Comments Add Comment

नेम्वाङ, भट्टराई र सिटौलाको काम बढ्यो

२६ जेठ, काठमाडौं । प्रमुख दलहरुले संविधान निर्माणको गाँठो फुकाएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अब द्रूतमार्ग निर्माणमा जुटेका छन् । यसैक्रममा नेम्वाङले मंगलबार बिहानै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका छन् ।
bhattarai nemwang sitaula(1)
दलहरुको सहमतिसँगै अब सभाध्यक्ष नेम्वाङ, सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको जिम्मेवारी एवं धपेडी बढ्ने भएको छ ।

फास्ट ट्र्याक अर्थात द्रुत मार्गबाट संविधान जारी गर्नका लागि नेम्वाङ यसअघि नै तयारी हालतमा थिए । दलहरुले सहमति गर्नासाथ अब उनको कामले गति लिने देखिएको छ ।

नेम्वाङ मंगलवार बिहानै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न उनकै निवास बालुवाटारमा पुगे । उनले संविधान निर्माणको छोटो बाटोका बारेमा कोइरालालाई जानकारी गराउँदै सरकारले गर्नुपर्ने आवश्यक विधेयक लगायतका काम फटाफट हुनुपर्ने बताएको स्रोतले जनाएको छ ।

नयाँ कार्यतालिकाको तयारी

नेम्वाङले अब छोटो बाटोबाट संविधान बनाउनका लागि दलहरुसँग छलफल गरेर नयाँ कार्यतालिका बनाउँदैछन् । त्यसअघि सम्भवतः संविधानसभाको मंगलवारकै बैठकमा उनले सहमतिसहितको प्रतिवेदन पेश गर्ने जिम्मा बाबुराम भट्टराई नेतृत्वको संवाद समितिलाई दिनेछन् ।

संवाद समितिमा छोटो छलफलपछि दलहरुको सहमतिकै आधारमा संवाद समितिले प्रतिवेदन संविधानसभामा पेश गर्नेछ ।
त्यसपछि संविधानसभाले उक्त प्रतिवेदनलाई मस्यौदाका लागि कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिमा पठाउनेछ ।

आफ्नो समितिले बढीमा १५ दिनभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने समितिका सभापति सिटौलाले अनलाइनखबरलाई बताए । उनले भने- अब संविधान बन्छ, यति नै समय भन्न सकिन्न, तर धेरै समय लिँदैन ।

मस्यौदा समितिले पहिलो मस्यौदा बनाएपछि छोटो समयमा जनताको प्रतिक्रियाका लागि पठाउने कि नपठाउने टुंगो छैन । तर, पनि सार्वजनिक सन्चारमाध्यममा मस्यौदा सार्वजनिक गरेर जनताको छोटो प्रतिक्रिया लिन सकिने संविधानसभा सचिवालयको तयारी छ ।

यदि दलहरुले द्रूत ढंगले काम गरेमा असार मसान्तभित्र संविधान जारी गर्न सकिने नेम्वाङले नेताहरुलाई जानकारी गराएका छन् । ‘दलहरुको सहमतिबमोजिम सचिवाललये गर्ने सबै तयारी पूरा भइसकेको छ’ नेम्वाङले भने ‘असार मसान्तभित्र संविधान जारी गर्न हामी सक्षम छौं’ ।

दलहरुको सहमतिपछि यसअघि कांग्रेस एमालेले शुरु गरेको प्रक्रिया स्वतः सकिन्छ । त्यो प्रक्रियाअनुसार जाने हो भने संविधान बनाउन चार महिना भन्दा बढी लाग्छ  ।

पुरानो कार्यतालिका अनुसार जाँदा ढिलो हुने भएकाले नयाँ कार्यतालिका बनाएर असार मसान्तभित्रै संविधान जारी गर्ने गरी काम थाल्न नेम्वाङ सक्रिय भएको सचिवालय स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्

संविधान निर्माणको फास्ट ट्र्याक प्रक्रिया शुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment