Comments Add Comment

विदेशी पर्यटक शून्य, व्यवसायी मर्कामा

Pokhara from Ultra Flight (7)१७ जेठ, काठमाडौं । भूकम्प र त्यसपछिका पटक–पटक गएका पराकम्पनले सबै विदेशी पर्यटक आआफ्नो देशमा फर्केपछि पोखरामा रहेका साना ठूला होटलमा विदेशी पर्यटकको उपस्थिति शून्य जस्तै देखिएको छ ।
भूकम्प आउनुअघि पोखराको लेकसाइड, बैदाम र हल्लनचोकका सडकमा सधैँजसो भीडभाड देखिने र होटलका कोठा भरिभराउ देखिन्थे तर अहिले ती सबै ठाउँ सुनसान जस्तै देखिन्छ ।
पोखरा, चितवन र लुम्बिनी भूकम्पबाट सुरक्षित भएपनि यी ठाउँमा सिधैँ आउने अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा यहाँका होटल व्यवसायी मर्कामा परेका छन् ।
होटलमा पर्यटक सिजन भए पनि भूकम्पको त्रास र भयले यहाँ आएका विदेशी पर्यटक आफ्नो देशमा फर्कने र आउन खोजेकाले पनि टिकट रद्द गरेपछि पर्यटन व्यवसायमा कर्मचारीलाई तलब खुवाउन र बैंकको ऋण तिर्न निकै समस्या परेको छ ।
भूकम्पले ग्रामीण क्षेत्रमा रहेका ढुङ्गा माटाले बनेका केही घरमा क्षति पुर्‍याएपनि पोखरालगायत आसपासका पर्यटकीय क्षेत्रका होटल र घरमा कुनै क्षति नपुर्‍याएकाले पोखरा सुरक्षित छ है भन्ने सन्देश विश्व बजारमा पुर्‍यानु जरुरी देखिन्छ ।
पोखरामा अहिले साना ठूला गरी ५०० भन्दा बढी होटल, लज र रेस्टुराँ छन् । यिनमा करिव ८० अर्बभन्दा बढी लगानी भएको छ । यी होटलमा लाखौँले रोजगारी पाएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि पनि विभिन्न देशका मुलुकबाट सिधैँ बोइङ, जेट विमानबाट पर्यटक पोखरा आए पनि यहाँका होटलले धान्न सक्ने स्थिति देखिन्छ ।
शून्य अवस्थालाई उकासेर विदेशी पर्यटकलाई भित्र्याउन विभिन्न सहुलियत दरको प्याकेज कार्यक्रम घोषणा गरिएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष भरतराज पराजुली बताउछन्। पोखरा सुरक्षित छ, यहाँका सबै होटल सुरक्षित छन्जस्ता सन्देश विश्वमा जाओस् भनेर सङ्घले सहुलियत दरका प्याकेज कार्यक्रम र सांस्कृतिक कार्यक्रम गर्दै जाने भएको छ ।
विभिन्न होटलमा खान, बस्न, गार्मेन्ट, ट्रेकिङ गाइड, प्याराग्लाइडिङ, अल्ट्रलाइडजस्ता सेवामा १५ देखि ५० प्रतिशतसम्म पर्यटकलाई सहुलियत दिइने उनले  जानकारी दिए ।
भूकम्पको त्रास र भयको बढी नै प्रचारबाजी गरिएकाले पर्यटक आउन नचाहेको पश्चिमाञ्चल होटल सङ्घका पूर्व अध्यक्ष एवम् बटर फलाइ लजका सञ्चालक गोविन्दराज पहारीले बताए। अतिरन्जित अफवाह र गलत सन्देशलाई मेटाएर पोखरालाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न रचनात्मक कार्यक्रम गर्नु जरुरी छ, उनी भन्छन  ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् होटल स्टम एन्ड ट्राभलका सञ्चालक वासु त्रिपाठीले कूटनीतिक माध्यमबाट पोखरालगायतका ठाउँहरु सुरक्षित छन् यी ठाउँमा आउन केही फरक पर्दैन भन्ने सन्देश पठाउनु पर्नेमा जोड दिए ।
अतिथि रिसोर्टका सञ्चालक मोती पौडेलले पनि अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश पठाएर पर्यटक भित्र्याउन जरुरी भएको विचार व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment