुन् ।

बेलायती शिक्षा मन्त्री निकी मोर्गानलाई लेखेको पत्रमा विशेषज्ञ गिताले ढिलो बच्चा जन्माउँदा उत्पन्न हुनसक्ने खतराका विषयमा किशोरीहरुलाई स्कुलमा शिक्षा प्रदान गर्न समेत माग गरेकी छिन् ।

पछिल्लो समय बच्चा जन्माउन ढिला गरेकै कारण महिलाहरुमा सन्तानलाभ  नहुने समस्या बढ्दै गएको हुँदा प्रजनन शिक्षालाई राष्ट्रिय पाठ्यक्रममै समावेश गर्नुपर्ने उनको माग छ ।

पछिल्लो समयमा महिलाहरुको गर्भाधारणको विषय राष्ट्रिय स्वास्थ्य सेवाका लागि निकै महंगो तथा अनावश्यक भारको रुपमा थपिँदै गएको भन्दै उनले पहिलो बच्चा जन्माउन ढिला गरेका महिलाहरुले टेस्टट्युब प्रविधिबाट गर्भाधारण गर्ने प्रक्रिया बढ्दै जाँदा त्यसले ठूलो मात्रामा व्ययभार थपिएको बताइन् ।

बच्चा जन्माउन चाहने महिलाहरुले ३० वर्ष भित्रैमा गर्भाधारण गर्नु आवश्यक रहेको भन्दै उनले महिलाको उमेर छिप्पिँदै गर्दा गर्भाधारण गर्ने क्षमतामा पनि गिरावट आउने र प्रजनन स्वास्थ्य पनि कमजोर हुँदै जाने बताएकी छिन् ।

महिलाले ३० अघि नै बच्चा जन्माउने प्रयास गरेमा प्रजनन सम्बन्धमा देखिएका समस्याहरुकेा निदान समयमै हुने र बच्चा नै नरहने जोखिम नहुने उनको भनाइ छ । तर ३० कटेपछि मात्र गर्भाधारण गर्ने सोँच बनाउँदा यदि गर्भाधारण नभएमा त्यसको उपचार कठीन बन्ने तथा ढिलो हुने उनको तर्क छ । ३५ वर्षमा मात्र पहिलो बच्चा जन्माउने प्रयास गर्ने महिलामा गर्भाधारणमा समस्या देखिएमा डाक्टरहरुले उनको रोग पत्ता लगाएर उपचार गर्दा गर्दै उनको प्रजनन उमेर ढल्किसकेको हुने र त्यसबाट गर्भ नै नरहने जोखिम हुने उनको भनाइ छ ।

लण्डनस्थित सेन्ट जर्ज हस्पिटलकी प्रजनन चिकित्सा सम्बन्धि प्रमुख विशेषज्ञका साथै क्रियट फर्टिलिटी क्लिनिककी मेडिकल डाइरेक्टर समेत रहेकी गिताले उमेर ढल्केका महिलाहरुमा प्रजनन सम्बन्धि अत्यन्तै जटिल समस्याहरु देखा पर्ने भएकाले त्यसको उपचार कम मात्र सफल हुने र बढि महंगो पनि हुने बताइन् ।

३५ वर्ष पछाडि तथा ४० वर्ष कटेका महिलाहरुको डिम्बको संख्या तथा गुणस्तरमै समस्या देखिने भन्दै उनले टेस्टट्युब प्रविधिबाट गर्भाधारण गर्न सकिने भएपनि पाठेघरमा कम रक्तसंचार हुने भएकाले गर्भको बच्चाको स्वास्थ्य नाजुक हुने जोखिम रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?