Comments Add Comment

चार दल सुनको वर्षा हुने लोभमा फसे : उपेन्द्र यादव

फाइल तस्वीर
फाइल तस्वीर

६ असार, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भूकम्पका नाममा विदेशबाट सुनको वर्षा हुने देखेर प्रमुख दलहरुले सत्ता साझेदारीको कुरा उठाएको आरोप लगाएका छन् ।

फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी पार्टीबीच एकीकरणपछि आइतबार भएको पहिलो पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले सरकारमा जानका जस्तोसुकै संविधान बनाउन दलहरु राजी भएको बताए ।  ‘भूकम्पका नाममा विदेशबाट सुनको वर्षा हुनेवाला छ, त्यसलाई सोहोर्नका लागि सत्ता साझेदारीको कुरा उठेको छ’ यादवले भने-‘तर कांग्रेसले सत्ता फेर्न नमानेपछि जस्तो भए पनि संविधान जारी गर्न खोजिएको छ ।’

१६ बुँदे सहमति पूर्ण रुपले प्रतिगमनकारी भएकाले भन्दै यादवले सर्वोच्चको आदेश अन्तरिम संविधान अनुसार नै भएको जिकिर गरे ।

स्वतन्त्र न्यायपालिकाले गरेको निर्णय मान्दैनौं भन्नु लोकतन्त्रको उपहास गर्नु भएको उनको कथन छ । ‘देशले भूकम्पको पीडा ब्यहोरिरहेका बेला अवसर छोपिएको छ’ यादवले भने-‘फाष्ट ट्रयाकबाट संविधान ल्याउने भनेर तीन दलीय सिण्डिकेट लादेर गरिएको निर्णय स्वीकार्दैनौं ।’

पहिलो संविधानसभाको म्याद थप गर्न नपाइने भनी सर्वोच्चले निर्णय गर्दा खुशी हुने दलहरु अहिले संविधान विपरीत काम नगर्नु भनी सर्वोच्चले गरेको निर्णय मान्दिँन भन्नु लोकतन्त्र विपरीत भएको यादवको भनाइ थियो ।

अदालतको निर्णय नमान्नु स्वेच्छाचारिताः राई

संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले सुप्रिम कोर्टले गरेको निर्णय मान्दैनौं भन्ने प्रमुख चारदलको स्वेच्छाचारिता भएको बताए । ‘अहिले आफूलाई प्रमुख दल भन्न रुचाउनेहरुमा स्वेच्छाचारिता हावी छ’ राईले भने-‘हामी कसैको पनि स्वेच्छाचारिता चल्न दिँदैनौं ।’

प्रमुख दलहरुको स्वेच्छाचारी मानसिकताले १६ बुँदेभन्दा पनि ठूलो दुर्घटना निम्त्याउने राईको कथन थियो । उनले चार दलबीच भएको ८ प्रदेशको सहमतिमै आफूहरुको असहमति रहेको बताए । नाम र सीमाबिनाको संघीयता आफूहरुलाई स्वीकार्य हुनै नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment